ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

यसै वर्ष ५ सय कामदार जापान पठाइने


काठमाडौ, २०६६ भाद्र २७ - 
जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सुरु गरेको नेपाल उद्योग वाणिज्य महासंघले यस वर्षभित्र ५ सय कामदार पठाउने बताएको छ । हालै जापानको भ्रमण पूरा गरी फर्किएपछि शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले यस्तो बताएका हुन् ।
'हामीले जापान पठाएका ६ जना कामदारको कामले उनीहरू प्रभावित भएका छन्,' जोशीले भने, 'अहिले जापानबाट कामदारको धेरै माग भइरहेको छ । यस वर्ष ५ सय कामदार पठाउने लक्ष्य छ ।' महासंघले सन् २००३ मा जापानको कामदार सम्बन्धी काम गर्ने संस्थासँग औद्योगिक कामदार पठाउनेबारे सम्झौता गरेको थियो । उनले अहिले महासंघ थप कामदार पठाउने प्रक्रियामा रहेको बताए । '३७ जना कामदार छनोटमा परेका छन्,' उनले भने, 'यसमा २० महिला र १७ पुरुष छन् । उनीहरूलाई भाषालगायत विभिन्न प्रशिक्षणपछि जापान पठाइनेछ ।' यसरी पठाइने कामदार र्फकने ग्यारेन्टी भएपछि मात्र पठाइने उनले बताए ।

यसरी पठाइएका कामदारको मुख्य उद्देश्य भनेको जापानको प्रविधि सिक्नु हो । 'यसरी पठाइएको कामदारले काम सिकेर फर्किएपछि नेपालमा जापानी लगानीको उद्योग खुल्ने सम्भावना बढी रहन्छ,' उनले भने । महासंघ सन् २००३ बाट जिट्कोसँग सम्झौता भएको एक मात्र एजेन्सीका रूपमा रहेको थियो । हालै श्रम तथा यातायात व्यवस्था मन्त्रालयले थप १ सय ७१ वटा म्यानपावर कम्पनीलाई छनोट गरेर पठाएको छ । 'अब यी म्यानपावर कम्पनीले पनि औद्योगिक कामदार पठाउनेछन्,' जापान भ्रमण टोलीमा रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले भने, 'यसबारे महासंघ, संघ र जिट्कोबीच नोभेम्बरको अन्त वा डिसेम्बरको सुरुमा छलफल हुनेछ ।'  अध्यक्ष जोशीले भ्रमणबाट अन्तर्राष्ट्रिय प्राविधिक सहायताका लागि जापानी संस्था 'एसोसिएसन अफ ओभरसिज टेक्निकल स्कलरसिप -एओटिए) सन् २००९ भित्र ३० जना नेपालीलाई कर्पोरेट म्यानेजमेन्टसम्बन्धी तालिम दिने आश्वासन दिएको बताए । 

'यसबाट २५ देखि ४० वर्षका वाषिर्क २५ देखि ३० जना कामदारले प्रशिक्षण लिन सक्ने अवसर पाउन सक्छन्,' उनले भने । महासंघ र जापानी व्यवसायी संस्था जापान चेम्बर अफ कमर्स एन्ड इन्डस्टि्रज, जापान बिजनेस फेडरेसनबीच भएको सम्झौतासमेतलाई बढी क्रियाशील गराई उनीहरूमार्फत नेपालमा जापानी लगानी, व्यावसायिक सम्बन्ध विस्तारको सम्भावना बढी रहेको उनले बताए । 

भ्रमणमा ओसाका वल्र्ड ट्रेड सेन्टरमा नेपाललाई चिनाउने छुट्टै प्रदर्शनी कक्ष स्थापना गर्न नेपाली राजदूतावास, एनआरएन जापानबाट ठूलो पहल भएको भन्दै उनले नेपालमा पनि यो पहल गरिने बताए । भ्रमण टोलीका अर्का सदस्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भ्रमण ज्यादै उपलब्धिपूर्ण भएको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by