ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

चिनियाँ चासो


फेरि एकपटक नेपालमा चीनको चासो चर्चामा छ । केही साता पहिले नेपालका प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीलगायतका सबै देवी-देउरालीलाई नेपालमा चीनले बढ्ता हुन नपाउने आश्वासन दिएर आएका थिए । अहिले परराष्ट्रमन्त्री सुजाता कोइराला चीन भ्रमणको तयारीमा छिन् । उनको यो भ्रमणलाई प्रधानमन्त्री नेपालको चीन भ्रमणको तयारीको अर्थमा बुिझएको छ । त्यतिखेरसम्म सरकार टिकिरहेछ भने प्रधानमन्त्री नेपालले छोटो समयमै चीनको औपचारिक भ्रमण गर्नेछन् । जब कि पूर्वप्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने मिति तय भएपछि सत्ता-समीकरण बदलिएको थियो, सरकार ढलेको थियो ।यही सेरोफेरोमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिलासम्बन्धी पोलिटब्युरो सदस्य नेपालको औपचारिक भ्रमण पूरा गरेर फर्केका छन् । भ्रमण सक्नुअघि पोलिटब्युरो नेता भ्रमण सकिएपछि चिनियाँ राजदूतले शनिबारको एउटा कार्यक्रममा नेपालको अखण्डता खतरामा परे चीनले नेपाललाई सैन्य सहायतालगायत कुनै पनि प्रकारको सहयोग गर्ने कसम खाएका छन् । नेपालमा

छिटो-छिटो बन्ने र भत्कने सत्ता-समीकरण चीनका लागि सहज छैनन् । चीन नेपालको सत्ता-समीकरण बनाउने र बिगार्ने खेलमा खेल्न पनि सक्दैन अनि यहाँ उसको भरपर्दो मित्रशक्ति निर्माण पनि भइसकेको छैन ।

नेपालसँग परम्परागत चिनियाँ सम्बन्ध तिब्बतको मामिलामा मात्रै केन्दि्रत थियो, जुन उसको आन्तरिक र बाह्य सुरक्षा अवधारणाको एउटा अंग मात्र थियो । पछिल्लो अवस्थामा चीनका लागि तिब्बत विषय झन्झन् संवेदनशील बन्दै गएको छ । नेपालमा पनि तिब्बती प्रदर्शन बढिरहेका छन् र त्यसमा भारत र अमेरिकाको सहयोग छ भन्ने चिनियाँ बुझाइ छ । त्यतिमात्र होइन, विश्वशक्ति बन्दै गएको आप\mना रणनीतिक तथा आर्थिक स्वार्थलाई मलजल गर्न पनि चीनले नेपालमा चासो बढाउन थालेको छ । त्यसैले चीनका इच्छा र चासो तिब्बत नेपालको सिमानाका अग्ला हिमालयलाई छिचोलेर समग्र दक्षिण एसियामा प्रवेश गरेका छन् । पाकिस्तान, बर्मा र श्रीलंकासँगका उसको सम्बन्ध साझेदारको तहमा पुगेको छ । भारतसँगको सम्बन्धलाई सन्तुलित र अझ आफ्नो पकडमा राख्न चीनले नेपालको ढोका प्रयोग गर्न चाहेको हुन सक्छ ।

विदेशी र खासगरी नेपालको अर्को छिमेकी भारतको हस्तक्षेपप्रति चीन सशंकित मात्र छैन, खुला रूपमा चासो पनि व्यक्त गरिरहेको छ । तर, भारतको चासोको प्रतिकारस्वरूप चीनले पनि अनावश्यक चासो व्यक्त गर्‍यो भने त्यो स्वागतयोग्य हुने छैन । नेपालको आन्तरिक मामिलामा कुनै पनि छिमेकी वा मित्रराष्ट्रको अनावश्यक चासोले नेपालको सार्वभौमिकतालाई बल पुर्‍याउनेछैन । बरु, नेपालको अवस्थाप्रति चिन्तित भएको नाममा विदेशीहरूले चासो र हस्तक्षेप बढाउने हो भने नेपालको राष्ट्रियता साँच्चै खतरामा पर्नेछ । संक्रमणकालीन यो अवस्थामा दुई ठूला छिमेकीबीच कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सके ठूला र तीव्र विकास गरिरहेका देशको सहयोग फलिफाप हुनेछ । कूटनीतिक सन्तुलन बनाउन नसकेर हाम्रै कारणले देश दुई शक्तिशाली छिमेकीको युद्धस्थल बन्न पुग्यो भनेचाहिँ नेपालको लागि अभिशाप सिद्ध हुनेछ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by