ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

नयाँ प्याराग्लाइडिङ कम्पनी आउने


नयाँ पत्रिका/नवीन तिमिल्सिना

पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै नयाँ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आउने भएको छ । सन् २०१० को जनवरीदेखि सञ्चालनमा आउने गरी अन्नपूर्ण प्याराग्लाइडिङले सेवा सञ्चालन गर्न लागेको हो । मुलुकको छैटौँ प्याराग्लाइडिङ कम्पनीका रूपमा सञ्चालनमा आउने तयारी गरिरहेको सो कम्पनी नागरिक उड्डयन प्राधिकरणबाट सञ्चालन अनुमति पाउने अन्तिम चरणमा छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सैद्धान्तिक सहमति पाइसकेको र प्राधिकरणको निरीक्षण कुरिरहेको कम्पनी सञ्चालक तुलाराम पौडेलले बताए । 'प्राधिकरण पदाधिकारीको यसै साता निरीक्षण कार्यक्रम रहेको छ,' उनले भने, 'निरीक्षणपछि प्राधिकरणले अनुमति दिएमा २०१० देखि सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।' हाल पूर्वाधार विकासलगायतका काम भइरहेको उनले बताए । प्राधिकरण स्रोतले पनि यही साता सो कम्पनीको भौतिक पूर्वाधार निरीक्षण गर्न जाने बताएको छ । 'प्याराग्लाइडिङ कम्पनीका लागि विशेष व्यवस्था नभएकाले कम्पनीले सजिलै अनुमति पाउँछ,' स्रोतले भन्यो ।

पछिल्लो समय पर्यटक संख्या बढे पनि सोहीअनुरूप प्याराग्लाइडिङ गर्न चाहने पर्यटक संख्या खासै नबढेको पौडेलले बताए । 'हालको बजार अवस्थाभन्दा पनि भविष्यलाई हेरेर सेवा सुरु गरेका हौँ,' पौडेलले भने, 'अहिलेको जस्तै अवस्था रहिरहे आगामी केही वर्षमा यस क्षेत्रमा पनि उल्लेख्य पर्यटक थपिने विश्वास छ ।' सरकारले पर्यटन वर्षका रूपमा मनाउने थालको सन् २०११ देखि सो क्षेत्रमा व्यावसायिकता बढ्ने अपेक्षासहित सञ्चालनमा आउन लागेको उनको भनाइ छ ।

नेपालमा अक्टोबरदेखि मार्चसम्मको समयलाई प्याराग्लाइडिङका लागि उपयुक्त मानिन्छ । प्याराग्लाइडिङका लागि तातो हावा चाहिने हुनाले बादल लागेका तथा पानी परेको समयमा उडान भर्न असम्भव हुन्छ । अन्नपूर्ण हिमशृंखला, फेवाताल तथा सराङकोट वरपरको मनोरम दृश्य हेर्न सकिने पोखरेली प्याराग्लाइडिङ विश्वमै लोकपि्रय मानिन्छ । प्रचलित नियमअनुसार एक करोडबराबरको स्थिर पुँजी तथा २५ देखि ३० लाखसम्मको लागतमा प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्न सकिन्छ । विशेषगरी हवाई उडान नहुने क्षेत्रमा मात्रै प्याराग्लाइडिङ गरिन्छ ।

हाल नेपालमा ६ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् । ६ मध्ये पाँच पोखरामा सञ्चालित छन् भने काठमाडौंमा एक कम्पनीले प्याराग्लाइडिङ गराइरहेको छ । पोखरामा ब्लुस्काई प्याराग्लाइडिङ, सनराइज प्याराग्लाइडिङ, सराङकोट प्याराग्लाइडिङ, एभिया क्लब तथा पन्टियर्स प्याराग्लाइडिङ सञ्चालनमा आइरहेका छन् भने काठमाडौंमा गतवर्षदेखि मात्रै ह्याङग्लाइडिङ एन्ड प्याराग्लाइडिङ कम्पनीले सेवा सञ्चालनमा ल्याएको छ । साहसिक खेलका रूपमा लिइने प्याराग्लाइडिङका लागि नेपालमा विभिन्न स्थान उपयुक्त मानिए पनि विशेषगरी पोखरामा यसले लोकपि्रयता पाएको छ । बर्सेनि चारदेखि पाँच सयको हाराहारी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङ अनुभव लिने अनुमान गरिन्छ । त्यसमध्ये एकतिहाई स्वदेशी तथा दुईतिहाई विदेशी हुने गरेको व्यवसायीको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by