ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

पर्यटकहरू टेम्पोबाट पोखरा


पोखरा, २०६६ आश्विन १० - पर्यटन प्रवर्द्धन तथा सामाजिक संस्थाको सहयोगार्थ भारतको गोवाबाट हिँडेका साहसिक पर्यटक तीनपांग्रे टेम्पो -अटोरिक्सा) चढेर पोखरा आइपुगेका छन् । सेप्टेम्बर १३ मा हिँडेका उनीहरू करिब तीन हजार किलोमिटर पार गरी बुधबार पोखरा आएका हुन् । कुल ६१ मध्ये बुधबारसम्म सात टोली पोखरा आइपुगेका छन् भने अन्य शुक्रबारसम्म आइपुग्ने छन् ।  
'दि रिक्सा रन' नाम दिइएको अभियानमा १३ मुलुकका डेढ सय सहभागी छन् । साहसिक यात्राको माध्ययमबाट पर्यटन प्रवर्द्धन र सामाजिक सेवामा टेवा पुर्‍याउन बेलायतस्थित द लिग अफ एड्भेन्चरिस्ट सो आयोजनामा विशेष च्यारिटी अभियान भएको हो । सबै ठाउँ र अवस्थाको अवलोकन र अनुभव लिन साहसिक यात्रा गर्ने उद्देश्यले यो अभियान थालिएको अभियानका इन्चार्ज दार्जिलिङबासी निरज लामाले बताए ।  

यात्रामा सहभागीले ३ हजार किलोमिटरको दूरीमा धेरै स्थानको दृश्यावलोकन र स्थानीयवासीसँग अन्तरक्रिया गरी धेरै अनुभव बटुल्न पाएको बताए । 'रिक्सामा आउँदा निकै रमाइलो भयो,' सहभागी बेलायती नागरिक जोन स्विङलरले भने, 'नेपाल निकै रमाइलो रहेछ, यहाँको हरियाली र स्थानीयको स्वागतले धेरै खुसी बनायो ।' जहाज वा अन्य ठूला सवारी चढेर आएको भए आफूहरूले कुनै अनुभव लिन नसक्ने उनीहरूको भनाइ थियो । उनीहरू काकडभिट्टा र सुनौली नाका हुँदै नेपाल भित्रिएका थिए । 
उनीहरू पोखरा र आसपासका क्षेत्रमा घुम्न जानेछन् । उनीहरूले चलाएर ल्याएका रिक्सा तीन महिनासम्म राख्ने र आगामी जनवरीमा पोखराबाट फेरि अर्को टोली आएर भारतको केरला लैजानेछन् ।   पर्यटन बोर्डका निर्देशक आदित्य बराल 'रिक्सा रन अभियान' लाई नेपाल पर्यटन वर्ष २०११ को अभिन्न अंगका रूपमा विकसित गर्नुपर्ने बताउँछन् । 'यस्तो कार्यक्रमले पर्यटन प्रवर्द्धनमा निकै सहयोग पुग्नेछ,' बरालले भने । अभियानका लागि पर्यटन बोर्ड साझेदारी संस्था रहेको र संागि्रला टुर्सले नेतृत्व गरेको छ ।

सबै टोलीबाट न्यूनतम ६० हजार पाउन्ड संकलन गर्ने र त्यसको आधा रकम मानव बेचबिखनविरुद्ध काम गर्दै आएको माइती नेपाल तथा भारतको प|m्यांक वाटर प्रोजेक्टलाई प्रदान गर्ने कार्यक्रम रहेको इन्चार्ज लामाले जानकारी दिए । 'प्रायः सबै पर्यटक घुमेपछि आनन्द लिएर फर्किन्छन् मात्र,' लामाले भने, 'तर यो अभियानले भने सामाजिक क्षेत्रमा पनि सहयोग गर्ने उद्देश्य राखेको छ ।' सहभागी व्यावसायिक चालक नरहेका र व्यक्तिगत इच्छाले अभियानमा सहभागी भएका हुन् । पोखरा पर्यटन परिषदका अध्यक्ष बच्चुराम तिवारी र पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्द पहारीले रिक्सा रनले पोखरालाई अन्तराष्ट्रिस्तरमा चिनाउन र यहाँको पर्यटन प्रवर्द्धनमा निकै सहयोग पुग्ने बताउँछन् ।
 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by