ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

भान्छेको तलब सिडिओले खाए

नयाँ पत्रिका

जाजरकोट, २४ भदौ

एक महिनाअघि जाजरकोटबाट सरुवा भएका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेशमबहादुर पाण्डेले भान्छेको नाममा निकासा भएको तलब-भत्ता आफैँले खाएको खुलासा भएको छ ।

गत मंसिरमा जाजरकोटमा सरुवा भएर आएदेखि नै प्रजिअ पाण्डेले आफ्नो कार्यालयमा भान्छे र स्वकीय सचिवको नियुक्ति नै नगरी उनीहरूको तलब-भत्ता किर्ते नाममा भर्पाइ बनाएर खाने गरेका थिए । उनले स्वकीय सचिवको प्रतिमहिना आठ हजार दुई सय ८० रुपैयाँका दरले नौ महिनाको ७४ हजार पाँच सय २० र भान्छेको प्रतिमहिना ६ हजार ६ सयका दरले नौ महिनाको ५९ हजार चार सयसमेत एक लाख ३३ हजार नौ सय २० रुपैयाँ आफैँले बुझेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनायो ।

स्रोतका अनुसार भान्छेमा राजु मगर र स्वकीय सचिवमा कमला पाण्डेलाई कागजी रूपमा मात्र नियुक्ति गरिएको थियो । प्रजिअ पाण्डेले गत मंसिरदेखि साउनसम्म ती कर्मचारीको तलब-भत्ता खाएका हुन् ।

जाजरकोटमा झाडापखालाको महामारी फैलिएको वेला महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै सरकारले उनलाई कारबाही गरेको थियो । सरुवा भएर जाने वेलामा उनले कार्यालयबाट ल्यापटप कम्प्युटर र प्रशासनको नाममा रहेका टेलिफोनका सिमकार्डसमेत लिएर गएका छन् । उनले लगेको सामानको बारेमा सार्वजनिक भएपछि ८५ हजारको कम्प्युटरको बदलामा कार्यालयमा ४० हजारको चाइनिज ल्यापटप फिर्ता पठाइदिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by