ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

इन्टरनेसनल डेभलपमेन्ट बैंकको कारोबार सुरु



नयाँ पत्रिका

काठमाडौं, ४ असोज

नेपाल राष्ट्र बैंकबाट हालै सञ्चालन अनुमति पाएको इन्टरनेसनल डेभलपमेन्ट बैंकले आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राजधानीको टेकुस्थित अम्बे कम्लेक्समा प्रधान कार्यालय रहेको बैंक राष्ट्रिय स्तरको बाह्रौं विकास बैंक हो । दुई अर्ब अधिकृत पुँजी र ६४ करोड जारी पुँजी भएको बैंकको चुक्ता पुँजी ४४ करोड ८० लाख रुपैयाँ छ ।



अर्थमन्त्री सुरेन्द्र पाण्डेले आइतबार बैंक उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्रीले निरन्तर खुलिरहेका बैंक तथा वित्तीय संस्थाले मुलुकमा बढ्दै गएको आर्थिक गतिविधिलाई संकेत गरेको बताए । 'हामी लामो समय राजनीतिक उद्देश्य प्राप्तिमा अलमल पर्‍यौं,' उनले भने, 'अबको समय आर्थिक उन्नतिको भएकाले मुलुक विस्तारै सो दिशामा अग्रसर हुन थालेको छ ।' उनले सरकार निजी तथा व्यावसायिक क्षेत्रको नियामक मात्र नभई प्रवर्द्धक हुने जानकारी दिए ।


व्यक्तिले गलत व्यवस्थापन गरी संस्था डुबाउने र सरकारले क्षतिपूर्ति तिरिदिने परिपाटी अन्त्य गर्नुपर्ने उनले बताए । 'नेपाल विकास बैंक खारेज गर्ने निर्णय राष्ट्र बैंकले गरेपछि केही सर्वसाधारण निक्षेपकर्ता मर्कामा पर्‍यौं, सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्दै हामीकहाँ आएका थिए,' उनले भने 'त्यस्तो प्रवृत्ति दोहोरिनुहुँदैन ।' घुमाउरो बाटोबाट प्रवर्द्धकले नै ऋण लिएर संस्था डुबाउने खेल जारी राखे बैंक तथा वित्तीय संस्था समस्यामा पर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले राम्रो व्यावसायिक वातावरण नहुँदा पनि बैंकहरूले प्रगति गर्नु सन्तोषजनक रहेको बताए । नेपाल बैंकर संघका अध्यक्ष शशिन जोशीले बैंकिङ क्षेत्रको प्रतिस्पर्धाले खतरा संकेत गरेको बताए । 'बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्याले अस्वस्थ प्रतिस्पर्धा हुने हो कि भन्ने आशंका बढेको छ,' उनले भने, 'लगानीयोग्य वातावरण अभावमा विगतजस्तो सहज नाफा हुने स्थिति अहिले छैन ।' गत वर्षको अपरिष्कृत विवरणअनुसार मुलुकका सबै वाणिज्य बैंकहरूले लगानीका आधारमा १९ प्रतिशत मात्र कमाइ गरेको उनले बताए । विकास बैंक संघका अध्यक्ष झपट बोहराले संस्थागत सुशासनलाई व्यवसायको आधार बनाए सफलता प्राप्त गर्न कुनै कठिनाइ नहुने बताए । बैंक अध्यक्ष माधवप्रसाद भट्टले बैंकको नाम पछाडि जोडिएको विकास शब्दलाई चरितार्थ गर्न प्रतिबद्ध रहेको बताए ।

बैंकले पाँच वर्षभित्र ५० शाखा र दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । आगामी पुसभित्रै ५ शाखा खोल्ने उनले बताए । बैंकले स्थापनादेखि नै एसएमएस बैंकिङ तथा एटिएम सेवा सुरु गरेको छ । १९ भदौदेखि अनौपचारिक कारोबार सुरु गरेकोमा हालसम्ममा १० करोड निक्षेप र ४० करोड कर्जा प्रवाह गरेको उनले जानकारी दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by