ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 23, 2009

'कांग्रेस र एमालेलाई समाप्त पार्न सक्छौं'

किरण पुन, काठमाडौं, असोज ७- प्रमुख प्रतिपक्षी एकीकृत माओवादी नेताहरुले 'सहमतिको राजनीति त्यागेर जनतासँग निहु खोजे' राजा ज्ञानेन्द्रलाई जस्तै सत्तारुढ कांग्रेस र एमालेलाई पनि समाप्त पार्ने चेतावनी दिएका छन्। उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले 'राजा ज्ञानेन्द्रले संविधानसभाका लागि सहमति गर्न नमानेपछि चिहानमा पुगेको' दाबी गर्दै 'दलहरुले पनि राजनीतिक गतिरोध हटाई शान्ति र संविधान निर्माणका लागि सहमति नजनाए' समाप्त गर्ने चेतावनी दिएका हुन्। 
'सहमतिको आधारमा जान राजाले नमानेपछि चिहानमा पुगे। यिनीहरुले पनि नमानेपछि चिहानैमा जाने छन्,' माओवादी निकट मानव अधिकारवादी संस्था काहुराष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। नेपाल उद्योग व्यापार महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले भने, 'जनतासँग निहुँ खोज्दा राजतन्त्रले धुलो चाट्नुपर्‍यो। यिनले पनि निहु खोजे यिनको नियती त्यस्तै हुन्छ।' नेता भट्टराईले शान्ति बिथोल्ने शक्तिलाई 'उच्चस्तरीय आन्दोलन' गरेर बढार्ने बताए। त्यो आन्दोलनको नेतृत्व माओवादीले गर्ने नेता भट्टराईको दाबी थियो।


आफ्नो पार्टीले शान्तिपूर्ण ढंगले राजनीतिक संकटको निकास निकाल्न चाहे पनि प्रतिगामीले सैनिक दमन गर्ने षड्यन्त्र गरिरहेको बताए। शान्तिपूर्ण ढंगले निकास निकाल्न नदिए दश वर्षे जनयुद्ध र ११ दिने जनआन्दोलन भन्दा कडा संघर्ष गर्ने चेतवानी उनले दिए।


'शान्तिपूर्ण ढंगले निकास निकाल्न नदिने षड्यन्त्र भइरहेको छ। यस्तै गरी षड्यन्त्र भइरहे १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन भन्दा कडा सघर्ष गरिने छ', उनले भने। जनयुद्ध १९ दिने आन्दोलनभन्दा उच्चस्तर हुने बताउँदै आन्दोलन 'शान्तिपूर्ण भए छोटो' 'हिंसात्मक भए लामो हुने'समेत जानकारी दिए। उनले भने, 'यो आन्दोलनले पटकपटक निहु खोज्नेलाई बढार्नेछ।'


दुवै नेताले कांग्रेस र एमालेले 'राजाबिनाको राजतन्त्र' कायमै राख्न खोजेकाले नै सहमति जुट्न नसकेको आरोप लगाए। नेता भट्टराईले 'राष्ट्रपतिको अवतारमा पश्चगामीहरु गोलबन्द भएको' दाबी गरे। 'राष्ट्रपतिको अवतारमा प्रतिगामी शक्तिहरु उदाएका छन् । तिनीहरुविरुद्ध लडाइँमा नेपाली जनताले जितेपछि मात्रै नेपाली जनताको विजयको दिनको रुपमा आउने छ', भट्टराईले भने, 'राजा बिनाको राजतन्त्र र निरंकुशता थोपर्ने षड्यन्त्र भइरहेको छ। त्यसैले राष्ट्रपतिले निरंकुश राजाको रुप ग्रहण गर्ने सभावना नहोस् भन्नका लागि सदनमा सकल्प प्रस्तावमा छलफल हुनु र राष्ट्रपतिको भूमिका निश्चित हुनु आवश्यक छ।' अर्का उपाध्यक्ष श्रेष्ठले भने, 'उनीहरु सामन्तवाद कहीं न कही कायमै राख्न चाहन्छन्।'


कांग्रेस र एमालेले राजतन्त्रका अवेशलाई जोगाउ खोजेकै कारण अहिलेको राजनीतिक सहमति हुन नसकेको समेत बताए। सहमतिका लागि आफ्नो दल लचक भए पनि सत्तारुढ दल नै सहमतिका लागि अनिच्छुक रहेको आरोप लगाए।


कांग्रेस संदीय दल नेता रामचन्द्र पौडेलले माओवादीको कु असफल भएपछि ढुंगामुढामा उत्रिएको भन्ने आरोपको खन्डन गर्दै श्रेष्ठले 'उनीहरुको 'कु' असफल भएको बताए। 'उनीहरु नै ठूलै सैनिक 'कु' गर्ने योजनामा थिए। तर नसकेपछि सानो 'कु' गरे,' उनले भने, 'उनीहर अझै पनि प्रतिक्रान्तिकारी 'कु'को योजनामा छन्।


त्यसैगरी कार्यक्रममा महासचिव रामबहादुर थापाले नागरिक सर्वोच्चता संकटमा परेको बताए। 'प्रतिगामीहरुले शान्ति प्रकृयालाई भंग गर्ने षड्यन्त्र भइरहेको छ', थापाले भने। 
सीमा अतिक्रमण दिनदिनै बढिरहेकाले असाधारण संकट आउँदै गरेको उनको भनाइ थियो। उनले संकट समाधान आन्दोलनको आँधीवेहरीले मात्रै गर्ने बताए।


उनले सुरक्षा नीतिका नाममा सत्तारुढ दल 'फासीवादी दमनमा उत्रन' थालेको आरोप लगाए। जनआन्दोलनको आँधीबेहरीले मात्र संकट चिर्ने बताउँदै उनले त्यसले नै जनतालाई विजयी बनाउने तर्क गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by