ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

आइजिपी Vs डिआइजी



डिआइजी (?) बस्ताकोटीको डायरी
असोज २१ ः १८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय ।
लिगत्तै प्रहरी महानिरीक्षकको सचिवालयमा फोन गर्दै नवनियुक्त डिआइजी नारायण बस्ताकोटी, 'त्यो भाते रमेश चन्द कहाँ छ ? फोन देऊ, म कुरा गर्छु’ आइजिपीका सचिवालय स्रोतका अनुसार बस्ताकोटीले फोनमा भनेका थिए, 'त्यो भातेले पैसा खाएर मलाई चार नम्बरमा पार्‍यो, त्यससँग म कुरा गर्छु ।’
सिचिवालयका कर्मचारीले फोन फरवार्ड गरेनन् त्यसैले सीधै आइजिपीलाई फोन गर्दै बस्ताकोटीले भने, 'तँ भ्रष्टाचारीले हाम्रो तलब पनि खाने, हाम्रो युनिर्फमबाट पनि पैसा खाने ?’ स्रोतका अनुसार उनले भनेका थिए, 'तैले कति पैसा खाएर मलाई चौथो नम्बरमा झारिस्, 
लौ भन् ।’
कात्तिक ४ ः दज्र्यानीचिह्न वितरण कार्यक्रमका उद्घोषक, 'सरकारले त १८ जनालाई डिआइजीमा बढुवा गरेको हो, तर श्याम नेपाल विदेशमा हुनुहुन्छ, अर्का डिआइजी नारायण बस्ताकोटी कारबाहीमा हुनुहुन्छ, त्यसैले आज १६ जनालाई मात्र फुली लगाउने कार्यक्रम छ ।’
गतवर्ष ः तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ स्थलगत भ्रमणमा गएका वेला भेरी अञ्चल प्रहरीप्रमुख बस्ताकोटीद्वारा एसपी मिङमार लामालाई रेडियो सेटबाट आदेश, 'त्यो हेमबहादुर कहाँ छ ? त्यसलाई हतकडी लगाएर मेरो कार्यालयमा बुझाउनू ।’
एसपी लामा ः को हेमबहादुर हजुर ? 
बस्ताकोटी ः 'त्यो आइजिपी भन्दै आएको छ नि हेमबहादुर गुरुङ, हो त्यल्लाई हतकडी लगाएर मकहाँ ल्याउनू ।’

