ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

एमालेद्वारा माओवादीलाई चार विकल्प; 'माओवादी मात्तिएको साँढे'

गजेन्द्र बोहरा, दाङ असोज ८- एमालेका महासचिव ईश्वर पोख्रेलले 'सरकार ढाल्ने' चेतावनी दिइरहेको माओवादीलाई चारवटा विकल्प दिएका छन्। उनले माओवादीका लागि अघि सारेको पहिलो विकल्पअनुसार ऊ सहमतिमा आउन नमाने 'विद्रोह गरेरै सत्ता कब्जा गर्नुपर्नेछ।' तर माओवादीले भनेजस्तो विद्रोहको परिणाम थेग्न सक्छ कि सक्दैन भन्नेबारे भने अघि नै विचार गर्न उनले माओवादीलाई सुझाव दिए। 
उनका अनुसार दोस्रो विकल्पका रुपमा माओवादीले व्यवस्थापिका संसदमा ३ सय १ जनाको बहुमत जुटाएर सरकार बनाउनुपर्छ। अघिल्लो दिनमात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहालले दाङमै पत्रकारहरुसँग एमाले नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै अब चाँडै ढल्ने उदघोष गरेका थिए। दोस्रो दिन बिहीबार घोराहीमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिवले भने दोस्रो विकल्पअनुसार माओवादीले संसदमा बहुमत पनि जुटाउन नसक्ने जिकिर गरे। त्यस्तै पोख्रेलले माओवादीलाई अर्को विकल्प दिए- 'कि सहमति गरेर अहिलेकै सरकारमा सामेल हुनुपर्‍यो।' तर यो सम्भावनालाई भने अघिल्लो दिन नै माओवादी अध्यक्ष दाहालले नकारिसकेका थिए । दाहालको भनाई थियो- 'माधव नेपालको सरकारमा जाने त कल्पना नै छैन, त्यो सम्भव पनि छैन।' तर एमाले महासचिव पोख्रेलले भने माओवादी सरकारमा आउन चाहे संविधानसभामा उसको प्रतिनिधित्वअनुसार संख्यात्मक हिसावले मन्त्रालय दिनसक्ने पनि बाटो खुल्ला गरेको बताए। 

बिहीबार बिहान घोराहीमा पत्रकारहरुसँग पोख्रेलले माओवादीलाई अन्तिम विकल्पको रुपमा 'जिम्मेवार प्रतिपक्ष भई बस्न' सुझाए। तर यो चरित्र पनि माओवादीमा नदेखिएको उनले बताए। उनले यीबाहेकका अरु विकल्पै नभएको पनि दाबी गरे। 'जे गरे पनि माओवादी यीमध्ये एउटा विकल्पमा जानैपर्छ'- उनले भने। उनले माओवादीलाई 'मात्तिएको साँढे' भनी टिप्पणी पनि गरे। भित्रभित्रै एउटा कुरा गर्ने र बाहिर भने अर्कै कुरा बोल्ने माओवादीको बानी नै भएको भन्दै उनले त्यसैले नै सहमतिको राजनीतिलाई बिगारेको बताए। 'आफ्नै कमजोरीले सरकारबाट बाहिरिएको भनेर उनीहरुले स्वीकारिसकेका छन्', पोख्रेलले भने- 'तर बाहिर भने अनेक प्रचारवाजी गरेका छन्। 

एक अर्को प्रसङ्गमा महासचिव पोख्रेलले अहिलेको परिस्थितिमा सबैको अर्जुनदृष्टि संविधान निर्माणमै भएको बताए। संविधान घोषणा गर्ने मितिलाई तल-माथि कसैले पनि सोच्न नहुने भन्दै उनले भनेको समयमा संविधान नबने मुलुकमा थप अस्तव्यस्तता छाउने पनि बताए। यसअघि दाङमै आएका सञ्चारमन्त्री शंकर पोख्रेलले भने 'संविधान नबने पनि कुनै संकट नआउने र संकट आए पनि त्यसलाई संविधान संशोधन गरेर टार्न सकिने' बताएका थिए। तर पोख्रेलले त्यस्तो कुरा सोच्न पनि नहुने भनी टिप्पणी गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by