ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

नेपाल संवतको नयाँ वर्ष आजदेखि

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्वारा शुभकामना

काठमाडौँ, कात्तिक २ (नागरिक)- राज्यले राष्ट्रिय संवतका रुपमा घोषणा गरिसकेको नेपाल संवतको नयाँ वर्ष आजदेखि सुरु भएको छ। यस अवसरमा बिहान ७ बजे बसन्तपुरबाट निस्किएको सांस्कृतिक जुलुस नगर परिक्रमापछि सभामा परिणत भयो। समारोहलाई मुख्य अतिथिका रुपमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गरे। त्यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिको आयोजनामा बिहान साढे ७ बजे थिमिस्थित शंखधर चोकमा रहेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा प्रधानमन्त्री माधवकुमार नेपालले माल्यार्पण गरेका छन्। आजै गंगा क्लबको आयोजनामा बसन्तपुरबाट भिंतुना मोटरसाइकल र्‍याली बिहान १० बजे सुरु भएको छ। खास्ती नेवाः पुचःको आयोजनामा बौद्ध चैत्यबाट मोटरसाइकल र्‍याली भएको छ भने नेपालभाषा मंकाः खलः यलको आयोजनामा मंगलबजारबाट र भक्तपुरको दत्तात्रयमा संयुक्त रुपमा सांस्कृतिक र्‍यालीको आयोजना भएको छ। 

नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवत्का रूपमा प्रचलनमा रहेकामा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो। 

राष्ट्रपति डा.रामवरण यादवले नेपाल सम्वत् ११३०को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालयव्दारा आज जारी शुभकामना सन्देशमा राष्ट्रपति डा. यादवले विगत तीन वर्षदेखि हामी नेपालको नयाँ संविधान बनाउने महान अभियानमा छौँ यस सिलसिलामा विभिन्न जातजाति, समुदाय र क्षेत्रका सबै नेपालीहरु एउटै मन, वचन र कर्मले अघि बढ्नुपर्ने वर्तमानको आवश्यकता हो भनेका छन्।

सन्देशमा राष्ट्रपति डा.यादवले सबै नेपालीहरु एकजुट भएमा मात्र हाम्रो अभियानमा हामी सफल हुन सक्छौँ भनेका छन्। राष्ट्रपति डा. यादवले नेपाल संवत् ११३०को शुभअवसरले सम्पूर्ण नेपालीहरुबीच मैत्रीपूर्ण सद्भाव कायम गरी अघि बढ्न ऊर्जा प्रदान गरोस् भनी शुभेच्छा प्रकट गरेका छन्।

प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल संवत् नेपालमा नेपालीद्वारा स्थापित ऐतिहासिक र मौलिक संवत् भएकाले यसको जगेर्ना र सम्बर्द्धन हामी सबै नेपाली मिलेर गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल संवत् ११३० को उपलक्ष्यमा आज सन्देश दिँदै उनले अनेकौँ जाति, भाषा र संस्कृतिको विविधताबीच कायम रहेको जातीय एकताले सुदृढ बनाएको हाम्रो राष्ट्रिय एकताको आधारलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल संवत् ११३० ले नेपाली-नेपालीबीचको एकता, सद्भाव र मेलमिलापलाई अझ बलियो बनाउँदै शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याउने र तोकिएको समयमै नयाँ संविधान बनाउने काममा सबैलाई केन्द्रित भएर अघि बढ्न प्रेरित गर्न सकोस् भन्दै प्रधानमन्त्रीले सबै नेपालीको जीवनमा नयाँ वर्ष नेपाल संवत् ११३० ले हर्ष र उमङ्ग प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।

नेताहरुको शुभकामना
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल संवत् ११३० को उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्।

