ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

दसैं-तिहारलाई सहुलियतमा खसी र खाद्यान्न

मैना धिताल

काठमाडौं, भदौ २३ - मूल्य वृद्धिबाट आक्रान्त राजधानीवासीलाई दसैंमा केही राहत दिन खाद्य संस्थानले खसीबोका भित्र्याउने तयारी गरेको छ ।

भदौभित्र ६ हजार खसीबोका ल्याउन लागेको संस्थानका उपमहाप्रबन्धक विजयध्वज थापाले जानकारी दिए ।

'सरकारले ल्याएर मूल्य नतोके बजार अनियन्त्रित हुन सक्छ,' थापाले भने, 'त्यसैले बर्सेनि संस्थानले खसीबोका ल्याएर मूल्य तोक्ने गरेको छ ।' निजी क्षेत्रले ल्याउने खसीबोकाको मूल्य त्यसैको हाराहारीमा कायम हुने गरेको छ ।

'भदौ ३० भित्र ल्याइसक्छौं,' थापाले भने, 'नेपालगन्ज, लाहान र दाङबाट खरिद गरी ल्याउन लागेका हौं ।' थापाथलीस्थित धान गोदामबाट ती खसीबोका बिक्री गरिने संस्थानले जनाएको छ । अत्यधिक मूल्य वृद्धिको मारमा परेका सर्वसाधारणलाई केही भए पनि राहत दिन खोजिएको अधिकारीहरू बताउँछन् । गत वर्ष नेपालमा १७ वर्षकै उच्च मूल्य वृद्धि भएको थियो । यो क्रम अझै जारी छ । 'घटस्थापनादेखि अष्टमीसम्म बिक्री खुला गरिनेछ,' उनले भने । घटस्थापनाको चौथो दिनदेखि खसीबोका किन्नेको बढी भीड लाग्छ ।' त्यसका लागि संस्थानले १ करोड ६५ लाख रुपैयाँ छुट्टयाएको छ । 'मूल्यमा निजी क्षेत्रबाट हुन सक्ने एकाधिकार नियन्त्रण गर्न पनि संस्थानले बेच्न लागेको हो,' उनले भने, 'हामीले बेच्दा आपूर्ति केही भए पनि बढ्छ र बजार नियन्त्रणमा आउँछ ।'

मागअनुसार सबै आपूर्ति गर्नुभन्दा पनि मूल्य नियन्त्रण गर्ने उद्देश्यले यी खसीबोका भित्र्याउन लागिएको हो । दसैंमा राजधानीमा मात्र कम्तीमा ३० हजार खसीबोकाको खपत हुन्छ ।

खसी खरिद र बिक्री गर्ने बेला भेटेनरी डाक्टरलाईसमेत तयारी अवस्थामा राखिने उनले बताए । 'राजधानी ल्याइसकेपछि पनि हरेक दिन डाक्टरले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन्,' उनले भने, खान नहुने अवस्थाका खसीबोका बिक्री हुने छैनन् ।' खरिद मूल्य, राजधानी भित्र्याउँदासम्म तौलमा आउने कमी, ढुवानी, घाँस, कुँडो र बजार हेरेर खसीबोकाको मूल्य तय गर्ने उनले जानकारी दिए । 'संस्थानले बजार मूल्यभन्दा सस्तोमै खसी बोका बेच्नेछ,' उनले भने, 'यो पटक सबैथोकको मूल्य बढेकाले गत वर्षको तुलनामा केही महँगो हुन सक्छ ।' भित्र्याउने खसीबोका सबै स्थानीय उत्पादन हुनेछन् । संस्थानले राजधानीबाहेक अन्य जिल्लामा भने खसीबोका नबेच्ने उनले बताए ।

गत वर्ष २३ केजीभन्दा ठूलो जिउँदो खसीबोका किलोको २ सय र त्योभन्दा सानोलाई किलोको १ सय ९५ रुपैयाँका दरले बेचेको थियो । अहिले राजधानीको बजारमा खसीको मासु किलोको साढे ४ देखि ५ सय रुपैयाँसम्म छ ।

