ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

'नेपालमा उद्योग व्यवसाय गर्न कठिन'

काठमाडौं, भदौ २६ (नागरिक)- नेपालमा उद्योग व्यवसाय गर्न वातावरण राम्रो नभएको तथ्य एक अन्तर्राष्ट्रिय प्रतिवेदनले सार्वजनिक गरेको छ।
विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशनले प्रकाशित गरेको 'डुइङ विजनेश, २०१०' का अनुसार नेपाल उद्योग व्यबसाय गर्न कठिनाई रहेको देशहरुको सूचिमा परेको छ। उद्योग व्यवसाय गर्ने वातावरणका लागि विश्वका १८३ देशमध्ये नेपाल १ सय २३ औं नम्बरमा परेको छ।

विश्व बैंकले निर्धारण गरेको १० मापदण्डको आधारमा उद्योग व्यबसाय गर्न सबैभन्दा सजिलो अवस्था रहेको देश १ नम्बर र सबैभन्दा अप्ठेरो रहेको देश १८३ औं नम्बरमा छ। प्रतिवेदनअनुसार उद्योग व्यबसाय गर्न सबैभन्दा सजिलो मुलुक सिंगापुर हो। यो १ नम्बरमा छ। त्यस्तै व्यबसाय गर्न सबैभन्दा अप्ठेरो अवस्था रहेको देश सेन्ट्रल अफ्रिकन रिपव्लिक हो। यो सबैभन्दा अन्तिम १ सय ८३ नम्बरमा छ।

यो सूचिमा छिमेकी मुलुक भारत नेपालभन्दा पछि छ। उद्योग व्यबसाय सुरु गर्न भारतमा भन्दा नेपालमा सजिलो रहेको प्रतिवेदनले देखाएको छ। यो प्रतिवेदनको आधारमा भारत नेपाल भन्दा १० स्थानपछि छ।

दक्षिण एसियाका मुलुकहरुमा नेपालभन्दा पछि भुटान, भारत र अफगानिस्थान छन्। भुटान १२६, भारत १३३ र अफगानिस्थानको १६० औं स्थानमा छन्।

दक्षिण एसियामा उद्योग व्यबसाय गर्नको लागि सबै मापदण्डको आधारमा पाकिस्तान अगाडी छ। पाकिस्तान ८५ औं नम्बरमा छ। त्यस्तै माल्दिभ्स ८७ औं नम्बरमा, श्रीलंका १०५ नम्बरमा र बंगलादेश ११९ नम्बरमा छन्।

सन् २००८/०९ मा संसारका देशहरुले आर्थिक क्षेत्रमा हासिल गरेको उपलव्धी, गरिएका विभिन्न सुधार कार्यक्रमका आधारमा यो प्रतिवेदन तयार पारिएको हो। उद्योग व्यबसाय चलाउनको लागि गत वर्ष सरकारले कुनै उल्लेख्य सुधार नगरेकोले नेपाल यथास्थानमा रहेको हो।

प्रतिवेदनले सन् २००८ मा नेपालले उपलव्धी हासिल गरेको एउटै मात्र सम्पत्ति दर्ताको मापदण्डमा हो। यो मापदण्डमा नेपाल गत वर्ष २९ औं नम्बरमा रहेकोमा यो वर्ष २६ मा उक्लेको छ।

विश्व बैंक समूहले १० वटा मापदण्डलाई आधार मानेर कुन देश उद्योग व्यबसाय गर्नको लागि सबैभन्दा उपयुक्त छ भन्ने विषयमा वर्षेनी प्रतिवेदन सार्वजनिक गर्छ। ती १० मापदण्डमा 'व्यबसायको सुरुवात', 'निर्माण सुरु गर्न अनुमति', 'कामदार नियुक्ति', 'सम्पत्ति दर्ता', 'बैंकबाट ऋण प्राप्ती', 'लगानीकर्ताको संरक्षण', 'कर तिर्दाको प्रकृया', 'विदेशमा व्यापार', करार तोडाको प्रकृया' र 'व्यबसाय बन्दको प्रकृया' छन्।

'व्यवसायको सुरुवात' समष्टीगत रुपमा नेपालको स्थिती गत वर्षको भन्दा परिवर्तन नभएपनि अरु देशले यसमा धेरै सुधार गरेकाले नेपाल पछाडी परेको हो। १८३ देशहरु मध्य नेपालको स्थान ८७ नम्बरमा छ। गत वर्ष भन्दा नेपाल १२ स्थानले पछि पुगेको छ।

प्रतिवेदन अनुसार नेपालमा व्यबसाय सुरु गर्न व्यबसायीले सातवटा प्रकृृया पुरा गर्नुपर्छ। त्यसको लागि कम्तिमा ३१ दिन लाग्ने गरेको छ। दक्षिण एसियाका अन्य देशहरुमा औसत २८ दिनमात्र लाग्छ।

यो मापदण्डको आधारमा भारत उद्योग व्यबसाय सुरु गर्न निकै कठिनाई रहेको मुलुकको सूचिमा परेको छ। भारत यो मापदण्डमा १६९ नम्बरमा छ। भारतमा व्यबसाय थाल्नको लागि १३ वटा प्रकृया पुरा गर्नुपर्छ भने कम्तिमा ३० दिन लाग्छ।

