ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

भन्साररहित प्रवेशका लागि पहल गर्न सुझाव

काठमाडौ, २०६६ आश्विन ५ - प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमणका क्रममा सिनेटमा पेस भएको तयारी पोसाकको भन्साररहित प्रवेशलाई पारित गर्न पहल हुने अपेक्षा गरिएको छ । भ्रमण दलमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले यसबारे पहल गरिने जानकारी दिइन् । 'भन्सार रहित सुविधाका लागि हामी सक्दो प्रयास
गर्नेछौं,' उनले भनिन् ।


गत मे २१ मा अमेरिकाका सेनिटरद्वय डायन फेनिस्टिन र किट बोन्डले नेपाल लगायत १४ अतिकम विकसित मुलुकका तयारी पोसाकहरूलाई अमेरिकामा प्रवेश दिन विधयेक पेस गरेका थिए । 
यो भ्रमणबाट केही सफलता प्राप्त गर्न सकिनेमा व्यवसायीहरू प्ानि आशावादी छन् । परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले भ्रमणका क्रममा तयारी पोसाकको भन्सार रहित प्रवेश एक एजेन्डा नै रहेको बताएको तयारी पोसाक संघका उपाध्यक्ष उदय पाण्डेले जानकारी दिए । 'यसमा केही प्रगति हुनेमा हामी आशावादी छौं,' पाण्डेले भने ।
सिनेटमा विधेयक पेस भएलगत्तै नेपाली व्यवसायीले यसबारे लबिङ सुरु गरेका थिए । तर जुनमा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेकले आर्थिक मन्दीका कारण तत्काल सम्भव नभएको बताएपछि केही निराशा छाएको थियो । 
प्रधानमन्त्रीको भ्रमणलगायत संघले अन्य तवरबाट पनि अमेरिकामा लबिङ गर्नुपर्ने राय व्यवसायीको छ । आगामी नभेम्बरमा वाणिज्यमन्त्रीसहित व्यवसायी अमेरिका जाने तयारीमा रहेको पाण्डेले बताए । 'हामी त्यसबेला सिनेटरहरूलाई भेट्ने प्रयास गर्नेछौं,' उनले भने, 'परराष्ट्र मन्त्रालय र अमेरिकास्थित नेपाली दूतावासमार्फत यसबारे प्रयास भइरहेको छ ।'
अमेरिका नेपाली तयारी पोसाकको ८० प्रतिशत बजार हो । सन् २००३ यता नेपाली उत्पादनले त्यहाँ बजार गुमाउँदै गइरहेको छ । यस अवधिमा निर्यात करिब ८५ प्रतिशतले घटिसकेको छ । यो विधेयक पास भएमा नेपाली उत्पादन करिब १७ प्रतिशत सस्तो हुन गई बजार बढ्ने अपेक्षा व्यवसायीहरूको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by