सेनामा एक मात्र चार तारे जर्नेल रहन्छन्। गुरुङले महारथीमा बढुवाको पत्र बुझेपछि प्रधान सेनापति रुक्मांगत कटवालको स्वतः अवकाश भएको छ। उनको तीन वर्षे कार्यकाल मंगलबार राति १२ बजे सिद्धिएको हो।
अन्तरिम संविधानको धारा १४४ '२' मा प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख छ ।
५७ वर्षीय गुरुङले बिहीबार जंगीअड्डामा सकल दर्जालाई भावी नीति तथा कार्ययोजनाबारे सम्बोधन गर्नेछन् । साथै भदौं २६ गते गुरुङले पृतनापति सम्मेलनको उद्घाटन गर्नेछन्। र त्यहाँ उनले आफ्ना योजना प्रस्तुत गर्ने तथा अन्य रथीहरुबाट सल्लाह लिनेछन्।
२००७ सालपछि जनजातिबाट सेनापति हुने पहिलो अवसर गुरुङले पाएका छन् ।२०२८ मंसिरमा सेनामा भर्ती भएका गुरुङले अमेरिकाबाट स्टाफ कलेज र चीनबाट नेसनल डिफेन्स कोस्र एनडीसी गरेका छन्। बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीका रुपमा काम गरेको उनको अनुभव छ।
द्वन्द्वको समयमा मध्यपश्चिम पृतनापति त्यसपछि प्रबन्ध रथी हुँदै उनले सेनाको बलाधिकृत रथीको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असार ६ गते कुलबहादुर खड्काको अवकाशपछि उनको जिम्मेवारी गुरुङले नै हेरेका थिए ।
अन्तर्मुखी स्वभावका गुरुङले प्राथमिकता सैनिक संगठनलाई संस्थागत विकासमा ध्यान दिने भएका छन्। 'सेना सरकारकै एउटा हिस्सा भएकाले ऊसँग प्रत्यक्ष समन्वय गरेर नयाँ सेनापति अगाडि बढ्नेछन्'- गुरुङनिकट एक उपरथीले नागरिकसित भने- 'जनसम्बन्धलाई मजबुत पार्दे सेनाप्रति जनताको विश्वास बढाउनेतिर उनको जोड हुनेछ।'
गुरुङ सेनामा राजनीतिकरण हुनुहुँदैन भन्ने मान्यता राख्छन्। उनले भन्दै आएका छन्- 'सेनाको काम भाषण गर्ने होइन मैले भाषण गर्दै हिँड्ने पनि छैन। सिंगो संगठनलाई आधुनिक तालिम दिलाउने प्रयास हुनेछ।'
गुरुङले कामु सेनापतिको जिम्मेवारी पाएको एक साताअघि मात्र रक्षासचिव भएका घिमिरेले मन्त्रालयको पुर्नसंरचना गर्ने योजनाका साथ सेनासँग सहजकर्ताको दायित्व निर्वाह गर्ने बताएका छन्।
'सेना र सरकारलाई जोड्ने पुलको काम मन्त्रालयले गर्नेछु घिमिरेले नागरिकसित भने- 'समयसापेक्ष अनुसारको कार्यशैली लागू गरेर सहमतिका साथ अघि बढ्नेछौं।'
No comments:
Post a Comment