ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

मौसमकै बढी माउन्टेन फ्लाइट


शिला पाण्डे- कांतिपुर
शनिबार एकै दिनमा २८ पटक जहाजहरू विदेशी पाहुना बोक्दै हिमालयको दृश्यावलोकन गराउन उडे । यससँग शनिबार यस मौसममा सबैभन्दा बढी माउन्टेन फ्लाइट भएको दिन बनेको छ । पर्यटकीय मौसममा घुम्न आउने विदेशी पाहुनाको संंख्या बढेपछि माउन्टेन फ्लाइट उडानको संख्या पनि बढेको हो । मौसममा नियमित १० उडान भर्ने बुद्ध एयरले शनिबार १५ वटा माउन्टेन फ्लाइट गरेको जनाएको छ । 'यो मौसमकै सबैभन्दा बढी हो,' बुद्ध एयर, मार्केटिङ सिनियर मेनेजर रूपेश जोशीले भने, 'बेमौसममा दैनिक ३ वटासम्म उडान हुन्थ्यो ।' बुद्धको १५ सहित शनिबार कुल २८ माउन्टेन फ्लाइटले उडान भरेका छन् ।

यो वर्ष अक्टोबर महिनामा बुद्धले मात्रै ५ सय ४२ माउन्टेन फ्लाइट उडेका थिए । यद्यपि अघिल्लो वर्षको तुलनामा यो कम हो । जोशीका अनुसार गत वर्ष यही महिना कुल ५ सय ५० उडान भएको थियो । 'यसपालि आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या वृद्धि भएकाले एयर ट्राफिक बढी छ,' उनले भने, 'उडान भर्न धावनमार्गमै यसको धेरै समय जान्छ, त्यसैले धेरै संख्यामा उडान नभएको हो ।' आन्तरिकतर्फ दैनिक दुई सय पटक जहाज आउने/जाने गर्छन् भने अन्तर्राष्ट्रिय हवाई कम्पनीले पनि दैनिक २० वटासम्म उडान गर्ने गरेका छन् । माउन्टेन फ्लाइट गर्ने अन्य हवाई कम्पनीमा अग्नि एयर, यती एयरलाइन्स र गुण एयर छन् ।

यीमध्ये गुणले शनिबार पाँच माउन्टेन फ्लाइट उडान गरेको जनाएको छ । 'पर्यटक चाप बढेकाले उडान संंख्या बढेको हो,' गुण एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले भने 'आवश्यकता परे थप उडान गर्न सकिन्छ ।' माउन्टेन फ्लाइटका लागि गुणसँग ३ जहाज छन् । पर्यटक चापका कारण यसैसाता गुणले एक दिनमा सबैभन्दा बढी ६ उडानसम्म गरेको थियो । 'गुणले अक्टोबर महिनामा १ सय २० माउन्टेन फ्लाइट उडान भरेको थियो,' थापाले भने ।

शनिबार मौसम सफा हुँदा पर्यटकले प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्न सक्ने भएकाले बढी उडान भएको यती एयरलाइन्सका सिनियर म्यानेजर विनय शाक्यले बताए । 'मौसम सफा हुँदा पर्यटक चाप बढेको थियो,' शाक्यले भने । यस दिन यतीले ४ माउन्टेन फ्लाइट उडान गरेको छ । विन्डो सिट कम भएकाले आफूहरूले माउन्टेन फ्लाइटलाई त्यति जोड नदिएको उनको भनाइ छ । 'बढी उडान गर्नुपरे पाँचसम्म पुग्छ,' उनले भने, 'यसभन्दा बढी उडान निकै कम हुने गर्छ ।'

यसपालि लगातार पाँच महिनायता पर्यटक आगमन संख्या बढ्दो क्रममा छ । अघिल्लो वर्षको तुलनामा यसपालि अक्टोबरको पर्यटक आगमन संंख्या १० दशमलव ८ प्रतिशतले बढेर ५६ हजार ९ पुगेको छ । यसअघि जुनमा ६, जुलाईमा १०, अगस्तमा ५ र सेप्टेम्बरमा ५ दशमलव ५ प्रतिशतले पर्यटक वृद्धि भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by