नयाँ पत्रिका/प्रमिला देवकोटा
२६ वर्षसम्म अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा अध्यापन गरेकी डाक्टर मीनासिंह खड्का आफ्नो नेपाली नागरिकता सुरक्षित राख्दै नेपालै फर्किन् र समाजसेवामा लागिन् । निरक्षरहरूलाई आफ्नै खर्चमा पढाउने 'ल्याप्चे होइन.' अभियान चलाएकी खड्काको दाबी छ- समाजसेवाकै लागि मैले सहरका दुई घर बेचेर बेघर भएकी छु ।'
अघिल्लो वर्ष बूढानीलकण्ठमा सञ्चालित एउटा वृद्धाश्रमको कार्यक्रममा डा. मीनासिंह खड्कालाई अतिथिका रूपमा निम्त्याइयो । उनी गइन्, दस किलो आँप बोकर । कार्यक्रममा सबै वृद्धाहरू खुसी देखिन्थे । तर एउटा कुनामा बसिरहेकी वृद्धाले उनलाई अलि फरक नजरले हेरिन्, आक्रोशित नजरले केही भन्न खोजेझैं । ती वृद्धा खड्काको नजिक आइन् । तर, आयोजकले वृद्धालाई फिर्ता पठाए । कार्यक्रम सकिएपछि उनले वृद्धालाई आफंै खोजिन् । उनलाई लाग्यो- सायद केही माग्न खोजेकी पो हुन् कि ? सोधिन्, 'आमा के समस्या छ ?' वृद्धाको जवाफ थियो, 'हेर, हामी तिमीले ल्याएको आँप खाने होइनौँ । पैसा तिरेर बसेका छौँ यहाँ । महिनाको दुई हजार तिर्छौँ, मगन्ते नसोच्नु नि ?' उनी झसंग भइन् । त्यो वृद्धाश्रममा ६० जनाको रेकर्ड थियो, बस्थे जम्मा नौजना । आश्रमले सत्यनारायणको पूजा लगाएर वृद्धाहरू भेला पार्ने र फोटो खिचेर पैसा बटुल्ने गरेको पनि डाक्टर खड्काले तिनै वृद्धाबाट थाहा पाइन् । पछि आयोजकले ती वृद्धालाई अर्धपागलको संज्ञा दिएर भनेछन्- यिनी बेलाबेलामा सन्किन्छिन् । औषधि नखाए यस्तै हुन्छ यिनलाई ।'
***
यी डाक्टर मीनासिंह खड्का अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा २६ वर्ष 'वुमन स्टडी' पढाएकी प्राध्यापक हुन् । अहिले नेपालमा उनी झन्डै डेढ लाख महिलालाई पढाइरहेको बताउँछिन् । तीमध्ये चार हजारभन्दा बढी साक्षर भइसके । दुई सय ५० युनिभर्सिटी तहको पढाइ गर्दै छन् । त्यति धेरै संख्यामा पढाउन र त्यसको व्यवस्था गर्नका लागि उनले कुनै गैरसरकारी संस्था खोलेकी छैनन् । उनीसँग पाँच सय स्वयंसेवक छन्, जसले सदस्यता लिएबापत दुई सय तिरेका छन् । उनले राखेको अभियानको नाम हो- ल्याप्चे होइन, नाम लेख । आफ्नो नाम आफै लेख ।
पेसाले उनी प्राध्यापक । पढाउन छाडेर समाजसेवा ! सहयोग गर्ने तरिका अरू थिएनन् र आफंै अगुवा भएर लाग्नुपथ्र्याे ? उनीसँग यसको बलियो कारण छ । ६ वर्षजति अगाडि उनी नेपाल आएको बेला पारेर एउटा संस्थाले बोलायो । सामाजिक संस्था थियो, राम्रो नाम चलेको । त्यसैले नजाने कारण थिएन । ग्ाइन् । राम्रो स्वागत भयो । उनले केही सहयोग गर्ने सोचिसकेकी थिइन् । तर, उनीहरूले जे माग गरे, त्यसले उनको 'मुड' फेरिदियो । तिनले के मागे त्यस्तो ? 