शङ्खधर साख्वालाई लिच्छवीकालीन नेपालको एक समाजसेवीकोरुपमा सम्मान गरिन्छ भन्दै उनैले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको स्मृतिमा नेपाल सम्वत् प्रारम्भ भएको उल्लेख गर्दै सभापति कोइरालाले आज दिएको सन्देशमा नेपाल संवत्को आफ्नै ऐतिहासिक महत्व रहेको बताएका छन्।

हाम्रो देश विभिन्न जातजाति, भाषा, धर्म र चाडपर्व, एवम् विभिन्न संस्कृति भएको देश हो भन्दै सन्देशमा सभापति कोइरालाले एकले अर्काको भाषा, धर्म, चाडपर्व र संस्कृतिलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ यही परम्पराले हामीलाई आपसी सहयोग र सद्भावका साथ ऐक्यबद्धता भएर रहन प्रेरणा प्रदान गरेकोले यसलाई हामीले सदैव अक्षुण राखेर, पारस्परिक सहयोग, सद्भाव र एकतालाई कहिल्यै पनि कमजोर हुन दिनुहुँदैन भनेका छन्।

सन्देशमा आज एकसाथ हाम्रो देशले अनेक सङ्कट र समस्याहरुलाई व्यहोरिरहन परेको छ यी सबैको समुचित निराकरण गरेर, आफ्नो देशको संविधान आफै लेख्ने तथा नेपाललाई शान्त, स्निग्ध र समुन्नत नेपालमा रुपान्तरण गर्ने गुरुतर दायित्व इतिहासले हामीलाई सुम्पेको छ भन्दै सन्देशमा यो दायित्वका प्रति हामी सबैले सचेत र संवेदनशील हुनुपर्छ भनिएको छ।

प्रत्येक नयाँ वर्षले हामीलाई विगतका प्रति सजग र वर्तमानका प्रति जिम्मेवार रहन अभिप्रेरित गर्छन् भन्दै सन्देशमा हाम्रो श्रम, हाम्रो क्षमता र योग्यतालाई देश निर्माणमा समर्पित गरेर, देशको नवनिर्माण हामी नै गर्छौ भन्ने देशभक्ति युक्त भावना, सङ्कल्प र आत्मविश्वास हामीमा रहेको बताइएको छ।

नेपाल सम्वत्को प्रणेता शङ्खधर साख्वाप्रति सम्मान प्रकट गर्दै नयाँ वर्ष सम्पूर्ण नेपालीहरुमा सुख शान्ति र समृद्धिको वर्ष बनोस् भन्ने हार्दिक शुभेच्छा र शुभकामना पनि सभापति कोइरालाले सन्देशमा व्यक्त गरेका छन्।

यसेबीच राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेपाल सम्वत् ११३० तथा शुभदीपावली २०६६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा राष्ट्रिय जनशक्ति पार्टी परिवार एवम् म स्वयम्का तर्फबाट कामना व्यक्त गर्नुभएको छ।

आज शुभकामना दिँदै अध्यक्ष थापाले नेपाल सम्वत् ११३० ले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम गर्न हामी सबै नेपालीमा हौसला, प्रेरणा र सद्बुद्धि प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

सन्देशमा उनले मुलुक सङ्कमणकालीन अवस्थाबाट गुज्रेको छ यस अवस्थाको सही परिचालन गरी मुलुकमा दिगो शान्ति, स्थायित्व कायम गर्दै नयाँ संविधान निर्माणको दायित्व हामी राजनीतिक शक्तिहरुको काँधमा आएको बताएका छन्।

नेपाल सम्वत् ११३० उल्लिखित दायित्व पूरा गर्न हामी सबै नेपालीका लागि कोसेढुङ्गा सावित हुन सकोस् र चारवर्ण छत्तिस जात रुपी यस राष्ट्रिय फूलबारीका सबै फूललाई आ-आफ्नो इतिहास र पहिचानसहित एउटै मालामा आवद्ध गराउन सफल एवम् सार्थक हुने आशा र विश्वास व्यक्त गरे।


1 comment:

  1. Happy Nepal sambat to everyone ani happy tihar

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by