ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

वीर अस्पतालको क्याबिन मन्त्रीका पिएको गेस्टहाउस

image
पिसाब रोकिएका बिरामीलाई वीर अस्पतालले बेड छैन भन्दै निकालेपछि गेटको चिसो भुइँमा कुर्दै छन् विवश बाबु (बायाँ) । तर, स्वास्थ्यमन्त्रीका स्वस्थ पिए क्याबिनलाई गेस्टहाउस बनाएर ताला ठोकेर हिँडेका छन् । तस्बिर: न्हुच्छेमान डंगोल









bir-hospital-closed-room by you.

अर्जुन पौडेल/नयाँ पत्रिका
काठमाडौं, ५ असोज



पिसाब रोकिएका बिरामी बेड नपाएर वीर अस्पतालको गेटमा लडिरहेका छन्, तर स्वास्थ्यमन्त्रीका पिएले वीर अस्पतालको क्याबिनलाई गेस्टहाउस बनाएर मोज गरिरहेका छन् । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीका पिए मदनकुमार मण्डललाई साथीभाइसँग रमाइलो गर्न मन लाग्यो । गेस्टहाउसमा त पैसा तिर्नुपर्छ, त्यसैले उनले वीर अस्पताल प्रशासनसँग चाबी मागेर आरामसँग बसिरहेका छन् । मण्डलले वीर अस्पतालको नाक, कान घाँटी(इएनटी) विभागको क्याबिन नं. १३ मा १२ दिनदेखि कब्जा जमाइरहेका छन् । उनी दिनभर मन्त्रीसँग हिँड्छन् । कहिले मन्त्रीनिवासमा बस्छन्, थप रमाइलो गर्न मन लागे वीर अस्पतालको क्याबिनमा आउँछन् ।
अस्पतालका निर्देशकले समेत बेड छैन भनेपछि चितवन जुगेडीका बिरामीलाई आफन्तले चार दिनदेखि अस्पताल गेटको चिसो भुइँमा राखेर डाक्टरको दया पर्खिरहेको समाचार नयाँ पत्रिकाले सोमबार छापेको थियो । तर, सर्वसाधारण जनता गेटमा सुत्नुपर्ने वीर अस्पतालमा मन्त्रीका पिए भने क्याबिन कब्जा गरेर रमाइलो गर्छन् । मण्डल टाउको दुख्यो भन्दै अस्पताल आएर क्याबिनमा बसेका थिए । तर, उनले अहिलेसम्म कुनै पनि डाक्टरलाई देखाएका छैनन् । अस्पतालले तपाईंलाई केही पनि भएको छैन भन्दै डिस्चार्ज गर्दा पनि मण्डलले क्याबिन छाडेका छैनन् । 'खोइ, उहाँलाई त अस्पतालमा बस्ने कुनै रोग छैन, घर जानोस् भनिसकेका छौँ, तर क्याबिन छाड्नुभएको छैन,' इएनटी विभागकी नर्स लक्ष्मी हमालले भनिन् ।
नयाँ पत्रिका समाचारदाता सोमबार साँझ वीर अस्पतालको इएनटी विभागको क्याबिनमा पुग्दा मण्डलको क्याबिनमा ताला झुन्डिएको थियो । बिरामी भएको क्याबिनमा सकेसम्म कुरुवा हुन्छन्, नभए बिरामी त अवश्य हुन्छन् । तर, मण्डल मन्त्रीसँगै कतै घुम्न गएका थिए । चाबी खल्तीमा हालेर बजारतिर हिँड्ने 'बिरामी' देखेर नर्स पनि छक्क परेका छन् । 'घर जानोस् भन्दा पनि जानै मानिरहनुभएको छैन, साँचो आफैं लगेर बाहिर जानुहुन्छ, के हो थाहै भएन,' नर्स हमालले भनिन् ।


मन्त्रीका पिए साथीहरूसहित राति-राति आउँछन् र हल्ला गरेर वरपरका बिरामीलाई समेत हैरान पार्छन् । वार्डका अन्य बिरामीले मण्डलले मदिरा सेवन गरी होहल्ला गरेको उजुरीसमेत गरेका छन् । इएनटी विभागको १५ नम्बर क्याबिनमा उपचार गराइरहेका विराटनगरका बिरामी नवीन रिमालले १३ नम्बर क्याबिनको ढोका दिनमा खुलेको नदेखेको बताए । 'दिनभरि त ढोका बन्द हुन्छ, कस्ता बिरामी हुन् थाहा भएन,' उनले भने ।


मन्त्रीका पिए मण्डल क्याबिनमा बसे पनि अस्पताललाई शुल्क बुझाएका छैनन् । ज्यानै जान लागेका बिरामीसँग अस्पतालले धरौटी मागेर अपरेसनसम्म रोक्छ, तर मस्ती गर्न आएका मन्त्रीका पिएसँग अस्पताल प्रशासनले धरौटी पनि मागेको छैन ।


तर, चार दिनदेखि अस्पतालको गेटमा लडिरहेका चितवनका होमबहादुर गुरुङलाई अस्पतालले बेड छैन भन्दै सोमबार पनि भर्ना गरेको छैन । बिहानै टिकट काटेर ओपिडीमा लाइनमा बसेका गुरुङले दुई बजेसम्म बस्दा पनि जचाउन सकेका थिएनन् । 'हजुर बिहानदेखि ओपिडीको टिकट काटेर लाइनमा बसे पनि अझै जचाउन सकिएको छैन,' गुरुङका दाजु मोहनले भने, 'केही खाएको पनि छैन, जाँच्नलाई डाक्टर पनि आएका छैनन् ।' पिसाब रोकिएका बिरामीलाई अस्पताल प्रशासनले ओपिडीमा लाइनमा लाग्न 'आदेश' दिएको थियो ।





No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by