व्यबसाय गर्नको लागि आवश्यक दोस्रोमापदण्ड निर्माण सुरुको अनुमतिमा नेपालको स्थिती गत वर्षको भन्दा पनि बिग्रेको छ। गत वर्ष १३० नम्बरमा रहेको नेपाल यो वर्ष १३१ नम्बरमा पुगेको छ। प्रतिवेदनले गोदाम घर बनाउन नेपालमा १५ वटा प्रकृया पुरा गर्नुपर्ने र त्यसको लागि ४ सय २४ दिनसम्म लाग्ने स्थिती रहेको छ।

यो मापदण्डमा पनि नेपाल छिमेकी मुलुक भारतभन्दा अघि छ। भारतको स्थान यो मापदण्डमा १७५ नम्बरमा छ। भारतमा गोदाम बनाउने स्विकृतीकै लागि ३७ वटा प्रकृया पुरा गर्नुपर्छ।

कामदार नियुक्ति गर्न गर्ने मापदण्डमा पनि नेपालको कानुनी प्रावधान निकै अव्यबहारिक रहेको प्रतिवेदनले जनाएको छ। नेपालको स्थान यो मापदण्डमा १४८ नम्बरमा छ। यसमा भारतको कानुनी व्यबस्था सजिलो छ। भारत यो मापदण्डमा १०४ नम्बरमा छ।

उद्योग व्यबसाय चलाउनको निम्ति बैंकबाट ऋण लिन पनि नेपालमा निकै कठिनाई छ। गत वर्ष १०९ नम्बरमा रहेको नेपाल यो वर्ष ११३ मा झरेको छ। यो मापदण्डमा सबैभन्दा सुधार एसियाली मुलुकहरु मध्य मलेसियाले गरेको छ। विश्वभरिमा मलेसिया बैंक तथा वित्तिय संस्थाबाट ऋण पाउन सजिलो मुलुक देखिएको छ।

डुइङ विजनेशका अनुसार गत वर्ष सबैभन्दा धेरै सुधार गर्ने देश रुवाण्डा हो। यो देशले सातवटा सुधारहरु गरेको छ।

दक्षिण एसियाली देशहरुमा बंगलादेश र अपगानिस्थानले ३/३ सुधार गरेका छन् भने भारत र पाकिस्तानले १/१ सुधार गरेका छन्। भारतले व्यबसाय बन्द गर्न विगतमा अप्ठेरो स्थिती रहेकोमा त्यसमा परिवर्तन गरेको छ।

कर तिर्न ४२ दिन
नेपालमा व्यबसाय गर्नेले कर तिर्न मात्र बर्षको ३३८ घण्टा छुट्याउनुपर्छ। आठ घण्टालाई कार्यालय समय मान्ने हो भने कर तिर्न मात्र ४२ दिन लाग्ने प्रतिवेदनले निष्कर्ष छ।
व्यबसाय सुरु गर्न मात्र नभै कर तिर्न इच्छुक करदाताको लागि समेत नेपालमा स्थिती सजिलो छैन। व्यबसायीले ३४ किसिमका कर तिर्नुपर्ने र नाफाको झण्डै ३९ प्रतिशत कर तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले जनाएको छ।

गत वर्षको भन्दा कर तिर्न लाग्ने समय घटेपनि यो मापदण्डमा नेपालको स्थान गत वर्षभन्दा निकै पछि धकेलिएको छ।

दक्षिण एसियामा मात्र नभएर विश्वभरिमै यो मापदण्डमा सुधार गर्ने देश माल्दिभ्स हो। मालदिभ्स विश्वभरिमै १ नम्बरमा छ। व्यबसायीले यो देशमा एउटा मात्र कर तिरेपुग्छ।
भारत ५९ किसिमको कर तिर्नुपर्छ। भारतमा नाफाको ६५ प्रतिशत कर तिर्नुपर्छ। धेरै कर तिर्नुपरेपनि २७१ घण्टामात्र लाग्छ।

निर्यात गर्न नौ प्रक्रिया
नेपालबाट व्यबसायीक ढंगले कुनै पनि सामान विदेश निर्यात गर्नुपर्दा नौं वटा किसिमको कागजपत्र पुरा गर्नुपर्छ। कागजपत्र पुरा गरेर सामान निर्यात गर्नको लागि ४१ दिन लाग्छ।
विदेशबाट सामान आयात गर्न १० वटा कागजपत्र पुरा गर्नुपर्ने र त्यसको लागि ३५ दिन लाग्ने प्रतिवेदनले जनाएको छ। भारत यो मापदण्डमा ९४ नम्बरमा छ। भारतबाट सामान आयात, निर्यात गर्दा कागजपत्र, समय र लागतनै नेपालभन्दा निकै सस्तो छ।
नेपालबाट एक कन्टेनर सामान निर्यात गर्नुपर्दा १ हजार ७ सय ६४ डलर लाग्छ भने आयात गर्दा १ हजार ८ सय २५ डलर खर्च हुन्छ।
निर्यात गर्दा सबैभन्दा थोरै समय डेनमार्कमा लाग्छ। डेनमार्कबाट सामान निर्यात गर्दा बढीमा ५ दिनमात्र लाग्छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by