ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

कुनै देशविरुद्ध 'कार्ड' प्रयोग गरिँदैन : नेपाल

काठमाडौँ, कात्तिक ४ - प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखी सबै राजनीतिक पार्टीबीच सहमति र सहकार्यका साथ देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। सेन्टर फर साउथ एसिया स्टडिज र कोर्नाड एडेनर फाउन्डेसनद्वारा आयोजित “नेपालको राष्ट्रिय हित : नीति र सुझाव” विषयक गोष्ठीको उदघाटन गर्दै प्रधानमन्त्री नेपालले सबै राजनीतिक पार्टीबीच सहमति र सहकार्य बन्न सकेमा दिगो शान्ति स्थापना गरी मुलुकलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे। उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु, निर्धारित मितिमा संविधान लेख्नु तथा माओवादी लडाकुको समायोजन गर्नु सरकारको प्रमुख तीन कार्य रहेको र यी दायित्व पूरा गर्न सरकार सक्षम रहेको उल्लेख गरे।

नेपाल दुई ठूला मित्रराष्ट्रको बीचमा रहेकाले यस्तो विशिष्ठ भू–राजनीतक अवस्थाका कारण राष्ट्रिय हितको महत्व अझ बढी रहेको बताउँदै उनले नेपालमा जुनसुकै दलको सरकार बने पनि छिमेकी राष्ट्र भारत र चीनको सम्बन्धलाई आपसी हितका आधारमा उच्च प्राथमिकता दिइएको बताए। 

प्रधानमन्त्रीले भने— “एक अर्काको विरुद्धमा हामी कुनै 'कार्ड' प्रयोग गर्दैनौँ। दुई देशसँग आर्थिक, प्राविधिक, व्यापारिक र लगानीका सम्बन्ध विस्तार गर्न चाहन्छौँ, यसमा नै हाम्रो सर्वोच्च राष्ट्रिय हित अन्तर्निहित छ।” 

“हाम्रा छिमेकी राष्ट्रका वास्तविक चासोप्रति हामी अत्यन्त संवेदनशील छौँ, हाम्रो भूभागलाई छिमेकी मुलुकको हित विरुद्धमा प्रयोग गर्न नदिने हाम्रो नीति छ। यस्तै सहयोग र समर्थन हामी मित्रराष्ट्रहरुबाट पनि अपेक्षा गर्दछौँ”— प्रधानमन्त्रीले भने।  

आफूले हालै भारतको औपचारिक भ्रमण गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ गरेको बताउँदै उनले निकट भविष्यमा चीनको भ्रमण गर्ने योजना बनाएको जानकारी दिए। 

प्रधानमन्त्री नेपालले जलस्रोतको अधिकतम् उपयोग, खाद्यान्न वितरणको सुनिश्चितता, जलवायु परिवर्तनको असरलाई कम गर्न, जैविक विविधतासँगै हिमालय क्षेत्रको पर्यावरणको रक्षा तथा हाम्रा साँस्कृतिक एवम् पुरातात्विक सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। 

गोष्ठीमा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले राजनीतिक दलबीच सहमति र सहकार्य बन्न नसकेमा निर्धारित मितिमै संविधान बन्न नसक्ने बताउँदै माओवादीलाई अलग राखेर नयाँ संविधान बन्न नसक्ने दाबी गरे। 

सेन्टर फर साउथ एसिया स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेको सभापतित्वमा भएको सो गोष्ठीमा कोर्नाड एडेनर फाउन्डेसनका आवासीय प्रतिनिधि डा. बेक्ट्रिस गोरावान्टचीले राष्ट्रिय हितका विषयमा बोलेका थिए।

कार्यक्रममा नेपाली कङ्ग्रेसका डा. शम्भुराम सिम्खडाले नेपालको राष्ट्रिय हित र वैदेशिक नीति, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले आर्थिक स्थायित्व र व्यापार, पूर्व सहायक रथि रणध्वज लिम्बू आम्बुहाङले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित संरक्षणका चुनौती तथा  पूर्व राजदूत प्रा.डा. मोहनप्रसाद लोहनीले राष्ट्रिय हितको परिभाषा विषयमा प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल गरिएको थियो।  रासस 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by