गत वर्ष संस्थाले ४ हजार खसीबोका भित्र्याउने लक्ष्य राखेकामा २ हजार मात्रै आइपुगेका थिए । बन्द, हडतालका कारण लाहानबाट खरिद हुन नसकेकाले लक्ष्यअनुसार ल्याउन नसकिएको थापाले बताए । दसैंमा मुलुकमै सबैभन्दा बढी खसीबोका खपत हुन्छ । बाहिरबाट आएर बसोवास गर्ने अधिकांश दसैंका बेला घर र्फकने हुँदा राजधानीमा जनसंख्या अनुपातमा खसीबोका कम खपत हुने गरेको हो ।

तेल, चामल र चिनी पनि संंस्थानले दसैंतिहारलाई लक्षित गरी तेल, चामल र चिनी पनि बेच्ने भएको छ । लिटरको १ सय १५ रुपैयाँ बिक्री भइरहेको तोरीको तेल दसैंतिहारमा १ सय १२ रुपैयाँ लिटरमा बेच्न लागेको संस्थानका उपमहाप्रबन्धक विजयध्वज थापाले जानकारी दिए । आयातित तोरीबाट स्वदेशमै तेल उत्पादनका लागि टेन्डरमार्फत दुगड ग्रुपलाई छनोट गरिसकेको छ । संस्थानले यसपटक २ लाख लिटर तेल आफ्नै ब्रान्डमा बिक्री गर्ने थापाले बताए ।

धेरै वर्षपछि संस्थानले यसपटक तेल बिक्री गर्न लागेको हो । गुणस्तरमा समस्या आएपछि उसले तेल बेच्न छोडेको थियो । टेन्डरमार्फत खरिद भएको तेल दुईपटक क्रसचेक गरेर गुणस्तर सुनिश्चित गरिने संंस्थानको दाबी छ । 'हरेक लटमा प्रमाणीकरण गरेर मात्रै ल्याउछौं,' उनले भने ।

यसपटक मध्यम र उच्च वर्गीय परिवारलाई लक्षित गरी बास्मती चामल पनि बिक्री गरिने संस्थानले जनाएको छ । 'आफ्नै मिलबाट कुटेर बासमती चामल बजारमा ल्याउँदै छौं,' थापाले भने, 'यो चामल किलोको ६६ रुपैयाँमा बिक्री गरिनेछ ।'

यस्तै जिरा मसिनो, सोना मन्सुली र जापानी चामाल पनि दसैं तिहारमा बिक्री गर्ने भएको छ । जिरा मसिना किलोको ४६, सोना मन्सुली २७ र जापानी चामल ४० रुपैयाँ किलोमा बेच्ने उनले बताए । ती चामाल कति परिमाण बेच्नेबारे भने उनले खुलाउन चाहेनन् ।

चिनी भने साल्ट र नेसनल ट्रेडिङसँग खरिद गरी बेच्ने थापाले बताए । संस्थानसँग चिनीको पर्याप्त मौज्दात नभएको र बाहिरबाट खरिद गर्न समय लाग्ने भएकाले साल्ट र नेसनलसँग लिन लागिएको हो । आपूर्ति मन्त्रालयले १० हजार टन चिनी संंस्थानले बेच्ने भने पनि दसैं नजिक आइसकेकाले त्यो सम्भावना छैन । 'भारतले चिनी निकासी गर्दैन,' उनले भने, 'तेस्रो मुलुकबाट एलसी खोलेर ल्याउन समय लाग्ने भएकाले साल्ट र नेसनल ट्रेडिङसँग खरिद गरी बेच्ने निर्णय गरेका

छौं ।' सरकारले यस वर्ष संस्थान, नेसनल र साल्ट ट्रेडिङमार्फत ५० हजार टन चिनी बिक्री गर्ने जनाएको छ । त्यसमा साल्टलाई २५ हजार, नेसनल १५ हजार र संस्थानलाई १० हजार टन चिनी बिक्रीको कोटा तोकिएको छ । चिनी खरिदको लागि आफैंले बजार खोज्नुपर्ने भएको र दसैं तिहारमा बढी खपत हुने भएकाले संस्थानले ल्याउन नसक्ने भएको हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by