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, ४ कात्तिक
मन्त्रिपरिषद्ले १८ जना प्रहरी अधिकृतलाई डिआइजीमा बढुवा गरे पनि प्रहरी महानिरीक्षक -आइजिपी) ले १७ जनाको मात्र सदर गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार फुली लगाउन गएका डिआइजी (?) नारायण बस्ताकोटीलाई उनले खालीकुम पठाइदिएका छन् । 
मन्त्रिपरिषद्को २१ असोजको बैठकले १८ जना प्रहरी अधिकृतलाई डिआइजीमा बढुवा गरेको थियो । एकजना डिआइजी श्याम नेपाल शान्ति मिसनमा सुडानमा छन् । १७ जना अधिकृत फुली लगाउन बुधबार प्रहरी प्रधान कार्यालय गएका थिए । 
अरू प्रहरी अधिकृतजस्तै बस्ताकोटी पनि प्रहरी पोसाकमा प्रधान कार्यालय पुगेका थिए । तर, कार्यक्रमका उद्घोषकले भनिदिए, 'सरकारले त १८ जनालाई डिआइजीमा बढुवा गरेको हो, तर श्याम नेपाल विदेशमा हुनुहुन्छ, अर्का डिआइजी नारायण बस्ताकोटी कारबाहीमा हुनुहुन्छ, त्यसैले आज १६ जनालाई मात्र फुली लगाउने कार्यक्रम छ ।'
आफूसँगै बढुवा पाएका १६ डिआइजी पालैपालो अगाडि गएर दज्र्यानीचिह्न लगाए । तर, औपचारिक कार्यक्रममै अपमानित बस्ताकोटी भने फुली लगाउन नपाए पनि अन्तिमसम्मै बसेर कार्यक्रमबाट बाहिरिएका थिए । 
मन्त्रिपरिषद्को निर्णयअनुसार एसएसपीबाट डिआइजीमा बढुवा भएकाहरूलाई दज्र्यानीचिह्न लगाउन बुधबार मध्याह्न प्रहरी प्रधान कार्यालयमा कार्यक्रम राखिएको थियो । बस्ताकोटी पनि फुली लगाउन कार्यक्रममा गएका थिए ।
बस्ताकोटी बुधबारको औपचारिक कार्यक्रममा अपमानित भए पनि त्यसअघि नै उनले फोनमा प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई अपमानित गरेको प्रहरी स्रोतको भनाइ छ । बढुवाको क्रममा चार नम्बरमा परेका बस्ताकोटीले असन्तुष्टि जनाउँदै प्रहरी महानिरीक्षकको सचिवालयमा दुईपटक फोन गरेका थिए । 'त्यो भाते रमेश चन्द कहाँ छ ? फोन देऊ, म कुरा गर्छु,' आइजिपीका सचिवालय स्रोतका अनुसार बस्ताकोटीले फोनमा भनेका थिए, 'त्यो भातेले पैसा खाएर मलाई चार नम्बरमा पार्‍यो, त्यससँग म कुरा गर्छु ।' तर, सचिवालयका प्रहरीले फोन आइजिपीलाई नदिएपछि तत्काल संवाद विच्छेद भएको थियो । 
तर, बस्ताकोटीले आइजिपी चन्दलाई सीधै मोबाइलमा फोन गरेर गाली गरेका थिए । 'तँ भ्रष्टाचारीले हाम्रो तलब पनि खाने, हाम्रो युनिर्फमबाट पनि पैसा खाने ?' स्रोतका अनुसार उनले भनेका थिए, 'तैंले कति पैसा खाएर मलाई चौथो नम्बरमा झारिस्, लौ भन् ।'
त्यतिवेला बस्ताकोटीले धेरै गाली गरेपछि आइजिपी चन्दले फोन राखेका थिए । त्यसको प्रतिक्रियास्वरूप बस्ताकोटीलाई फुलीबाट वञ्चित गरिएको हो । 
इन्टरपोलको महासभामा सहभागी हुन जानुअगाडि चन्दले बस्ताकोटीविरुद्ध लिखित उजुरी परेको दाबी गर्दै कारबाही गर्ने सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । प्रधान कार्यालयले उनीमाथि अनुशासनको कारबाहीको तयारी गरेको भन्दै दज्र्यानीचिह्नसमेत रोकेको हो । तर, संगठनको मर्यादा नाघेको भनेर बस्ताकोटीमाथि संगठनले अहिलेसम्म कुनै छानबिन सुरु गरेको छैन । 
त्यस्तो त बस्ताकोटीले आफ्ना हाकिममाथि यस्तो व्यवहार गरेको पहिलोपटक होइन । प्रहरी स्रोतका अनुसार बस्ताकोटी भेरी अञ्चलप्रमुख हुँदा स्थलगत भ्रमणमा भेरी पुगेका तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई पनि हतकडी लगाएर आफूसामु पेस गर्न उनले मातहतका प्रहरीलाई आदेश दिएका थिए । 'त्यो हेमबहादुर कहाँ छ ? त्यसलाई हतकडी लगाएर मेरो कार्यालयमा बुझाउनू' उनले आफ्ना जुनियरलाई रेडियो सेटबाटै आदेश दिएका थिए । 
बस्ताकोटीको आदेश सुनेर एसपी मिङमार लामा रनभुल्ल परेका थिए । 'को हेमबहादुर हजुर ?' लामाको प्रश्न सुन्नासाथ बस्ताकोटी कड्किएका थिए, 'त्यो आइजिपी भन्दै आएको छ नि हेमबहादुर गुरुङ, हो त्यल्लाई हतकडी लगाएर मकहाँ ल्याउनू ।'
आइजिपीलाई नै हतकडी लगाउने आदेश आएपछि आश्चर्यमा परेका प्रहरी अधिकारीलाई उनले तत्कालै भनेका थिए, 'यो क्षेत्रमा तिमीहरूको हाकिम म हुँ कि त्यो हेमबहादुर ? खुरुक्क त्यसलाई समातेर मकहाँ हाजिर गर्ला ।'
बस्ताकोटीको आदेश उनका जुनियरले मानेनन्, त्यसैले कुनै दुर्घटना भएन । तर, उनीमाथि कारबाही पनि भएन । बरु उनको विनामूल्यांकन बढुवा भयो र मन्त्रिपरिषद्को निर्णय आइजिपीबाट अवज्ञा भयो । 
उनीसँगै बढुवा भएका उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, केदारप्रसाद सावद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, वीरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिंह थापा, विश्वराजसिंह शाही, सुशीलबरसिंह थापा, भक्तिनाथ माझी, सुमनशमशेर जबरा, कुलेशबहादुर थापाले भने दज्र्यानीचिह्न पाएका छन् । 
प्रहरीमा नौ डिआइजी रिक्त भए पनि नौ दरबन्दी थप गर्दै मन्त्रालयले १८ जनालाई डिआइजी बनाएको थियो । दुईजना प्राविधिकतिरका छन् । 
दरबन्दी थपसँगै गृहले एसएसपीको नेतृत्वमा रहेका तीन कार्यालयमा डिआइजीको दरबन्दी सिर्जना गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, एयरपोर्ट र लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन एकाइमा डिआइजीको दरबन्दी थप गरिएको छ । अन्य डिआइजीहरूलाई मानवस्रोत, प्रतिआतंकवाद, योजना, अन्वेषणमा राख्ने निर्णय भइसकेको छ । स्रोतका अनुसार ट्राफिकमा प्रहरी प्रवक्ता विनोद सिंहलाई लैजाने निर्णय भएको छ । यसैगरी एयरपोर्टमा महानगरीय आयुक्त कार्यालयका रमेशशेखर बज्राचार्य र लागूऔषधमा गणेश राईलाई पठाउने निर्णय भइसकेको छ । 
कार्यविभागमा उपेन्द्रकान्त अर्याल, अन्वेषणमा राजेन्द्रसिंह भण्डारी, सचिवालयमा विज्ञानराज शर्मा, तालिम केन्द्रमा सुरेन्द्रबहादुर शाह र मानवस्रोतमा वीरेन्द्रबाबु श्रेष्ठलाई पदास्थापन गर्ने निर्णय भएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by