एकै थलोमा नुनदेखि सुनसम्म पाइने डिमार्टमेन्टल स्टोरको अवधारणा मुलुकका विभिन्न सहरमा विकसित भइरहेका बेला यहाँका ग्राहक भने यसको रहर पूरा गर्न इटहरी वा धरान धाउन बाध्य छन् । ९ वर्षअघि खुलेको एक डिपार्टमेन्टल स्टोर पनि बन्द भएको ६ वर्ष भइसक्यो । अर्को खुल्ने कुनै सुरसार छैन ।
'यति ठूलो सहरमा डिपार्टमेन्टल स्टोर नहुनु लाजमर्दो कुरा हो,' स्थानीय जीवन भट्टराई भन्छन् । एउटै छानामुनि आवश्यक सबै सामान पाइने यस्ता पसल हरेक सहरमा प्रतिस्प्रर्धात्मक रूपमा खुलिरहेका छन् । हालैका दिनमा विकसित बन्न थालेको इटहरीमा चारवटा स्टोर खुलिसकेका छन् । २०५० सालमा पहिलोपल्ट यहाँ एउटा खुलेको थियो । २ वर्षमै बन्द भयो । त्यसपछि २०५६ सालमा अर्को डिपार्टमेन्टल स्टोर खुल्यो । करिब १ करोडको लगानीमा खुलेको उक्त स्टोर पनि ३ वर्षमै बन्द भयो ।
व्यवस्थापनका प्राध्यापक शिरिष रिजालले १ करोडको लगानीमा खोलेका थिए । 'यहाँकै अभावमा बन्द गरें,' रिजालले भने, 'उपभोक्ता सचेत नभएसम्म सञ्चालन गर्न कठिन हुँदो रहेछ ।' उनले उक्त व्यवसायबाट ८० लाख रुपैयाँ डुबेको बताए ।
उपमहानगरपालिकाको जनसंख्या करिब ४ लाख छ । करिब चार हजार पसल छन् । तर पनि डिपाटमेन्टल स्टोर राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।
उपभोक्तामा चेनताको कमी र खुला सीमाका कारण यहाँका अन्य पसलसमेत विस्थापित हुँदै गएका छन् । डिपार्टमेन्टल स्टोर नखुल्नु अर्को कारण यहाँको अव्यवस्थित सहर पनि हो । बजार क्षेत्रका सडक जीर्ण छन् भने बजारको बीचमा सब्जीमण्डी
छ । यहाँ न त व्यक्तिले व्यापारिक प्रयोजनका लागि ठूला र व्यवस्थित भवन बनाएका छन् न त उपमहानगरपालिकाले बनाएको छ । बजारको बीचमा रहेको उपमहानगरको जग्गामा अव्यवस्थित तरिकाले तरकारी पसल सञ्चालित छन् ।
विराटनगरका ८० प्रतिशतभन्दा बढी बासिन्दा भारतको जोगबनी बजारबाटै खाद्य वस्तु तथा लत्ताकपडा किनमेल गर्ने गर्छन् ।
No comments:
Post a Comment