ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

यो तेस्रो जनआन्दोलनको तयारीमात्रः प्रचण्ड

"हारेकाहरुको बहुमत भएको सरकार"

काठमाडौं, २६ भदौ (दैनिकी)

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले माओवादीले नागरिक सर्वोच्चताका लागि अहिले सुरु गरेको आन्दोलन तेस्रो जनआन्दोलन नभइ त्यसको पूर्व तयारीमात्र भएको बताएका छन । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा उनले विगतमा माओवादीले अघि सारेको ४० सूत्रिय मागलाई नै अहिले परिवर्तित परिस्थितमा ४५ सूत्रिय मागका रुपमा अघि सारेर आन्दोलन सुरु गरिएको बताए ।
उनले आफ्नै पार्टीका केही नेताहरुले तेस्रो जनआन्दोलन सुरु भएको बताए पनि उनले भने यो ‌ऐतिहासिक चलचित्रको ट्रेलर मात्र भएको बताए । यो आन्दोलन अन्य पार्टीलाई सोच्नका लागि खबरदारीमात्र भएको उनको भनाई थियो ।
उनले आफूलगायतका केही नेताहरुलाई जेल हालेपछि मात्र प्रजातन्त्र आउने भनेर केही सत्ताधारी दलका नेताले अभिव्यक्ति दिएको भन्दै आलोचना गरे ।
"जेलमा जाने कसले हो?जनताले जिताएर पठाएका जाने हो कि कायरहरु, लुटेराहरु, जसले देशलाई यो हालतमा पुर्र्याए उनलाई हाल्नु पर्ने हो" आक्रोसित देखिएका प्रचण्डले भने । उनले यस्ता नेतालाई "बाटाघाटामा हिंड्न दिनु हुन्छ त ?" भनेर आफ्ना कार्यकर्तालाई उक्साए । तर आफैले भने-"मैले तपाईहरुलाई उक्साउन खोजेको हैन "
जनताद्वारा निर्वाचित सरकारको नेतृत्वमा सेना हुनु पर्छ बन्दूक हुनुपर्छ भन्ने आफ्नो आशयलाई ब‌ंग्याइएको भन्दै आपत्ती जनाए ।
प्रचण्डले राजाका अगाडि बिन्तिपत्र बिसाउन बानी परेकाहरुले राष्ट्रपतिलाई बिन्तिपत्र बिसाएर उनलाई राजा बनाउन खोजेको बताए । "प्रधानमन्त्री पद र नेपाली जनताको हत्या गर्न भनेर विन्ति गर्ने राजाको अगाडि घुँडा टेक्ने बानी परेकाहरुले राष्ट्रपतिलाई राजा बनाउन खोजेका छन्" प्रचण्डले भने-राष्ट्रपति महोदय रामवरण यादव जी ! राजा हुने मुर्खता कृपया नगर्नुहोस।
वर्तमान सरकार र प्रधानमन्त्री माधव नेपाललाई कटाक्ष गर्दै विदेशी प्रभूहरुलाई बिन्ति बिसाएर जनताबाट तिरस्कृतहरु प्रधानमन्त्री र मन्त्री भएको टिप्पणी गरे । उनले अहिलेको सरकारलाई हारेकाहरुको बहुमत भएको सरकार भनेर कटाक्ष गरे । "दुई ठाउँबाट हारेको व्यक्ति प्रधानमन्त्री भोलि तीन ठाउँबाट हारेको व्यक्ति राष्ट्रपति हुने होला" उनले भने ।
उनले नेपाली सेनामा पहिलो जनजाति सेनापति आएको भन्दै सेना प्रहरीले हिजोको राजाको शासनकालको जस्तो हैन अबजनताको आदेश मान्ने अपेक्षा व्यक्त गरे ।
माओवादीका नेता अमीक शेरचनलगायतका नेताले नागरिक सर्वोच्चताका लागि आन्दोलन अघि सारिएको बताए ।
नागरिक सर्वोच्चताको नारासहित देशव्यापी आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीले आज राजधानी ठप्प पार्ने गरेर जनसभा गरिरहेको छ ।
राजधानीका मुख्य-मुख्य केन्द्रबाट निस्केका माओवादी जुलुसका कारण ट्राफिक व्यवस्था चौपट भएको थियो । चावहिल, बालाजु चप्पल कारखाना, कलंकी ,लगनखेल, कालिमाटी, कोटेश्वर, तीनकुने र महाराजगञ्जलगायतका स्थानबाट जुलुस निस्किएको थियो। जुलुसको नेतृत्व हिसिला यमी, झक्कुप्रसाद सुवेदी, नारायणप्रसाद दाहाल, पम्फा भुषाललगायतका केन्द्रीय नेताहरुले गरे ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by