ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

एक महिनाभित्रै जेट किन्ने टुंगो


रमेश घिमिरे/नयाँ पत्रिका

काठमाडौं, २२ भदौ

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसारकारले जेट विमान किन्ने कम्पनी एक महिनाभित्र टुंगो लाग्ने बताएका छन् । सार्वजनिक लेखासमितिको सोमबारको बैठकमा उनले सो जानकारी दिएका हुन् ।

'अमेरिकी कम्पनी बोइङ र फ्रेन्च कम्पनी एयरबसले विमान बेच्न प्रस्ताव गरेका छन्, दुई कम्पनीसँग कुरा गरी तिहारअगावै एक कम्पनी छनोट कार्य काम सम्पन्न हुनेछ,' कार्यकारी अध्यक्ष कंसाकारले बैठकमा बताए । उनले बोइङ र एअरबसले निगमलाई छलफलका लागि ३१ अगस्तसम्मको समय दिएको जानकारी दिए । 'दुवै कम्पनीले दिएको ३१ अगस्तसम्मको समय नपुग भएकाले निगमले सेप्टेम्बर अन्त्यसम्म बढाउन दुवै कम्पनीसँग आग्रह गरेको छ,' कार्यकारी अध्यक्ष कंसाकारले भने ।

बैठकसमक्ष उनले बोइङका प्रतिनिधि काठमाडौं आई विभिन्न चरणमा छलफल भइसकेको र आइतबार एयरबसका प्रतिनिधि काठमाडौं आएको बताए । कम्पनी छानेपछि थप दुई महिना विमानको प्राविधिक जानकारी लिनुपर्ने र त्यसपछि खरिद सम्झौता हुने उनले बताए ।

सामान्यतयाः विमान खरिद आदेश दिएपछि दुईदेखि चार वर्षभित्रमा विमान आउने भए पनि अहिले एकदेखि डेढ वर्षमै विमान आउने अवस्था रहेको उनको भनाइ थियो । 'मन्दीको कारण धेरै एअरलाइन्स कम्पनीले अर्डर गरेका जहाज नकिन्ने निर्णय गरेका छन्', अध्यक्ष कंसाकारले भने, 'त्यसैले छोटो समय र सस्तो मूल्यमा जहाज पाउने सम्भावना छ ।'

अन्तर्राष्ट्रिय उडानको ९४ प्रतिशत व्यापार गरी विदेशी विमानले वाषिर्क ४० देखि ५० अर्ब कमाउने गरेको उल्लेख गर्दै कंसाकारले निगमले व्यापार बढाउन विमान थप्न अत्यावश्यक भएको बताए । कमिसन खर्च घटाउन निगमले सम्बन्धित कम्पनीसँग सोझै कुराकानी गरिरहेको दाबी उनले गरे । 'त्यसैले नेपालमा एजेन्टको काम गर्ने ठूला व्यापारी मसँग रिसाइरहेका छन्', उनको भनाइ थियो ।

नयाँ विमान थपेपछि विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले जनशक्ति थप गर्ने योजना बनाएको निगमले जनाएको छ । '२५ जना एमबिए जनशक्ति दसैंलगत्तै भर्ना गर्ने र पाइलट र इन्जिनियर पनि थपिनेछ', कंसाकारले भने, 'सहायक कर्मचारी ६ सय थपिनेछ ।' हाल निगममा १४ सय कर्मचारी छन् ।

विमान किन्न कर्मचारी सञ्चयकोषले १० प्रतिशत ब्याजमा १० अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको छ । यसका लागि नागरिक उड्डयन मन्त्रालयले सरकार ग्यारेन्टी बस्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

२२ वर्षअघि ४ बोइङ र १८ टि्वनअटर गरी २२ जहाज रहेको निगमसँग अहिले ३५ वर्ष पुराना पाँच टि्वनअटर र २६ वर्ष पुराना दुई बोइङ छन् ।

बैठकमा सांसदले जहाज किनेर गर्ने फाइदा योजना माग गर्दै निगममा भएको वैधानिकता विवाद टुंगो लगाएर मात्र खरिद प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । समितिले पर्यटनमन्त्री शरतसिंह भण्डारीसँग छलफल गर्ने निर्णय गरेको छ । सांसद डा. प्रकाशचन्द्र लोहनीले निगमले भएका विमान पूर्ण उपयोग गरी आम्दानी गर्न नसकेकाले नाफाको प्रत्याभूति नभई जहाज किन्न नहुने विचार राखे । 'अहिले निगमले भएका विमानमा ४० प्रतिशतभन्दा बढी यात्रु भर्न सकेको छैन', उनले भने, 'यो अवस्थामा अरु विमान थप्नुको औचित्य हुँदैन ।'

बैठकमा निगमका अधिकारीले पुराना जहाजको सेवा भरपर्दाे नभएको हुनाले पूर्ण क्षमता उपयोग गर्न नसकिएको तर्क गर्दै नयाँ विमान आए क्षमता उपयोग गरिने दाबी गरेका थिए । यदि निगमले नाफाको व्यापार योजना प्रस्तुत गरेमा वित्तीय संस्थाबाट कर्जा पाउन सरकार ग्यारेन्टी बस्नु नपर्ने भनाइ डा. लोहनीको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by