ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

एटीएमबाट झिक्न मिल्ने पैसा बढ्यो

काठमाडौं, असोज ८ (नागरिक)-
एक सातायताको चरम नोट अभाव बिहीबार केही मथ्थर भएको छ। राष्ट्र बैंकले ६० करोड रुपैयाँ प्रवाह गरेकाले अभाव केही कम भएको हो। पूर्व गभर्नर तिलकबहादुर रावलको हस्ताक्षरका पूर्व राजाको तस्बिर भएका सामान्य त्रुटिपूर्ण नोट पनि बिहीबारदेखि बजारमा आएका छन्।  बुधबार अर्थ मन्त्रालयमा बसेको बैठकले ९४ करोड रुपैयाँ बराबरको यस्ता नोट प्रचलनमा ल्याउने निर्णय गरेको थियो।



राष्ट्र बैंकका अधिकारीले बिहीबार थप ४० करोड नोट काठमाडौं आइपुग्ने र यो पनि शुक्रबार वितरण गरिने जनाएका छन्। एक सय दरका यी नोटमध्ये २१ करोड काठमाडौंमा, १५ करोड पोखरा र बाँकी वीरगञ्ज पठाइने ती अधिकारीले बताए।


वाणिज्य बैंकहरुले बिहीबार नोट व्यवस्थापन केही सजिलो भएको बताए। राष्ट्र बैंकले पनि पहिलेभन्दा थप नोट उपलब्ध गराएको वाणिज्य बैंक अधिकारीले जानकारी दिए। बुधबार वाणिज्य बैंकलाई २०/२० लाखका दरले नोट दिइएको थियो। बुधबार नै केही वाणिज्य बैंकले देशका विभिन्न शाखाबाट काठमाडौंमा नोट ल्याएका थिए। नोटको उपलब्धता केही बढेसँगै केही वाणिज्य बैंकले एटीएमबाट झिक्न सकिने पैसाको सीमा पनि बढाएका छन्। नेबिल बैंकले बिहीबार एटिएमबाट एक पटकमा ५ हजार रुपैयाँ झिक्न सकिने सीमा निर्धारण गरेको छ। यसअघि यो सीमा ३ हजार ५ सयमात्र थियो।


नोट अभावबारे बिहीबार पनि राष्ट्र बैंक र वाणिज्य बैंकका उच्च अधिकारीबीच छलफल भएको थियो। गभर्नर विजयनाथ भट्टराईले डाकेको छलफलमा वाणिज्य बैंकहरुले नोट अभाव टार्न एक आपसमा मिलेर काम गर्ने सहमति जनाएका थिए। कुनै बैंकको शाखामा पर्यात नोट छ भने नकिजैको अर्को बैंक शाखालाई पनि दिन उनीहरु सहमत भएका छन्। छलफलमा २६ मध्ये १२ बैंकले तत्काल १० करोड रुपैयाँ बराबरको नोट आवश्यक भएको जानकारी दिएका थिए। बाँकी १४ बैंकले भने २० करोड आवश्यक रहेको जानकारी दिएका थिए।


दशैंपछि नोट अभाव हट्ने राष्ट्र बैंकको दाबी छ। दशैंलगत्तै एक सय दरका ४० करोड नोट नेपाल आउँछ। साढे १५ अर्ब रुपैयाँ बराबरको नयाँ पाँच सय दरका नोट पनि असोज तेस्रो साता काठमाडौ आइपुग्ने योजना छ। एक सातापछि मलेसियामा रोकिएको नोट कोलकोता आइपुग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ। नोट छाप्ने फ्रान्सेली कम्पनीले समयमा आपूर्ति नगर्दा अभाव भएको हो। दशैंमा सधैं सामान्यभन्दा थप नोट माग हुन्छ। यो माग थेग्ने गरी नोट नहुँदा अभाव भएको हो। देशभरका वित्तीय संस्थाले मागअनुसार नोट दिन सकेका थिएनन्। फागुनदेखि नै ठूला दरका नोटको आपूर्ति व्यवस्थामा समस्या आएको थियो। भदौ २५ देखि असोज ५ गतेभित्र २० अर्ब रुपैयाँ बराबरको नोट राष्ट्र बैंकले बजारमा पठाएको थियो। गत वर्ष यही समयमा १२ अर्ब रुपैयाँ बजारमा गएको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by