ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 12, 2009

हाल खवर बुझ्दै घरघरमा प्रहरी


माधब अर्याल /पाल्पा- 
हातमा 'घरदैलो हालखवर तथा शुभकामना कार्यक्रम २०६६' लेखिएको झोला । बर्दीधारी तीन चार जना प्रहरीको टोली घर घरमा पुगि सोध्दै छन्, आमा, बुवा सन्चै हुनुहुन्छ ? के छ तपाईका पीर मर्का ? गुनासा के छन् नी ?  हातमा लाठी लिएर चिटिक्क परि गाउमा पुगेका प्रहरीको प्रश्नमा गाडाकोट गाविस पन्थेका बुढा बा दानबहादुर मल्लले जवाफ फर्काए, 'अ, बाबु सन्चै छु, छोरा बुहारी रामपुर तिरै झरेका छन्, हामी बुढाबुढी मात्र यहा बस्छौ, के कामले आयौ त हाम्रा घरमा ?'
जनताको घर दैलोमा पुगि हालखवर बुझ्ने, सन्चो विसन्चो, पिरमर्का, गुनासा वुझि समाधान गर्न हिडेका प्रहरीले मल्ल बा संग भने, 'केहि काम भए भन्नु होला, हामी तपाईहरुको केहि दुख छ कि भनेर आएको हो' प्रहरीका कुराले बा अचम्म परे । उनले यस संवाददातालाई सोधेे, 'होईन बाबु कहिले देखि प्रहरी यसरी जनतासंग आउन थाले ?'

व्यक्तिगत र सरकारी कामहरु जनताको घरदैलामै पुगेर समाधान गर्न हिडेका प्रहरीको व्यवहार देखेर पाल्पाका गाउ गाउका बासिन्दा यतिबेला अचम्मित भइरहेका छन् । 'पहिले हतपति नबोल्ने प्रहरीको व्यवहार देखेर मलाई त अचम्म लाग्यो' दर्छा गाविस देवीस्थानकी अधवैशे महिला दिलीसरा थापाले आशा व्यक्त गरिन््, 'यस्तै व्यवहार गरेभने त जनता र प्रहरीको सम्वन्ध फेरि राम्रो हुन सक्छ'

यसका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका पुर्वदेखि पश्चिम क्ष्ाेत्रका सबै १३ यूनिटलाई खटाएको छ । यतिमात्र होईन सदरमुकाम तानसेनमा बस्ने प्रहरी समेत दैनिक गस्तीमा जादा झोला र डायरी लिएर हिड्न थालेका छन् । तानसेनका विद्यार्थी, व्यापारी, संचारकर्मी, उद्योगी, सर्वसाधारणका घरमा हालखवर वुझ्दै र समस्या पहिल्याउदै पुगेका छन् ।

जिल्लाका ५८ हजार घरधुरीमा जाने लक्ष्य प्रहरीको छ । 'अहिले सम्म १० हजार घरधुरीमा प्रहरी पुगिसकेका छन्' जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक पवन गिरीले भने,'अव बांकी घरधुरीमा पनि पुग्नेछन्' यो अभियान पाल्पामा दुई साता देखि सुरु भएको हो । घरदैलो हालखवर कार्यक्रम किन त ? प्रहरी प्रमुख गिरी सहजै भन्छन्, 'यो नौलो काम हो, जसले जनता र प्रहरी बीचको सम्वन्ध सुधार गर्छ भने विश्वासको बातावरण बनाउने छ'

अन्याय र अत्याचार, शोषण, पिडितको अन्त्य गर्ने, जनताको काम छिटो छरितो गर्ने, घरेलु हिंसा रहित समाजको निर्माण गर्न यस्तो कार्यक्रम ल्याउनु परेको उनले बताए । जिल्लाका सबै प्रहरी यूनिटबाट तीन, चारजनाको समुहमा प्रहरी घरघरमा खटिएका छन् । 'हाम्रो क्ष्ाेत्रको गाविसको पुरै विवरण संकलन गरिसकेका छौ, अव केहि घरधुरीमात्र बाकी छ' राम्दी प्रहरी चौकी प्रमुख लोकनाथ पाण्डेले भने,'यसले गर्दा हामीलाई नै काम गर्न धेरै सजिलो भएको छ'

घरदैलोमा पुग्दा झै झगडा, जग्गा विवाद, सांध सिमना, घरेलू हिंसा जस्ता समस्या सुल्झाउने काम समेत गरेको छ । 'गाउमा पुग्दा र गाउलेसंग घुलमेल हुदा छुट्टै मजा आउछ' इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक निर्मल बुढाथोकीले भने,'घटित अपराधको सफल अनुसन्धान र दोषी उपर कानुनी सजाय दिलाउन समेत सहयोग पुगेको छ'

प्रहरी चौकीले कम्तीमा तीन गाविस र इलाका प्रहरी कार्यालयले नौ गाविस सम्म पुग्नुपर्ने हुन्छ । 'यस्तो अभियानले त समाजलाई नै शान्ति सुरक्षा प्रति विश्वास दिलाउन थालेको छ' रामपुरका हुमनाथ न्यौपानेले आशा व्यक्त गरे, 'प्रहरी र जनताको सम्वन्ध सुधार्न फलदायि ठानेको छु' आफ्नै आचरण र व्यवहारमा परिवर्तन, जनतासंगको शिष्टता, सभ्य व्यवहार, प्रहरी रक्षक हो भक्षक होईन भनी पहिल्यै सिकाइएकोले गाउलेले पनि आफुहरुलाई निकै राम्रो मानेको प्रहरी नायव निरिक्षक शमशेर जीसीले सुनाए ।

प्रहरीलाई पहिल्यै आचरणबारे प्रहरी नायव उपरिक्षक गिरीले सिकाउदै कक्षा लिदै हिडेका छन् । उनले इलाका प्रहरी कार्यालय रामपुर देखि पश्चिमको जुठापौवा सम्मका चौकीमा पुगेर घरदैलो हालखवर तथा शुभकामना कार्यक्रमको बारेमा कक्षा लिएको बताए । जनताका गुनासा, पीरमर्का वा कुनै समस्या ध्यानपुर्वक सुन्ने, आफ्नो मातहतमा समाधान गर्न नसक्ने भए माथिल्लो निकायमा पठाउन अनुरोध जिल्लाले गरेको छ ।

गाविसमा के कस्ता संभावना छन् ? धार्मिक, ऐतिहासिक स्थल कति छन् ? जस्ता कुराको समेत गाउ गाउमा रेकर्ड राखिने र कहा जान कति दुरी लाग्छ जस्ता तथ्याङ्क समेत राखिएको छ । 'यसो गर्दा प्रहरीलाई आगामी दिनमा काम गर्न सजिलो हुनेछ' प्रहरी प्रमुख गिरीले भने,'प्रहरीलाई सुझाव आउछ भने जनतासंग घुलमिल भईन्छ' लामो अवधिको द्धन्द्धबाट गुजि्रएको समाजलाई शान्त र अपराध रहित समाजको सिर्जना र प्रहरी जनता बीच चिसिएको सम्वन्धलाई पुना तरोताजगी बनाउन यो अभियान सफल हुने आशा प्रहरी प्रमुख गिरीले व्यक्त गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by