ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

भारतीय उद्योगीको गुनासो

नयाँ पत्रिका

काठमाडौं, २४ भदौ

भारतका उद्योगीले नेपालमा भारतीय सामान निर्यात र लगानीका लागि उचित वातावरण बनाउन माग गरेका छन् । भारतीय उद्योग महासंघको प्रतिनिधिमण्डलले बुधबार काठमाडौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधमण्डलसँगको छलफलमा सो माग गरेको हो ।

छलफलमा नेपाली टोलीको नेतृत्व महासंघ अध्यक्ष कुशकुमार जोशी र भारतीय टोलीको नेतृत्व एपी मुलले गरेका थिए । भारतीय जोनसन एन्ड जोनसन कम्पनीका प्रतिनिधिले भारतीय कम्पनीले विश्वभर उत्पादन गरेका सामान भारतबाटै नेपालमा निर्यात गर्न पाउने व्यवस्था माग गरे । जोनसनले ६५ प्रतिशत औषधि युरोप र अमेरिकामा उत्पादन गर्छ ।

भारतमा उत्पादित सामान नेपाल निर्यात गर्न सकिने व्यवस्था भए पनि भारतीय कम्पनीले तेस्रो मुलुकमा उत्पादन गरेका वस्तु भारतीयसरह नेपाल निर्यात हुन पाउँदैनन् । ती वस्तुलाई पनि तेस्रो मुलुकका वस्तुमा गणना गरिँदै आएको छ । भारतीय दाना कम्पनी अनमोलका प्रतिनिधिले नेपालमा आपना उत्पादन निर्यात गर्न झन्झट रहेको गुनासो गरे । 'नेपालमा निर्यात गर्ने प्रमाणपत्र पाउन हामीलाई निकै कठिन छ', ती प्रतिनिधिले भने, 'भन्सारमा पनि विभिन्न कर लगाइन्छ ।'

नेपाली बजारमा भइरहेको दानाको तुलनामा अनमोल दाना ८५ प्रतिशत बढी उत्पादनशील रहेको दाबी उनले गरे । 'हाम्रो दाना सहज रुपमा निर्यात गर्न दिइए कम मूल्यको दानाबाट नेपाली किसानले कुखुुरा र पशुको बढी मासु प्राप्त गर्न सक्नेछन्', उनले भने ।

भारतीय ऊर्जा उद्यमीले नेपालमा जलविद्युत्को बढी सम्भावना भएकाले भारतीय लगानीकर्ता इच्छुक भए पनि सरकारले पर्याप्त प्रसारण लाइन निर्माण गर्न नसकेको बताए । 'हामीलाई लगानी समस्या छैन, बिजुली पनि भारतमै बेच्न सकिन्छ तर नेपालमा प्रसारण लाइन बन्न सकेको छैन', उनीहरूको भनाइ थियो । मणिपाल गु्रपका प्रतिनिधिले नेपाली विद्यार्थी महँगो शुल्क तिरेर विदेश पढ्न गइरहेका बेला भारतीयलाई शैक्षिक क्षेत्रमा लगानी गरेर स्तरीय र सुविधासम्पन्न शिक्षण संस्था खोल्न सरकारले सहयोग गर्नुपर्ने बताए । 'शिक्षामा विदेशी लगानीमा कुनै पनि प्रकारको शुल्क लगाउनुहुँदैन', उनको भनाइ थियो ।

नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार चौधरीले नेपालमा व्यवसाय गर्न समस्या देखिए पनि अवसर उत्तिकै रहेको बताए । 'यहाँ जति समस्या छ, उति अवसर छ', उनले भने ।'

नेपालमै व्यवसाय गरेर प्रतिफल कमाइरहेको र भारतीय लगानीको युनिलिभर नेपालले हालै साढे ४ सय प्रतिशत लाभांश बाँडेको उदाहरण दिंदै मिलेर थप लगानी गर्न उनले भारतीय उद्योगीलाई आग्रह गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by