ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 18, 2009

कांग्रेस सभापति कोइराला बिरामी

देउवाद्वारा कोइरालाको आलोचना
काठमाडौँ, कात्तिक १- 
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्वस्थताको कारण देखाउँदै आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई भेटेनन्। छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन दबाब दिएको कारण आलोचना खेप्दै आएका कोइराला र मन्त्रीहरुबीच आज भेटको कार्यक्रम थियो। यसअघि कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेकी उपप्रधानमन्त्री सुजाता कोइराला र कांग्रेसका मन्त्रीहरुबीच शनिबार विशेष छलफल भएको थियो। भेटमा सुजाताले आफूलाई उपप्रधानमन्त्री बनाएकोमा चौतर्फी विरोध भइरहेकोले त्यसलाई छायामा पार्ने गरी प्रभावकारी रुपमा काम गर्नुपर्ने निर्देशन दिएकी थिइन्।
कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र कांग्रेस केन्द्रीय सदस्यहरु आज उनको निवास पुगेका थिए। तर बिरामी भएको भन्दै उनलाई भेटन दिइएन। कोइरालालाई भेट्न गएका गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले पनि भेटन पाएनन्।

ऊर्जामन्त्री डा. प्रकाशशरण महतले सभापति कोइरालालाई डायरिया भएको राससलाई बताएका छन्। कोइरालालाई भेट्न आएका मन्त्रीहरुलाई कार्यवाहक सभापति सुशील कोइरालाले एकताबद्ध भई आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सरकारलाई सफल बनाउन निर्देशन दिएका थिए।

देउवाको आलोचना

यसैबीच, भर्खरै भारत भ्रमण सकाएर स्वदेश फर्किएका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सभापति कोइरालाको आलोचना गरेका छन्। आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कोइरालाको पुत्रीमोहले नेपाली कांग्रेसलाई दीर्घकालीन असर पर्ने बताए।

स‌ंसदीय दल र केन्द्रीय समितिलाई जानकारी नै नदिई सभापतिले सुजातालाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेसभित्र कार्यकारी अधिकार कसमाथि रहने भन्ने बहस चर्किएको छ। गत साता केन्द्रीय समितिको बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेल र उपप्रधानमन्त्री सुजाता कोइरालाबीच चर्काचर्की परेको थियो। कार्यवाहक सभापति सुशील कोइरालाले सभापति गिरिजाप्रसाद कोइराला कै उपस्थितिमा छलफल गरी विवाद टुंग्याउने भन्दै बैठक स्थगित गरिएको थियो। बैठकको मिति भने तय भएको छैन। 

कार्यवाहक सभापति कोइरालाले आइतबार आयोजित एक कार्यक्रममा यो प्रकरणलाई केन्द्रीय कार्यसमितिले टुंगोमा लगाउने भएकोले विवाद नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by