'फर्निचर, कम्प्युटर र टेलिफोन । मलाई लागेको थियो कसैलाई पढाउने प्रस्ताव राख्छन् । नेपालका अधिकांश सेवामुलक संस्था होटलभन्दा बढी सजाइएका हुन्छन्,' उनले भनिन् । त्यसपछि जुरुक्क उठेर उनी बाटोमा पुगिन् । टेम्पो आइरहेको थियो, चढिन् र घरतिर लागिन् । बाटोमा हिँड्दाहिँड्दै उनले सोचिन्, 'जे गर्ने आफै गर्ने, एक डलर पनि कसैलाई नदिने ।' त्यसलगत्तै उनले कास्कीको एक गाउँमा एक सय एकजना महिलाबाट ल्याप्चे अभियान सुरु गरिन् ।
अहिलेसम्म पैसा बाँड्दा उनले आफ्ना दुई घर बेचिसकेेको बताइन् । 'पोखरामा थियो, काठमाडौंमा पनि । दुवै बेचेँ । साढे तीन करोड खर्च भयो । तर पनि सरकारले गरिस् भन्दैन,' मेलम्चीपछाडि भाडाको फ्ल्याटमा उनले सरकारमाथि आक्रोश पोखिन्, 'मलाई फोस्रो सम्मान चाहिएको होइन । स्याबास तैले गरिस् भन्दिनु त पर्छ ।'
नेपालमा खुलेका सामाजिक संस्थामध्ये धेरै कमले मात्र सेवा-भावना राखेका छन्, काम गरेर देखाएका पनि छन् । महिलासँग सम्बन्धित ६ हजार ४७ संस्थाका तथ्यांक उनले देखाइन् । त्यसो त समाज कल्याण परिषद्मा दर्ता भएका संस्था ३० हजारको हाराहारीमा छन् । यी सबैले आफ्ना विधानमा 'विशुद्ध समाजसेवा' लेख्छन् । तर, सबैको काममा देखिएको छैन । त्यसलाई उद्धृत गर्दै उनले भनिन्, 'मैले देखेका महिला क्षेत्रमा साँच्चिकै काम गर्ने संस्था ४७ मात्र छन् । जसले कामका लागि लिएको पैसा ती मान्छेसम्म पुग्छ ।'
***
नेपालको गरिबीको फाइदा उठाउने देशभित्र मात्रै होइन्, बाहिर अझ बढी भएको दाबी छ उनको । उनी क्यालिफोर्नियामै हुदा नेपालप्रेमी हिमालआरोही र लेखक (नेपालकै विषयमा केही किताब लेखेका) थिए एकजना । धेरैजना उनीदेखि प्रभावित थिए । उनले खिचेका फोटोले धेरैको मन रुवाउँथ्यो । त्यो रुने मन डाक्टर मीनाको पनि थियो । उनले पटकपटक गरी केही हजार डलर सहयोग पनि गरिन् । यसैगरी उसले लाखौँ डलर कमायो । उनी नेपाल आउँदा त्यो संस्थामा गइन् । त्यहाँ उनलाई थाहा भयो- 'लाखौँ डलर उठाउने र सयमा बुझाउने गर्दा पो रहेछन् । तथापि उनको इज्जत/प्रतिष्ठा कुनै देउताको भन्दा कम थिएन ।'
अमेरिकाको नागरिकता पाउनु धेरैको सपना हुन्छ । त्यसलाई ठूलो 'भाग्य' ठानिन्छ । विकिपिडियामा उल्लेख गरिएको तथ्यांकअनुसार एक लाख दस हजार ६ सय सोह्र नेपाली अमेरिकन नेपाली भइसकेका छन् । सुरुमा क्यालिफोर्निया युनिभर्सिटीमा रिसर्चरका रूपमा छिरेकी यी डाक्टरले भने त्यो भाग्यको परीक्षा दिइनन् । 'मैले कहिल्यै नागरिकताका लागि आवेदन नै दिइनँ, म नेपाली हुनुको प्रमाणलाई मैले किन मेटाउने ? गि्रनकार्डबाटै मैले सबै सुविधा लिएँ,' उनले देशप्रेम देखाइन् । सायद तीन दशक लामो बसाइले सिकायो कि ! उनले नेपाली पहिचान नगुमाउन विश्वविद्यालय जाँदा सधैँ साडी लगाइन्, त्यहाँ उनको नामै राखिदिए 'सारी लेडी' ।
