चन्द्र कार्की/तेह्रथुम, २०६६ कार्तिक १ -
ग्रामीण क्षेत्रको एउटा सामान्य किसानले कृषि व्यवसायबाट कतिसम्म आम्दानी गर्ला ? दुई/चार हजार । म्याङलुङ- ५ ओख्र्रेका ४६ वषर्ीय देवीबहादुर खत्रीले भने त्यो अनुमानलाई गलत सावित गरिदिएका छन् । कृषि व्यवसायबाटै करोडको सम्पत्ति जोडिसकेका उनले अहिले पनि यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् । पढाइका हिसाबले सामान्य लेखपढसम्म जानेका खत्रीले गाउँमा गाई भैंसी पालेर आधा घन्टाको दूरीमा रहेको म्याङलुङ बजारमा दूध बिक्री गरी सम्पत्ति जोडेको दाबी गर्छन् । 'आयस्रोत थिएन' उनले भने, 'जम्मा भएको पैसा पनि कृषि व्यवसायमै लगानी गरेर सफलता पाएको हुँ ।' गाउँमा गाईभैंसी पालेर उनले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गरे । 'प्रतिलिटर ३० रुपैयाँको दरले दूध बिक्री गर्दा प्रत्येक महिना ३३ हजार ५ सय रुपैयाँ आम्दानी भयो,' उनले प्रस्ट्याए । दूध बिक्रीबाटै वर्षमा ४ लाख १२ हजार रुपैयाँसम्म आम्दानी हुन थालेपछि उनी यो व्यवसायमा अरू हौसिएर लागेका हुन् ।
'दूध बिक्रीबाट वर्षभरिमा जम्मा भएको पैसा गाउँमा केही प्रतिशत ब्याजमा लगानी गरे,ं' उनले सुनाए । यसबाट आम्दानीको स्रोत थप बढ्न पुगेको उनको भनाइ छ । गाउँमै पशुपालन, खेतीपाती र खसीबोका पालेर कृषि व्यवसाय सुरु गरेका खत्री यो व्यवसायबाट जिल्लामा राम्रो आम्दानी गर्ने मेहेनती किसान मानिन्छन् ।
कृषि र पशुपालन व्यवसायबाट आर्जन गरेको पैसाले उनले सदरमुकाम म्याङलुङमा दुई घर समेत बनाएका छन् भने करिब डेढ सय रोपनी जग्गासमेत जोडिसकेका छन् । 'यी सारा सम्पत्तिको स्रोत कृषि व्यवसाय नै हो' आफ्नो मेहेनतले जोडेको गाउँको भिरालो जमिन देखाउँदै उनले भने 'अबको पाँच वर्षपछि यही बारीमा वाषिर्क १० लाख बढी आम्दानी गर्ने लक्ष्य छ ।'
तीनजनै छोराहरू क्याम्पस जान थालेपछि पहिलेका तुलनामा पशु पालन व्यवसायलाई घटाउँदै लगेको उनले बताए । पशुपालन छोडेर अहिले उनी उन्नत जातको घाँस खेतीमा लागेका छन् । उनले यो वर्ष मात्र ८० हजारको हाराहारीमा अम्लिसो, मोलासेस, स्टाइलो, खर लगायतको घाँस बिक्री गरेर आम्दानी गरेको बताए ।
पछिल्लो समय खत्रीले बारीमा रुद्राक्षको बिरुवा लगाएर खेती सुरु गरेका छन् । बाँकी रहेको भिरालो जमिनमा उत्तिसको बिरुवा लगाएर आफैं जंगल पनि हुर्काउँदै छन् । 'पढिसकेपछि छोराहरूलाई पनि यही व्यवसायमा लगाउँछु,' खत्रीले भने, 'जागिर खाएर त्यति राम्रो आम्दानी हुँुदैन ।'
No comments:
Post a Comment