ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 9, 2009

युटिएलका सवा लाख फोनबाट चोरीका कल



नयाँ पत्रिका /यदु देवकोटा
युनाइटेड टेलिकम लिमिटेड (युटिएल) का करिब सवा लाख फोनबाट अवैध रूपमा विदेशमा फोन भइरहेको पुष्टि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको छानबिन समितिले नै युटिएलका मोबाइल तथा सिडिएमए फोन दुरुपयोग भइरहेको ठहर गरेको छ ।  समितिले निगरानी गर्दा युटिएलका फोन सेटबाट कल बाइपास गरी विदेश फोन सम्पर्क हुने गरेको छ । छानबिन समितिले युटिएलका १२ देखि १३ प्रतिशत फोनबाट कल चोरी भइरहेको पत्ता लगाएको छ । १२ देखि १३ प्रतिशतबाट कल क्लोनिङ (चोरी) हुनु भनेको युटिएलका करिब सवा लाख फोन दुरुयोग हुनु हो । कम्पनीले ग्राहक संख्या १० लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ ।

नेपालका सबै टेलिफोन कम्पनीको अनुगमन दूरसञ्चार प्राधिकरणले गर्छ । तर, अनुगमन गर्ने प्राधिकरणकै कार्यालयमा रहेका युटिएलका नम्बरसमेत दुरुपयोग गरी विदेशमा फोन गरिएको छ ।

छानबिन समितिले यही वर्षको १ भदौदेखि ८ भदौैसम्म दूरसञ्चार प्राधिकरणले आफ्नै कार्यालयमा राखिएका युटिएल सेटको अनुगमन गरेको थियो । प्राधिकरणमा रहेका तीनवटा सेटबाट एक सातामा एक हजारभन्दा बढी कल बाइपास गरिएको थियो । कल बाइपास गर्दा कल रेकर्ड हुँदैन र राजस्व ठगिन्छ ।

अनुगमन गर्ने निकायकै फोन नम्बर अरू कसैले प्रयोग गर्छ भने सर्वसाधारणको नाममा भएका फोन पनि दुरुपयोग भएको ठहर समितिको छ । अझ आश्चर्य, जुन दिन दूरसञ्चार प्राधिकरणका नम्बर प्रयोग भएका छन्, त्यसमा शनिबार र बाबुको मुख हेर्ने दिन पनि छन् । यी दुवै दिन दूरसञ्चार प्राधिकरणको कार्यालय बन्द हुन्छ । तर पनि अरू कसैले यो नम्बर प्रयोग गरी कल बाइपास गरेको थियो ।

कल बाइपास गर्दा टेलिफोनका ग्राहकलाई थाहा हुँदैन, उनको नाममा बिल पनि आउँदैन । तर, कल हुन्छ र राजस्व ठगिन्छ ।

युटिएलको अपरेटिङ सिस्टमको लापरबाहीका कारण नै यसरी अवैध कल भइरहेको छानबिन समितिको ठहर छ । छानबिन समितिले युटिएलको अपरेटिङ सिस्टमबाटै गडबडी भएको ठहर गर्दै उसलाई दिएको लाइसेन्सका सर्तमा पुनरावलोकन गर्न समितिले प्राधिकरणलाई सिफारिस गरेको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा १७ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ११ गते तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । समितिले युनाइटेड टेलिकमका कर्मचारी तथा त्यो संस्थालाई मात्र थाहा हुने सेक्युरिटी नम्बरहरू प्रयोग गरेर फोन क्लोनिङ (चोरी) तथा कल बाइपास हुने गरेकोले त्यहाँ कार्यरत कर्मचारीहरू नै कल बाइपासजस्तो अवैध धन्दामा संलग्न हुने गरेको आशंका गरेको छ ।

समितिले युनाइटेड टेलिकमबाट सञ्चालित मोबाइल र सिडिएमए फोन सेवाहरूका लागि वितरण गरिएको फोन सेटहरूको इलेक्टि्रकल सिरियल नम्बर, मोबाइल डाइरेक्ट्री नम्बर, मोबाइल आइडेन्टिफिकेसन नम्बर र आधिकारिकता कि (एकी) हरू असुरक्षित रहेको निष्कर्ष निकालेको छ । समितिले आफ्नो प्रतिवेदनमा युनाइटेड टेलिकमबाट वितरित मोबाइल सेटहरू तथा सिडिएमए फोन सेटहरूमध्ये कति सेटहरू असुरक्षित रहेका छन् भन्ने कुरा स्पष्ट भने गरेको छैन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by