उनी नेपालमा आफंै काम गर्न कस्सिएको ६ वर्ष भइसक्यो । त्यसमाथि उनी महिलाको विषयमै डाक्टरी गरेकी । उनले नेपाली महिलामाथि हुने ठूलो विभेद के देखिन् ? 'पहिचानको कमी । उनीहरूसँग आफ्नो नाम नै छैन । नेपालभन्दा कयौंगुना गरिब मुलुकका महिलासँग नाम छ । यहाँ छैन्,' उनी भन्छिन्, 'कान्छी, भुन्टी, च्याप्टी । जीउ र रूपरंग हेरेर अरूले नाम राखिदिन्छन् । सोध्यो भने अन्कनाउँदै त्यही भन्छन् । जनावरको नाम हुन्छ नि- खैरे, काले, सेते । नेपाली महिलाको नाम पनि त्यस्तै छ ।'
उनले सुरु गरेको अभियानमा पढेकी एक महिलाले यो वर्ष दोस्रो श्रेणीमा एसएलसी पास गरिन् । तिनी पूर्वप्रधानपञ्च थिइन् । तर, नाम लेख्नसम्म पनि नआउने । केहीले त दुई कक्षाको अध्ययन नसक्दै एसएलसी दिन फारम भरेछन् । त्यसो गर्दा हुने त फेल नै थियो । उनले सोधिन्, 'नसक्नेले किन दिएकी ?' तिनको जवाफ आयो, 'पाच वर्ष लगाएर पास गर्छु । पास गर्नै नसके पनि कम्तीमा म एसएलसी फेल भन्न त
पाइन्छ ! नातिनातिनाको अगाडि बेइज्जत भयो ।' खड्काले दाबी गरिन्, 'हाम्रो अभियानले महिलाको आत्मसम्मान बढायो ।'
६ वर्षको अवधिमा उनलाई धेरै मन दुखाएको एउटा घटना छ । कास्कीको एउटा गाउँमा लोग्नेले एक कक्षा मात्रै पढेको, श्रीमतीले चाहिँ सातसम्म । एड्ससम्बन्धी एउटा कार्यक्रम आएछ । त्यहाँ पर्चा बाँडियो । श्रीमान्ले त्यो पर्चा गोजीमा हाल्यो । श्रीमतीले त्यहीँ पढ्न थाली । पढेर सकिँदानसकिँदै लोग्नेले जुरुक्क उठेर थप्पड हान्यो, 'तँलाई मेरो बेइज्जत गर्न यही पढ्नुपर्ने ?' थप्पड कति शक्तिशाली थियो भने कानबाट रगत आयो । उनलाई आमा समूहले सुरक्षा दिएर राखे । ती महिलाले पढेकोमा पहिलोपटक आफैंले आफंैलाई धिक्कारिन्, 'नपढेको भए यो दिन देख्नु त पर्दैनथ्यो ।'
श्रीमान्ले भन्दा धेरै पढेको 'अपराध'को सजायबापत सार्वजनिक कार्यक्रममै मुक्का खाएकी ती महिलाको नर्स बन्ने धोको थियो । तिनलाई पढ्न त्यहाँको आमा-समूह र डाक्टर मीनालगायतले सहयोग गरे । अहिले ती महिलाले कास्कीकै एउटा गाउँमा हेल्थपोस्ट चलाउँछिन् । 'गाउँको नामचाहिँ भन्दिनँ है । त्यो लोग्ने खोज्दै फेरि त्यहीँ पुग्ला ! विभेदमा परेका मानिसले सफलता पाएको देख्दा साँच्चिकै खुसी लाग्दो रहेछ । हाम्रा लागि अवार्ड त्यही त हो,' यति भनिसकेर उनी गमक्क परिन् ।
No comments:
Post a Comment