ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

तेस्रो मुलुकका गाडी महँगिए

सुजित महत
काठमाडौ, २०६६ भाद्र २७ - सभासद ओमप्रकाश शर्माले २८ लाख रुपैयाँ पर्ने गरी हुन्डाईको टक्सन गाडी आयात गर्न प्रतीतपत्र खोलेका थिए । तर आइपुग्दा त्यसको मूल्य अब ५० लाख नाघ्ने देखिएको छ । यो अवस्थामा पुगेको उनी एक्ला ग्राहक होइनन् । तेस्रो मुलुकबाट आयातित अधिकांश कारजिपको मूल्यमा उच्च वृद्धि हुने भएको छ । न्यून बिजकीकरण भएको भन्दै भन्सारले मूल्यांकन वृद्धि र बजेटले कर महसुल बढाएकाले तेस्रो मुलुकबाट आयात हुने चारपांग्रे सवारी थप महँगा हुने भएका हुन् ।
आयातकर्ताले घोषणा गरेको मूल्यमा भन्सारले दोब्ब्ारसम्म मूल्यांकन बढाएको छ । भन्सारले मूल्यांकन वृद्धि गर्नुपरेमा बढाएको मूल्यको ५० प्रतिशत जरिवानासमेत तिराउछ ।
शर्माले ९ हजार १ सय ३६ अमेरिकी डलर -७ लाख ३ हजार ४ सय ७२ रुपैयाँँ) मा झिकाएको टक्सनको मूल्य भन्सारले १८ हजार २ सय ५१ डलर -१४ लाख ५ हजार ३ सय २७) निर्धारण गरिदिएको
छ । न्यून बिजकीकरण भएको भन्दै भन्सारले मूल्यांकन बढाएको बताउँदै आएको छ । भन्सारले कायम गरेको मूल्यमा २ सय ५ प्रतिशत कर महसुलका साथै ९ हजार १ सय २५ डलर -७ लाख २ हजार ६ सय २५) जरिबाना तिरेर गाडी छुटाउनुपर्ने अवस्था आएको उनले बताए ।
'अब किन्न सकिँदैन,' उनले भने, 'भन्सार र अधिकृत बिक्रेतालाई नै खरिद गरिदिन भनेको छु ।' आयातित गाडी अधिकृत बिक्रेतामार्फत खरिदकर्ता स्वयंले झिकाएका कारण समस्या जटिल भएको शर्माले बताए ।
मूल्यांकन विवादले साउनयता तेस्रो मुलुकबाट आयातित अधिकांश कारजिप वीरगन्ज भन्सारमा थन्किएका छन् । 'गाडीको मूल्यांकनमा १ हजार डलर वृद्धि गर्दा उपभोक्ता मूल्य झन्डै २ लाख रुपैयाँँ बढ्छ,' नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका प्रवक्ता गोपी न्यौपानले भने, 'जरिबानासमेत तिर्नुपर्दा यो अझ बढ्छ ।'
सुख्खा बन्दरगाह भन्सार ल्याइएका १० वटा ल्यान्डरोभर जिपको मूल्यांकन दोब्बरभन्दा बढी वृद्धि गरिएको छ । आयातकर्ताले १६ हजार २८ अमेरिकी डलर उल्लेख गरेको गरेको ल्यान्डरोभरको मूल्य भन्सारले २२ हजार स्टर्लिङ पाउन्ड -करिब ३४ हजार डलर) तोकेको
छ । टक्सन र ल्यान्डरोभरका गाडीमा बढी न्यून बिजकीकरण भएको आरोप भन्सारको छ । 'अरू गाडीमा मूल्यांकन धेरै बढाउनुपर्ने अवस्था छैन,' वीरगन्ज भन्सार प्रमुख केवल भण्डारीले भने ।
१३ हजार २ सय डलरमा आयात भइरहेको किया स्पोर्टेजको मूल्य १६ हजार ५८ डलर निर्धारण गरिएको छ । भन्सारले ६ हजार ५ सय डलरमा आयात भइरहेको किया रिओको मूल्यांकन ७ हजार ३ सय ५० निर्धारण गरेको छ । १८ लाख ४० हजार जापानी येनमा मूल्य घोषणा गरिएको निसान एक्सट्रेल १९ लाख ९२ हजार येनमा जाँचपास गर्न भनेको छ । भन्सारले कूटनीतिक नियोगले घोषणा गरेको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरेको छ ।
आयातकर्ताहरू कूटनीतिक नियोगको मूल्यलाई मात्र आधार मान्न नहुने जिकिर गर्छन् । न्यौपानेका अनुसार नियोगले कोटेसनमार्फत आयात गर्ने भएकाले यसै पनि गाडीको मूल्य बढी पर्छ । साथै अतिरिक्त सुविधा थप गरिने भएकाले सामान्य गाडीभन्दा महँगा हुन्छन् । नाडाको प्रतिनिधिमण्डलले खरिदकर्ताले नै प्रतीतपत्र खोलेर आयात गरेकाले अधिकृत बिक्रेतालाई समस्या पर्ने जिकिर गर्दै उत्पादकले पठाइसकेका गाडी साविककै मूल्यमा जाँचपास गरिदिन अनुरोध गरेका थिए । 'तर अर्थमन्त्रीले त्यसो गर्न नसक्ने भन्दै आयातकर्ताले घोषणा गरेको मूल्य वास्तविक भए प्रमाण पेस गर्न भन्नुभयो,' न्यौपानेले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by