ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

शीर्ष नेतालाई देउसीबाट दबाब

काठमाडौँ, कात्तिक २- जनआन्दोलन र संविधानसभा गठनको औचित्यप्रति सम्मान गर्दै व्यवस्थापिका-संसदको कारबाही सुचारु गर्न, तोकिएको समयमा संविधान जारी गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन देउसी-भैलो कार्यक्रममार्फत राजनीतिक दलका शीर्ष नेताहरुलाई दबाब दिइएको छ। दीपावलीको अवसरमा देउसी-भैलो खेल्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको निवास पुगेको मानव अधिकारकर्मी, कलाकार, साहित्यकार, सञ्चारकर्मी तथा पेसागत सङघ/सङ्गठनका प्रतिनिधिसहितको टोलीले देउसी गीतमार्फत सो दबाब दिएका हुन्।

देउसी-भैलो टोलीले लगातार संसद अवरुद्ध भएका कारण नागरिक अधिकार कुण्ठित भएको, स्वयं जनप्रतिनिधि सदस्य प्रभावहीन बन्न पुगेको र अन्तरराष्ट्रिय जगत्मा राष्ट्रको छवि नै धुमिल भएको भन्दै तुरुन्त संसद सञ्चालनका लागि हारगुहार गरेको थियो।

उनीहरु भनिरहेका थिए - 

सहिदको बलिदान सम्झेर
जनताको चाहना बुझेर
छैसट्ठी सालको तिहारमा 
आयौँ है तिम्रै आँगनमा

लोकतन्त्रको प्राण संसदलाई
कहिलै नरोक्ने वचन देऊ
हामी आयौँ तिम्रो आँगनमा 
देशलाई शान्ति सुरक्षा देऊ। ...

प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउसी-भैलो कार्यक्रमपछि सो टोलीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले सहिदको बलिदान सम्झेर जनताको भावना र चाहना बुझी राजनीतिक गतिरोधलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री नेपालले भने- व्यवस्थापिका-संसदलाई बन्धक गराउन हुँदैन भन्ने पक्षमा हामी दृढ छौँ, अब अवरोध हुने छैन।

शान्ति प्रक्रियाका थाँती काम समयमै पुरा गर्नका लागि जनतालाई सुशासनको अनुभूति गराउन तथा भ्रष्टाचार हटाउन सरकार लागिपरेको बताउँदै उनले मूल विषयमा केन्द्रित रहेर आफ्ना क्रियाकलाप अगाडि बढाउन राजनीतिक दलहरुलाई नागरिक समाजले दबाब दिनुपर्छ भने।

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफ्नो निवास डल्लुमा आएका देउसीटोलीसमक्ष प्रमुख राजनीतिक दलहरुले संविधान बनाउने अठोट र सङ्कल्प गरे राजनीतिक गतिरोध दुई/चार दिनमै अन्त्य हुने बताए।

प्रमुख राजनीतिक दलका गतिविधिबाट अहिले कोही सन्तुष्ट नरहेको बताउँदै उनले सबैको चाहना दलहरुबीच समझदारी कायम रहोस् भन्ने रहेको बताए।

आफू व्यवस्थापिका-संसदको अवरोध अन्त्यका लागि दलहरुका शीर्ष नेतासँग निरन्तर संवादमा रहेको जानकारी दिँदै अध्यक्ष खनालले भने-आफ्नो पार्टी प्रतिबद्धता मात्र जनाउने होइन गतिरोध अन्त्यका लागि अरुले निकासका लागि विकल्प प्रस्तुत गरे भने त्याग गर्नसमेत तयार छौँ।

एकीकृत नेकपा (माओवादी)का कार्यवाहक अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो निवास शान्तिनगरमा आएका देउसीटोलीसमक्ष संविधान निर्माणका लागि आफ्नो पार्टी अरुभन्दा जिम्मेवार र चिन्तित रहेको बताए।

निर्बाध ढङ्गले संविधान लेख्ने काम भइरहेको जानकारी दिँदै उनले संविधानसभाअन्तर्गतका ११ वटै समितिमा एकीकृत नेकपा (माओवादी) ले आगामी संविधानमा समेट्नुपर्ने विषयको प्रस्ताव पेस गरिसके पनि एमाले र नेपाली काङ्ग्रेसले भने आजसम्म पेस नगर्नुले संविधान निर्माणप्रति को जिम्मेवार छ भन्ने छर्लङ्ग छ भने।

उनले आफ्नो पार्टीले उठाएको नागरिक सर्वोच्चताको विषय र तत्कालीन प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमविरुद्ध व्यवस्थापिका-संसदमा छलफल चलाए भोलि नै संसद खुलाउन तयार रहेको बताए।

कार्यवाहक अध्यक्ष डा.भट्टराईले लोकतन्त्रमा सार्वभौमसम्पन्न संसदमा यस्ता विषयमा छलफल चलाउन हिच्किचाउन नहुने उल्लेख गरे।

सो टोलीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगन्जमा पनि देउसी-भैलो गरेको थियो।

सो देउसी टोलीमा नागरिक समाजका सूर्यप्रसाद श्रेष्ठ, कपिल श्रेष्ठ, शोभा गौतम, सुबोधराज प्याकुरेल, डा.वीरेन्द्र मिश्र, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेललगायत सहभागी थिए। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by