ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

परराष्ट्रमन्त्रीले लाखौँको चाँदीका थालकचौरा उपहार बाँडिन्


लेखनाथ पाण्डे, काठमाडौं, कात्तिक ४- उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले विदेश भ्रमणका क्रममा झण्डै १० लाख रूपैंयाको उपहारमात्र दिएकी छन्। पोर्चुगल, इजिप्ट र भारत भ्रमणमा समकक्षी तथा अन्य पदाधिकारीलाई उनले यति धेरै रकमको उपहार दिएकी हुन्। असार अन्तिम साता उनी पोर्चुगलको लिस्बन हुँदै असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन इजिप्टको स्राम-एल-शेख पुगेकी थिइन्। लिस्बनमा उनले 'फोरम फर डेमोक्रेसी' बैठकमा भाग लिएकी थिइन्।
साउन अन्तिम साता भारत भ्रमण गरी समकक्षी एमएम कृष्णासँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति प्रतिभादेवी पाटिल, प्रधानमन्त्री मनमोहन सिंह, विपक्षी दलका नेता लालकृष्ण आडवाणी, राजनाथ सिंहलगायतसँग भेट गरेकी थिइन्। यी भेटहरूमा मन्त्री कोइरालाले करिब ५ लाख २७ हजार रूपैंयाको 'गिफ्ट' बाँडेकी हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले 'खर्च कम देखाउन' विविध खर्च शीर्षकबाट झण्डै त्यति नै रकमको उपहार दिएकी छन्। स्रोतले मन्त्रीका कतिपय भेटघाट ती मुलुकहरूमै पुगेपछि तय भएको र उनले उतै पुगेपछि उपहार किनेर दिएको बताए। 'विदेशमै किनिएका उपहार चाँही 'विविध खर्च' शीर्षकबाट खरिद गरिएको छ' मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'यसरी किनिएको उपहार खर्च बिलमा देखाइएको छैन।'

मन्त्री कोइरालाले यी भ्रमणमा भेटघाट भएका कुन-कुन विदेशी अधिकारीले के-के उपहार दिइन् भन्ने बिलमा खुलाइएको छैन। बरू, ती भ्रमणमा एकमुष्ठ ५ लाख २६ हजार रुपैयाँ उपहारका लागि खर्च भएको उल्लेख छ।

उपहारको एउटै बिल यति ठूलो रकमको भएपछि कर्मचारीहरूले त्यसलाई विदेश भ्रमण पिच्छे छुट्टा-छुट्टै तीन वटा बिल बनाएर स्वीकृतिका लागि अघि बढाइएको छ। 
कोइराला त्यसबखत उपप्रधानमन्त्री नभई सकेकाले परराष्ट्रमन्त्रीको हैसियतमा उपहार दिएकी हुन्। मन्त्रालयका कर्मचारीहरूले विगतका परराष्ट्रमन्त्रीहरूले विदेश भ्रमण गर्दा यति धेरै मूल्य पर्ने उपहार दिने नगरेको स्मरण गर्दै मन्त्री कोइरालाको उपहार खर्च असामान्य भएको टिप्पणी गरे।

विगतका मन्त्रीहरूले विदेशी समकक्षी र अन्य अधिकारीसँग भेटघाट हुँदा नेपाली पहिचान र संस्कृति झल्किने हस्तकला, पस्मिना, बुद्धका मूर्ति, खुकुरी उपहार दिन्थे। मन्त्री कोइरालाले भने यी सामग्रीका अतिरिक्त महँगा चाँदीका थाल-कचौरासमेत दिन छुटाएकी छैनन्। ती थाल-कचौरामा उनले आफ्नो नाम र पद कुँदेर दिएकी छन्। विशेषगरी भारतीय समकक्षी एसएम कृष्णालगायतलाई यसरी उनले चाँदीका थाल-कचौरा दिएकी हुन्। 

'स्वदेशी पहिचान झल्किने उपहार दिँदा विदेशमा नेपालबारे चिनाउन सजिलो हुन्छ' ती अधिकारीले भने, 'उहाँले (मन्त्री कोइराला) ले भने विदेशमा बनेका सामानसमेत उपहार दिनुभएको छ।'

गत महिना संयुक्त राष्ट्रसंघको ६४ औं महासभामा भाग लिने क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति बराक ओबामालाई सगरमाथाको ढुङ्गा उपहार दिएका थिए। यो उपहारसँगै प्रधानमन्त्रीले अमेरिकी नेतालाई मौसम परिवर्तनका कारण नेपालको हिमश्रृंखला पग्लिँदै गएर प्रकृतिक विपत्तिको खतरातर्फ सचेत गराएका थिए।

प्रधानमन्त्रीसँगै अमेरिका गएकी कोइरालाले त्यहाँ दुई साता बसाईका क्रममा समकक्षी हिलारी क्लिन्टन, सिनेटर, कंग्रेसम्यान लगायत अधिकारी, महासभामा भाग लिन आएका विभिन्न देशका मन्त्रीहरूलाई लाखौंको उपहार दिएकी छन्। तर, त्यसको बिल भने आइनसकेको स्रोतले बतायो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by