ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 23, 2009

ओबामा भेट्दैछन् प्रधानमन्त्री


काठमाडौं, असोज ७ (रासस)-
संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपालको आज व्यस्त कार्यतालिका छ। आजै उनले नेपालका लागि महत्वपूर्ण दुइटा विशेष कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति बाराक ओबामा र राष्ट्रसंघ महासचिव बान्की मुनसँग भेट गर्दैछन्। तीमध्ये पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा आयोजित शान्ति स्थापना कार्यक्रममा सेना तथा प्रहरी पठाउने विश्वका १० प्रमुख मुलुकको बैठक हो, जसलाई प्रधानमन्त्री नेपालले सम्बोधन गर्दैछन्।
अहिले विश्वका १ सय १८ मुलुकले शान्ति स्थापना कार्यमा आफ्नो मुलुकका सेना तथा प्रहरी पठाइरहेका छन्। तीमध्ये नेपाल धेरै सँख्यामा सेना तथा प्रहरी पठाउने पाँचौं ठूलो राष्ट्र हो। स्थानीय समयअनुसार मध्यान्ह १२ः०० बजे सुरु हुने एक घन्टा लामो सो बैठकमा शान्ति स्थापना कार्यमा विश्वमा देखापरेका चुनौती र भावी दिशाका बारेमा दस मुलुकका राष्ट्र/सरकार प्रमुखहरुबीच कुराकानी गर्नेछन्।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले दिनुभएको जानकारीअनुसार आजै बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन र विश्व बैंकका अध्यक्ष रोबर्ट जुलिकले आयोजना गर्नुहुने विशेष कार्यक्रममा प्रधानमन्त्री नेपालले सम्बोधन गर्नेछन्। सो कार्यक्रमको शीर्षक 'इन्भेस्टिङ इन आवर कमन फ्युचर, हेल्दी वुमन, हेल्दी चिल्ड्रेन' रहेको छ।


स्थानीय समयअनुसार अपरान्ह सञ्चालन हुने सो बैठक मातृशिशु क्षेत्रमा उल्लेखनीय सुधार गरिरहेका मुलुकहरुका लागि आयोजना गरिएको हो। आजै प्रधानमन्त्री नेपाल संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले विश्वका राष्ट्र/सरकार प्रमुखका लागि आयोजना गर्नुहुने दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम छ।


बुर्किनाफासो र इथियोपियाका राष्ट्रपतिद्वारा संयुक्त रुपमा आयोजित 'आमा र शिशुलाई एड्सबाट सुरक्षा गर' विषयक 'कल टु एक्सन' कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ। त्यसैगरी, महासचिव वान कि मुनद्वारा आयोजित बन विनाशलाई कसरी रोक्ने भन्नेसम्बन्धी कार्यक्रममा पनि प्रधानमन्त्री नेपाल सहभागी हुनेछन्।


प्रधानमन्त्री नेपालसँग आजै बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री डग्लस अलेक्ज्यान्डरसँग भेट्नुहुनेछ। त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सहयोग आर्थिक सम्बन्धलगायतका विषयमा कुराकानी हुनेछ। प्रधानमन्त्री नेपालले युरोपेली आयोगका अध्यक्ष जोसे म्यानुअल ब्यारोसोसँग पनि भेट गर्ने कार्यक्रम छ। आजै राति अमेरिकी राष्ट्रपति बाराक ओबामा र श्रीमती मिसेल ओबामाद्वारा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरुका लागि आयोजित रात्रिभोजमा प्रधानमन्त्री नेपाल र श्रीमती गायत्री नेपाल सहभागी हुनेछन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by