ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान


काठमाडौं, असोज ५ (नागरिक) - प्रधानमन्त्री माधवकुमार नेपाल ६४ औं राष्ट्रसंघीय महासभामा भाग लिन आइतबार राती न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। अढाई दर्जन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गरी गएका उनले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दीका कारण नेपाल लगायत अतिकम विकसित देशले भोग्नु परेका विविध समस्याबारे धारणा राख्नेछन्।
प्रधानमन्त्री नेपाल आउँदो मंगलबार राष्टसंघीय महासचिव बान कि मुनले विश्वका नेताहका निम्ति आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन्।

महासभाका दौरान अमेरिकी राष्ट्रपति बाराक ओबामाको नियमित 'रिसेप्सन'का अतिरिक्त उनले आयोजना गर्ने शान्ति सेनासम्बन्धी विशेष गोलमेचमा सहभागी हुनेछन्। शान्ति सेनामा सहयोग गर्ने प्रमुख १० राष्ट्रका राज्य तथा सरकार प्रमुखबीच ओबामाले गोलमेच आयोजना गर्न लागेका हुन्।
प्रधानमन्त्रीले विश्वशान्तिमा नेपालले साँढे पाँच दशकदेखि पुर्‍याउँदै आएको योगदानको चर्चा गर्ने परराष्ट्र प्रवक्ता मदन भट्टराईले बताए। राष्ट्रसंघीय छातामुनी रहेर शान्ति सेना पठाउने १ सय १८ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा पर्छ। महासचिव बानले आयोजना गर्ने 'जलवायु परिवर्तनसम्बन्धी विश्वनेताहरूको सम्मेलनमा प्रधानमन्त्रीले 'विश्वव्यापी ताममान बृद्धिले हिमश्रृंखलामा देखिएका असर र त्यसले पार्ने असरबारे' धारणा राख्नेछन्। उनले यसका कारण नेपालजस्ता देशले भोग्नुपर्ने चुनौति सामानाका लागि धनी राष्ट्रहरूलाई सहयोगका निम्ति ध्यानाकर्षण गर्नेछन्।


विश्वका औद्यौगिक राष्ट्रले उत्सर्जन गरेको हरितगृह ग्याँसका कारण विश्वताममान निरन्तर बढिरहेको छ। यसको असर स्वरूप हिमश्रृंखला पग्लिँदै गएको छ भने, हिमतालहरू बढेर फुट्ने र त्यसले ठूलो मानविय संकट निम्त्याउने लगायत खतरा देखिएको छ। ताममान वृद्धिकै कारण अति वर्षा र खडेरीका कारण खाद्य संकट निम्तिँदै गएको छ। नेपालजस्ता कम विकसित देशह यी समस्याका कारक नभए पनि यसबाट सबभन्दा असुरक्षित भएको उनले बताउनेछन्।




प्रधानमन्त्री नेपाल प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले हरेक वर्ष आयोजना गर्ने 'विश्व नेताहरूको फोरम' बैठकमा किनोट भाषण दिनेछन्। बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन र विश्व बैंकका अध्यक्ष रोवर्ट जुलिकले संयुक्त रूपमा आयोजना गर्ने विश्वस्वास्थ्यसम्बन्धी कार्यक्रममा उनले मातृ र बालमृत्यु दर न्यूनीकरणमा नेपालको उपलब्धी र चुनौतिबारे प्रष्ट्याउनेछन्।
नेपालले श्रीलंका र बंगलादेशी समकक्षी क्रमशः रत्नश्री विक्रमानायके र शेख हसिनासँग 'साइडलाईन' वार्ता गर्नेछन्। सिंगापुरका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने बताइएको छ। अन्य केही देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्रीको भेटवार्ताका लागि न्यूयोर्कस्थित नियोगले समन्वय गरिरहेको छ।असोज १० मा महासभालाई करिब १५ मिनेट सम्बोधन गरेपछि प्रधानमन्त्री स्वदेश फर्किनेछन्। उनी असोज १२ मा यहाँ आइपुग्नेछन्।
भ्रमण दलमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, परराष्टमन्त्री सुजाता कोइराला, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र सचिव सुधा शर्मा, परराष्ट्र सचिव, शिष्टाचार प्रमुख, प्रधानमन्त्रीका सल्लाहकार, स्वकिय सचिव, अंगरक्षक, परराष्ट्रमन्त्रीका सल्लाहकार, स्वकिय सचिवलगायत हुनेछन्। मन्त्री कोइरालाले महासभाका दौरान कम विकसित राष्ट्रहरूको समूह, भुपरिवेष्टिक विकासोन्मुख मुलुकहरूको समूह (एलएलडिसी) र सार्क मन्त्रीस्तरीय वैठकहरूमा भाग लिनेछिन्। उनी प्रधानमन्त्री नेपालभन्दा पाँच दिनपछि असोज १७ मा मात्रै नेपाल फर्किनेछिन्।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by