ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

५० करोडको च्याङ्ग्राको कारोबार


विजय नेपाल/पोखरा, ४ असोज
पोखरा र यसपासमा यसपटक ५० करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको कारोबार हुने अनुमान गरिएको छ। दशैको लागि भनेर हिमालपारीका जिल्ला मुस्ताङलगायत डोल्पा, हुम्ला र नेपाल(चीनको नाकाबाटसमेत भेडाच्याङग्रा पोखरा भित्रिने क्रम सुरु भएको छ। यसवर्ष दशैको आसपासमा ५० हजार वटा भेडाच्याङग्रा यहाँ ल्याइपुर्याइने ब्यापारीहरु बताउँछन्।
च्याङग्रा ब्यापारी विरसकुमार राई भन्छन-"यसपटक मुस्ताङलगायतबाट ४०/५० हजार वटा च्याङग्रा भित्रिने छन्।" मुस्ताङको छुसाङबाट पाँच दिन लगाएर आइतबार दिउँसो कास्कीको हेम्जामा दुई सय २० वटा च्याङग्रा ल्याइपुर्याएका राई एक्लैले ती च्याङग्रा खरिदका लागि १६ लाख रुपैयाँ खर्चिएको सुनाए। यसपटक एउटा च्याङग्राको मूल्य बढीमा ११ हजारसम्म पर्छ।
गतवषैको तुलनामा योवर्ष पोखरामा दोब्बर बढी च्याङग्रा भित्रिने भएका हुन्। परिणाममा बृद्धि हुँदा च्याङग्राको मासु यसपालिको दशैमा पर्याप्त हुने ब्यापारीहरुको विश्वास छ। गतवर्ष छिमेकी देश चीनमा भएको ओलम्पिक खेलका कारण नेपाल(चीनबीचको नाका समयमा नखुल्दा गतवर्ष यहाँ २० हजारमात्र च्याङग्रा भित्रिएको तथ्यांक छ। तर यसपाली च्याङग्राको संख्यामा बृद्धि हुँदा कारोबारमा समेत बढोत्तरी आउने भएको हो। मुस्ताङमा च्याङग्रा सस्तोमा पाइने भए पनि पोखरा ल्याइँपुर्याउँदा यसको मूल्यबृद्धि हुने ब्यापारी बताउँछन्। पोखराको छिमेकी हेम्जा गाविसको हेम्जाबगरमा २ सय थान च्याङग्रा चराउँदै गर्दा भेटिएका पोखरा मासबारका च्याङग्रा ब्यापारी प्रकाश बरालले आफूले करिब एकदर्जन ठाउँमा विभिन्न नाममा कर बुझाएको बताए। करिब १८ किलो हाराहारीका समान तौलका च्याङग्राहरु मार्फा, तातोपानी, घोरेपानीहुँदै पोखरासम्म ल्याइपुर्याउन ठाउँठाउँमा विभिन्न नाममा कर तिर्नुपर्ने बाध्यता ब्यापारीमा छ। बरालका अनुसार उनले सम्बन्धित जिल्ला विकास समिति, स्थानीय आमा समूह, क्लब, विद्यालयलगायतमा गरी करिब १९ हजार रुपैयाँ कर तिरेका छन्।
उच्चभेगमा जडिबुटी खाएर हुर्केका भेडाच्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दशैमा पोखरामा भेडाच्याङ्ग्राको माग वर्षेनी बढ्दो छ। कास्कीका विभिन्न भाग लगायत, स्याङजा, तनहूँ, लमजुङ, पर्वतका मानिसहरु च्याङग्रा खरिदका लागि पोखरा आउने गर्दछन्। करलगायतका अन्य बस्तुहरुमा पछिल्लो समय भएको मूल्यबृद्धिले भने गतवर्षभन्दा यसपटक च्याङग्रा खरिदका लागि चर्को शुल्क तिर्नुपर्ने ग्राहकमा बाध्यता भने अद्यापि छ।
विशेषगरी दशैको सप्तमीसम्म पोखरामा च्याङग्राको बिक्री बढी हुन्छ। त्यसको लागि पोखराको सिम्पानीस्थित पुरानो टुँडिखेलमा भेडाच्याङग्रा ब्यवस्थापनका लागि खोर निर्माणकार्य जारी छ। च्याङ्ग्रा भित्रिएको थाहा पाएपछि १२ किलोमिटर मोटरबाटो पार गरेर उत्तरी दिशा हेम्जा र ढिकुरपोखरीको सीमा लेवाडे पुगेका पोखरा लामाचौरका शिव भण्डारी च्याङग्राको बथानमा हेलिदै च्याङग्रा छान्दै गर्दा भने, “वर्ष दिनमा आउने दशैमा च्याङग्राको मासु त खानै पर्यो।”


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by