ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

न्युयोर्कमा प्रधानमन्त्रीलाई अवसरै अवसर

 लेखनाथ पाण्डे, काठमाडौं, असोज ४- 
स्वदेशमा राजनीतिक गतिरोध अन्त्य गर्न 'असमर्थ' रहेको आरोप खेपिरहेका प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघीय महासभामा भने राम्रो 'एक्पोजर' पाउने भएका छन्। ६४ औं महासभाका बेला उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाको नियमित 'रिसेप्सन' मा सहभागी त हुने नै छन्।सुरक्षा परिषद्को रोलक्रम अनुसार अध्यक्षता गरिरहेको अमेरिकी राष्ट्रपतिले मंगलबार आयोजना गर्ने शान्ति सेनासम्बन्धी विशेष गोलमेचमा सहभागी हुनेछन्। शान्ति सेनामा सहयोग गर्ने
प्रमुख १० राष्ट्रका राज्य तथा सरकार प्रमुखबीच ओबामाले गोलमेच गर्न लागेका हुन्।
'प्रधानमन्त्रीले विश्वशान्तिमा नेपालले साढे पाँच दसकदेखि पुर्‍याउँदै आएको योगदानको चर्चा गर्नुहुनेछ' परराष्ट्र प्रवक्ता मदन भट्टराईले भने। राष्ट्रसंघीय छातामुनी रहेर शान्ति सेना पठाउने १ सय १८ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा पर्छ। तीन हजारभन्दा बढी नेपाली सुरक्षाकर्मी हाल खटिएका छन्।


३० सदस्यीय नेपाली प्रमण्डलको नेतृत्व गर्दै आइतबार राति न्युयोर्कतर्फ प्रस्थान गर्दे छन् प्रधानमन्त्री। उनले राष्ट्रसंघीय महासचिव बान कि मुनले आयोजना गर्ने 'जलवायु परिवर्तनसम्बन्धी विश्वनेताहरूको सम्मेलनमा 'विश्वव्यापी ताममान बृद्धिले हिमशृंखलामा देखिएका असर र त्यसले पार्ने असरबारे' धारणा राख्नेछन्। उनले यसका कारण नेपालजस्ता देशले भोग्नुपर्ने चुनौति सामानाका लागि धनी राष्ट्रहरूलाई सहयोगका निम्ति ध्यानाकर्षण गर्नेछन्।


विश्वका औद्यौगिक राष्ट्रले उत्सर्जन गरेको हरितगृह ग्याँसका कारण विश्वताममान निरन्तर बढिरहेको छ। यसको असर स्वरूप हिमशृंखला पग्लिँदै गएको छ भने, हिमतालहरू बढेर फुट्ने र त्यसले ठूलो मानविय संकट निम्त्याउने लगायत खतरा देखिएको छ। ताममान वृद्धिकै कारण अति वर्षा र खडेरीका कारण खाद्य संकट निम्तिँदै गएको छ।'हामी यी समस्याका कारक हुँदै होइनौं,' प्रधानमन्त्रीका सम्मेलनका क्रममा भन्नेछन्, 'तर, यसबाट सबभन्दा बढी असुरक्षित हामी छौं।'




तिब्बतियन प्लेटु मुहान बनाएर बग्ने हिमदनीहरूमा देखिने मौसमी उतारचढावले त्यहाँको पानीमा आश्रीत दक्षिण एसियाका झण्डै १ अर्ब जनता प्रत्यक्ष प्रभावित हुनेछन्। हिमशृंखला पग्लिँदा हिमताल फुटेर बाढी आउनाका साथै समुद्री सतह पनि बढेर मानविय संकट निम्तिने खतरा छ। 'जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणाबारे प्रधानमन्त्रीको पहिल्यै रेकर्ड गरिएको ३ मिनेट लामो भाषण राष्ट्रसंघ पठाइसकिएको छ' परराष्ट्रका एक अधिकारीले भने।


प्रधानमन्त्री नेपाल प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले हरेक वर्ष आयोजना गर्ने 'विश्व नेताहरूको फोरम' बैठकमा किनोट भाषण दिनेछन्। हरेक वर्ष विश्वका एकमात्र नेतालाई चयन गरिने कार्यक्रममा यसपटक नेपालका प्रधानमन्त्री छनोट भएका हुन्। गत वर्ष इरानका राष्ट्रपति मोहमद अहमदिनेजादले 'किनोट भाषण' गरेका थिए। सम्मेलनकै दौरान बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन र विश्व बैंकका अध्यक्ष रोवर्ट जुलिकले संयुक्त रूपमा आयोजना गर्ने विश्वस्वास्थ्यसम्बन्धी कार्यक्रममा सहस्राब्दी विकास लक्ष्य पूरा गर्न नेपालले गरिरहेको प्रयास र चुनौतीबारे प्रष्ट्याउने छन्। उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र सचिव सुधा शर्माले भाग लिनेछन्।


प्रधानमन्त्री नेपालले श्रीलंका र बंगलादेशी समकक्षी क्रमशः रत्नश्री विक्रमानायके र शेख हसिनासँग 'साइडलाइन' वार्ता गर्नेछन्। सिंगापुरका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने बताइएको छ। अन्य केही देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्रीको भेटवार्ताका लागि न्युयोर्कस्थित नियोगले समन्वय गरिरहेको छ। असोज १० मा महासभालाई करिब १५ मिनेट सम्बोधन गरेपछि प्रधानमन्त्री स्वदेश फर्किनेछन्। उनी असोज १२ मा यहाँ आइपुग्नेछन्। महासभामा उनले जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक संकटलगायत नेपालजस्ता अतिकम विकसित, भूपरिवेष्टित देशले भोग्नुपरेका चुनौती सामना गर्न विश्वनेताहरूको ध्यानाकर्षण गराउनेछन्। यसैबीच, प्रधानमन्त्री नेपालले शुक्रबार साँझ राष्ट्रपति रामवरण यादवलाई आफ्नो भ्रमण एजेण्डाबारे जानकारी गराएका छन्।


प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला र उनले नेतृत्व गर्ने ६ सदस्यीय प्रमण्डल पनि न्युयोर्क जाँदैछ। मन्त्री कोइरालाले महासभाका दौरान कम विकसित राष्ट्रहरूको समूह 'जी-७७' भुपरिवेष्ठित विकासोन्मुख मुलुकहरूको समूह (एलएलडिसी) र सार्क मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनेछिन्। उनी प्रधानमन्त्री नेपालभन्दा पाँच दिनपछि असोज १७ मा मात्रै नेपाल फर्किनेछिन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by