ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

कोइरालाले चीनसँग 'फ्लाइओभर' को सहयोग माग्ने


काठमाडौँ, भदौ २३ (नागरिक)-
परराष्ट्रमन्त्री सुजाता कोइराला चिनियाँ समकक्षी याङ जेइचीको निमन्त्रणामा छ दिने सदभावना भ्रमणका लागि म‌ंगलबार चीनको बेइजिङतर्फ प्रस्थान गरेकी छिन्। चीनसँग उनले नेपालमा फ्लाई ओभर निर्माणका लागि सहयोग माग्ने तथा तातोपानीमा सुख्खाबन्दरगाह स्थापना र फोहरबाट मलखाद बनाउने सम्झौता हुने बताइन्।

परराष्ट्र मन्त्री कोइरालाको चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम भने उनी नेपाबाट उड्दासम्म पनि निश्चित भएको थिएन।

प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा कोइरालाको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री कोइरालाले चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा विशेषगरी नेपाल-चीन सम्बन्धका विविध पक्षमाथि विचारविमर्श हुने तथा द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन तथा संरचना विकास र विकास सहयोगमा लगानी गर्ने विषयमा छलफल हुनेछ।

बेइजिङमा रहँदा परराष्ट्रमन्त्री कोइरालाले चीन सरकारका अन्य उच्च पदाधिकारीसँग समेत छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मन्त्री कोइरालाले बेइजिङस्थित सामाजिक अध्ययन सम्बन्धी चिनियाँ इन्स्टिच्युटद्वारा आयोजना हुने "नेपाल-चीन सम्बन्ध" विषयक अन्तरक्रियामा सहभागी हुनेछिन्।

मन्त्री कोइरालाले चीनको गुवान्झाऊको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारी तथा नेपाली समुदायसँग भेटघाट गर्नेछन्। भ्रमणमा परराष्ट्रमन्त्रीका सल्लाहकार चिरिञ्जीवी नेपाल, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by