ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

मन्त्रीलाई कालोझण्डा देखाउनेमाथि लाठीचार्ज



क्रान्तिकारीका अध्यक्षसहित तीन घाइते

विजय नेपाल /पोखरा, भदौ २३ गते


स्याङ्जामा मन्त्रीलाई कालोझण्डा देखाउने एकीकृत नेकपा माओवादीका तीनजना कार्यकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।
रेडियो स्याङ्जाको उद्घाटनका लागि मंगलबार मध्याह्न सदरमुकाम पुतलीबजार गएका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेललाई माओवादीका कार्यकर्ताहरुले जिल्ला प्रवेशमा रोक लगाउँदै नाराबाजी गरेका थिए।
कालोझण्डा देखाउने क्रममा मन्त्रीको सुरक्षार्थ खटिएको प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेपछि प्रहरीले माओवादी कार्यकर्तामाथि लाठीचार्ज गर्दा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुभाष पौडेलसहित तीनजना घाइते छन्। घाइतेमध्ये माओवादी स्याङजाका जिल्ला सदस्य शिव पराजुलीको अवस्था गम्भीर रहेकोले उनको थप उपचारका लागि पोखरास्थित अभियान सामुदायिक अस्पताल ल्याइएको छ। बाँकीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। यता, झडपमा माओवादीले आफ्नोतर्फ आधादर्जन कार्यकर्ता घाइते भएको दाबी गरेको छ।
यस्तै, प्रहरीतर्फ सई देवीप्रसाद बस्यालसहित तीनजना सामान्य घाइते छन्।

कठपुलती सरकारका मन्त्री चाहिदैन, जिल्ला प्रवेशमा रोक लगायतका नाराबाजी गर्दै माओवादी कार्यकर्ताहरुले अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने स्याङ्जामा चक्काजाम गरेका छन्। चक्काजामका लागि सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ्लगायतका प्रमुख बजारमा यातायात चलेका छैनन् भने राजमार्ग समेत ठप्प बनेको छ। उनीहरुले राजमार्गमा ढुंगा–मुढा तेर्साएर सडक अबरुद्ध समेत पारेका छन्। मन्त्री पोखरेल रेडियोको उद्घाटनपछि अहिले नेकपा एमाले स्याङजा क्षेत्रनम्बर १ को क्षेत्रीय अधिवेसनमा सरिक भएका छन्।

यसअघि, मन्त्री पोखरेललाई मंगलबार बिहान पोखराको लेकसाइडमा माओवादी कार्यकर्ताले कालोझण्डा देखाएका थिए।
लेकसाइडमा आयोजित एक कार्यक्रममा सरिक हुन त्यतातिर जाने क्रममा बाराहीघाटमा माओवादी कार्यकर्ताले चर्का नाराबाजी गर्दै मन्त्री पोखरेललाई कालोझण्डा देखाएका हुन्।
नागरिक सर्वोच्चताको माग गर्दै सदन र सडकबाट आन्दोलन थाल्दै एकीकृत नेकपा माओवादीले पूर्वघोषित बिरोधका कार्यक्रमअन्तर्गत राष्ट्रपति, प्रधानमन्त्रीलगायतको औपचारिक कार्यक्रमहरुसमेत बहिष्कार गर्दै आएको छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by