ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

पर्यटकलाई भाइटीका



मनोज अधिकारी, पोखरा कात्तिक ३ -
अन्तराष्ट्रिय जगतसम्म नेपाली संस्कृति फैलाउन र नेपाल आएका पर्यटकसँग भाईचाराको सम्बन्ध गाँस्न पोखरामा डेढदर्जन दिदी-बहिनीले उत्तिकै संख्यामा विदेशी पर्यटकलाई भाईटीका लगाईदिएका छन्।
लेकसाईडस्थित मुनलाईट रिसोर्टमा सोमबार आयोजित तेस्रो भाईटीका महोत्सवसमा १६ पर्यटक महिला तथा पुरुषले नेपाली चेलीबाट भाईटीका ग्रहण गरेका हुन्।




उनीहरुलाई स्थानीय 'एसओएस बहिनी' नामक गैरसरकारी संस्थाका अनाथ तथा असाह्य चेलीहरुले सप्तरंगी टीका लगाएर माला पहिर्‍याएका थिए। प्रत्येक पर्यटकलाई एक/एकजना चेलीले लामबद्ध भई सामुहिक भाईटीका लगाउँदा नेपाल घुम्न आएका पर्यटक तथा अनाथ चेलीहरु निकै रमाएका थिए।

पर्यटकलाई दिदी तथा दाजुको साइनो बनाई भाईटीका लगाउने 'एसओएस बहिनी'का चेलीहरु ९ देखि १४ वर्ष उमेरसम्मका थिए। टीका ग्रहण गर्ने पर्यटकहरुतर्फ ६ महिला र १० पुरुष थिए। उनीहरु अधिकाँश डेनमार्क थिए। बाँकी बेलायत, अमेरिका, रुस, न्यूजिल्याण्डका पर्यटक थिए।

हरियो दुबोको चौरमा पलेँटी कसेर लामबद्ध भएका पर्यटकलाई नेपाली चेलीहरुले तेलको घेरोले छेकेर कपालमा तेल लगाउँदै फूलले पुजेर टिका लगाउँदाको दृष्य निकै भावनात्मक थियो।

चेलीहरुले सप्तरंगीको टिका लगाएर सेल, रोटी, मिठाई र दहीको सगुन खुवाएका थिए। उनीहरुले सबै महिला तथा पुरुष पर्यटकलाई नेपाली ढाकाको टोपी समेत लगाईदिएका थिए। 

नेपाल घुम्न आएका पर्यटक तथा तिहार मान्न नपाउने अनाथ चेलीहरुबीच भाईचाराका सम्बन्ध जोड्दै भाईटीका लगाउने अवसर पश्चिमाञ्चल होटल संघले जुटाएको हो। पोखराका चार सयभन्दा बढी होटलहरुको छाता संगठन होटल संघले यसअघि दुईपटक यस्तै महोत्सवको आयोजना गरि नेपाली चेली र विदेशी पर्यटकबीच भाईचाराको सम्बन्ध स्थापित गराईसकेको छ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्दराज पहारीले विदेशी पर्यटकमार्फत् नेपाली संस्कृति विश्वभर फैलाउन र नेपालको चाडबाडबारे सबैलाई अवगत गराउन विगत तीन वर्षदेखि यस्तो महोत्सव आयोजना गरिएको बताए। उनले नेपाली र विदेशी बीचको भाईटीकाले एकअर्कामा भाईचाराको सम्बन्ध समेत स्थापित गराएकाले यो निकै सार्थक र भावनात्मक समेत बन्दै गएको बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by