ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

हेल्लो नेपाल मोबाइलले थाल्यो परीक्षण सेवा

काठमाडौं, असोज ८ (नागरिक)- नेपाल स्याटेलाइट टेलिकमले बिहीबारदेखि 'हेल्लो नेपाल' ब्राण्डमा सञ्चालन गरेको मोबाइलको पक्षण सेवा सुरु गरेको छ।देशको पाँचौ टेलिफोन सेवा प्रदायक कम्पनीका रुपमा यसले मोबाइल सुरु गरेको हो। मोबाइल टेलिफोनको परिक्षण उद्घाटन (सफ्ट लञ्च) देशका तीन ठूला दलका तीन नेताहरुले एक आपसमा कुराकानी गराएर भएको थियो। नेपाल स्याटेलाइटको उद्घाटनका लागि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रोल्पा पुगेका थिए। एमालेका महासचिव ईश्वर पोखरेल दाङको घोराही पुगेका छन्। 

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले महाराजगन्जस्थित आफ्नो निवासबाट दाहाल र पोखरेलसँग स्याटेलाइटको मोबाइलमा सम्पर्क गरेर कुराकानी गरेपछि नेपाल स्याटेलाइटको मोबाइल उद्घाटन भएको छ। यसले उपभोक्तालाई भने तिहारपछि मात्र मोबाइल टेलिफोन बाँड्ने जनाएको छ। रोल्पा पुगेका दाहालले ९६३१००००१० नम्बरको मोबाइलबाट महाराजगन्जमा रहेका कोइरालालाई ९८५१०२२१०० नम्बरको मोबाइलमा डायल गरेर कुराकानी गरेका थिए। दाङमा रहेका पोखरेलले ९६३१०००००१ नम्बरको मोबाइलबाट कुराकानी गरेका थिए। 

सुरुमा यो कम्पनीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा मोबाइल टेलिफोन बाँड्नेछ। त्यसपछि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा बाँडेर दुबै क्षेत्रमा माग अनुसार टेलिफोन दिइसकेपछि अरु विकास क्षेत्रमा सेवा सुरु गर्नेछ। यो कम्पनीलाई २०६४ फागुनमा टेलिफोन सेवा नपुगेका विकट ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको थियो। यसले 'हेलो नेपाल' ब्राण्डमा जिएसएम प्रविधिमा आधारित मोबाइल टेलिफोन सुरु गरेको छ। 

यो कम्पनीको सेवा उद्घाटनको लागि तीनजना उच्च पदस्थ पदाधिकाहरु तीनठाउँमा छरिएका थिए। कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी दाङमा, कार्यका निर्देशक अजेयराज सुमार्गी रोल्पा र निर्देशक अर्जुनप्रसाद शर्मा काठमाडौंमा थिए। 

'महसुल कति लिने भन्ने विषय अहिलेसम्म टुंगो नलागिसकेको भएपनि अन्य प्रतिस्पर्धीको भन्दा सस्तो हुनेछ,' निर्देशक शर्माले भने। अन्य दूरसञ्चार कम्पनीबाट अन्तरआवद्धता शुल्क तोकिएपछि ग्राहकबाट लिने शुल्क निर्धारण हुने शर्माले वताए। 

तीन नेताले नयाँ टेलिफोन कम्पनी नेपाल स्याटेलाइटको सफलताको लागि सुरुमा शूभकामना व्यक्त गरेका थिए। तीनैजनाले टेलिफोन सेवा नपुगेका विकट क्षेत्रमा विस्तार गरेर देशव्यापीलाई एक आपसमा जोड्न आग्रह गरेका थिए। कोइरालाल दाङमै रहेकी नेपाल स्याटेलाईट टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीलाई टेलिफोन मार्फत बधाई दिएका थिए। उनले नेपालका विकट क्षेत्रका निम्नस्तरका जनतासम्म सेवा प्रभावका बनाउन आग्रह गरेका थिए।

तीन नेताका बीचमा १५ मिनेटसम्म मोबाइलमा कुराकानी भएको थियो। यसको उद्घाटन कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी पनि रोल्पा पुगेका थिए। सञ्चार मन्त्रालयका सचिव सुशील घिमिरे र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेल पनि दाङ पुगेका थिए। यो कम्पनीले मध्यपश्चिमलाई आधार मानेर टेलिफोन विस्तार गर्नेछ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by