ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

दशैंपछि माओवादी फेरि तात्ने


काठमाडौं, ५ असोज (दैनिकी)
एकीकृत नेकपा माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस मुख्य बाधक रहेको निष्कर्ष निकाल्दै निकाल्दै दसैंपछि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको विस्तारित बैठकले दसैंलगत्तै बैठक बसी आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको हो । बैठकपछि माओवादी नेता कुष्णबहादुर महराले गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस मुख्य बाधक रहेको निष्कर्ष निकालेको जानकारी दिए।
महराका अनुसार बैठकले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सम्बन्धमा कांग्रेस लिएको अडान परिवर्तन नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रिय पदाधिकारीहरुको बैठकले सो निष्कर्ष निकालेको हो। माओवादीले नागरिक सर्वोच्चताका लागि गरेको पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष समेत निकालेको छ।  यद्यपि गतिरोध अन्त्यका लागि प्रमुख तीन दलबीचको सहमतिको प्रयासलाई जारी राख्ने निर्णय माओवादीले राखेको छ। 

पार्टीको महाधिवेशनका लागि सदस्यता वितरण तथा नविकरणको प्रक्रिया शुरु गर्ने निर्णय समेत माओवादीले गरेको छ। माओवादीले आउँदो माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय यसअघिनै गरिसकेको छ।  बैठकले राजनीतिक गतिरोधका कारण मुलुक दलदलमा फस्दै गएको बताउँदै नेकपा एमालेलाई लचिलो बन्नसमेत आग्रह गरेको छ। कांग्रेसले राष्ट्रपतिलाई विवादमा ल्याउन नहुने भन्दै माओवादीले अघि सारेको संकल्प प्रस्तावमाथि संसदमा छलफल हुन नसक्ने अडान दोहोर्र्याउदै आएको छ।

यस्तै बैठकले पहिलो चरणको आन्दोलन तथा विभिन्न ठाउँमा पार्टीले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापालगायतका नेताहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by