ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

मध्य तथा सुदूरपश्चिममा भोकमरी ; अक्षता बनाउने चामल पनि छैन


गणेश कार्की /सुर्खेत ५असोज

वर्षेनी भोकमरीको चपेटमा पर्दै आएका मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा यो वर्ष पनि चाडवाडको मुखैमा फेरि खाद्यान्न संकट परेको छ । खडेरीले मकै, आलु, फापर,र कोदोलगायतको बालीनाली नभएपछि कालिकोटमा यो वर्ष छिटै खाद्यान्न अभाव सुरु भएको हो । पाँखा, दाँहा, छाप्रे, थिर्पू राम्नाकोट, नानीकोट, वदालकोट, फुकोट, फोइमहादेव, राँचुली र गेला लगायतका गाउँ विकास समितिहरुमा खाद्यान्न संकट देखा परेको छ ।

दशैं आँगनमा आइसक्दा पनि घरमा खाने अन्न त परै जाओस अक्षता बनाउने चामल समेत नभएको पाँखा-५ का अम्मरे दमाइले गुनासो गरे । उनका अनुसार अहिले खाद्यान्नको खोजिमा सदरमुकाम मान्मलगायत, जिते, हुल्मलगायतका ठाउँमा जानेहरुको घुँइचो लाग्ने गरेको छ । राँचुली-४ का ऐनबहादुर शाहीले घरमा केही पनि अनाज नहुँदा घटस्थापनाको दिन जमरासम्म राख्न नपाएको दुखेसो पोखे । यातायातको समस्याले गर्दा थिर्पू, पात्मघाट, खल्लागाड, डिपोमा चामल अभाव भएको कालिकोट खाद्य संस्थानका निमित्त प्रमुख प्रेमकुमार ठकुरीले जानकारी दिए ।यसैगरी एक महिनादेखि खाद्यान्न संकट भोग्दै आएका बाजुराका पूर्वोत्तर भेगका ११ गाउँ विकास समितिका वासिन्दाले भोकै पेटमा दशैं मान्नुपर्ने समस्या आइपरेको छ ।

जिल्ला खाद्य व्यवस्था समितिले स्थानीयस्तरबाट भएका सबै प्रयास असफल भएकाले दशैंअघि चामल पुर्याउन नसकिने बताएपछि यस्तो समस्या आएको हो । चामल ढुवानीको जिम्मा पाएकाहरुले सम्झौताअनुसार समयमै ढुवानी नगरेकाले समस्या भएको खाद्य संस्थान बाजुराका प्रमुख अमरबहादुर चन्दले बताए। ठेकेदारहरुले अछामको साँफेवगरदेखि बाजुरा पुग्ने खच्चड बाटो बिग्रिएको भन्दै समयमा ढुवानी नगरेको र एयरलाईन्सहरुले पनि ढुवानी गर्न नमानेको उनले जानकारी दिए।


राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले भने खाद्य संस्थानका प्रमुख र प्रमुख जिल्ला अधिकारीको अभिव्यक्ति गैरजिम्मेवार भएको आरोप लगाएका छन् । सामान्य अवस्थामा समेत घरेलु उत्पादनले तीन महिनाभन्दा बढी छाक नटर्ने त्यस क्षेत्रका बासिन्दाहरु धेरैजसो खाद्य संस्थानकै चामलमा भर पर्ने गर्छन  यो वर्ष हिउँदे उत्पादन ८० प्रतिशत घटेकाले एक महिना यता भरपेट खान नपाइएको गाउँलेको गुनासो छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by