ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

प्रदेशको विभाजन उत्तर-दक्षिण - कोइराला


'राष्ट्रपतीय प्रणाली अस्वीकार्य'
गोविन्द परियार, काठमाडौं असोज ६- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संघीयतामा देशलाई लाँदा एउटै राज्यभित्र हिमाल,पहाड र तराईका भुभागलाई समेट्नु पर्ने विषयमा आफूले भारतसँग छलफल गरिसकेको बताएका छन्। "उत्तर दक्षिण मिलाएर संघमा लाने हो। पूर्व पश्चिम होइन," मंगलबार राजधानीमा एक कार्यक्रममा कोइराला भने। 

नयाँ संविधानमा संघीयताको ढाँचाका विषयमा छलफल भइरहेका बेला कोइरालाले पूर्वदेखि पश्चिमसम्म मधेशलाई एक प्रदेश बनाउने भन्ने मधेशी दलहरुको धारणाप्रति असहमति व्यक्त गरे। उनले संघीयताका नाममा देश टुक्राउनेसम्मका कुरा बाहिर आइरहेको प्रति असन्तुष्टि व्यक्त गरे।
नेपालको भौगोलिक विविधता अनुसार हिमाल, पहाड र तराई हरेक प्रदेश भित्र पर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको कोइरालाले बताए।

"मैले संघ बनाउँदा उत्तर दक्षिण मिलाएर बनाउनुपर्छ भनेर भारतसँग पनि कुरा गरिसकेको छु," कोइरालाले थपे - "हिमाल जति एउटा प्रदेश, पहाड अर्को प्रदेश र तराई छुट्टै प्रदेश बनाउने कुराको म कल्पना पनि गर्दिन।"

कोइरालाले देशको राजनीतिक संरचना पनि वेलायती 'वेस्टमिनिस्टरियल' शैलीको हुनुपर्ने बताए। "मलाई 'पेसिडेन्टियल' संरचनामा विश्वास छैन," कोइरालाले भने। वेस्टमिनिस्टरियल शैलीमा जनताले चुनेको सं‌सदले कार्यकारी सरकार बनाउने गर्दछ र संसद सबैभन्दा शक्तिशाली हुन्छ।

माओवादीसहितका केही दलले नयाँ संविधानमा प्रस्ताव गरेको राष्ट्रपतीय प्रणालीमा जनताले निर्वाचनबाट कार्यकारी प्रमुख राष्ट्रपतिको सोझै चयन गर्छन्। कोइरालाले नेपाल जस्तो देशमा राष्ट्रपतीय प्रणाली लागु गर्दा राष्ट्रपति निरकुंश हुन सक्ने शंका यसअगाडि पनि व्यक्त गर्दै आएका छन्।

कोइरालाले दलहरुबीच सहमतिका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नुपर्नेमा जोड दिए। "माओवादीका नागरिक सर्वोच्चताका लागि चलेको आन्दोलन पनि राजनीतिक संयन्त्र नबन्दा आएको समस्या हो," कोइरालाले थपे, "एमाले, कांग्रेस, र माओवादी पार्टीभित्र आएका समस्या पनि संयन्त्र नबनेरै हो।"

कोइरालाले मंगलबार पत्रकार पुरुषोत्तम बस्नेतद्वारा लिखित 'नेपाली कांग्रेसको प्रारम्भिक इतिहास' पुस्तकको विमोचन गरेका हुन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by