ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 12, 2009

'इन्डियन पुलिसले भन्यो, देश तेरो शासन हाम्रो'



लक्ष्मण सुवेदी-फिल्म-संवाद नायक/निर्माता नवल खड्कासँग
माया बसेछ र आवाजपछि नायक-निर्माता नवल खड्काले निर्माण गरेको तेस्रो फिल्म दशगजाको सुटिङ हालै सकिएको छ । भारतले गरिरहेको सीमा अतिक्रमणबाट आहत भएका नेपालीको पीडालाई कथामा उतारेको बताउने नवल सुटिङका क्रममा भारतीय प्रहरी प्रशासनबाट निकै तनाव व्यहोरेको दुखेसो पोख्छन् । अहिले पनि विभिन्न शक्तिकेन्द्रले दशगजा फिल्म पूरा हुन नदिन षड्यन्त्र र चियोचर्चाे गर्ने गरेको बताउने उनी आफ्नो फिल्म राष्ट्र र राष्ट्रियताको पक्षमा भएकाले कसैको दबाब, डर, धम्कीले आफू नडराउने अडान व्यक्त गर्छन् । दशगजाकै सेरोफेरोमा उनीसँग गरिएको वार्ताः
पहिला माओवादी जनयुद्धबारे आवाज बनाउनुभयो । अहिले नेपाल-भारत सीमाविवादको विषयमा दशगजा बनाउनुभएको छ । यस्ता फिल्म बनाउन कसरी प्रेरित हुनुभयो ?

आफ्नो देश र जनताले भोगिरहेको पीरमर्का र पीडाबारे फिल्म बनाउन कहीँबाट प्रेरित हुनुपर्दैन मलाई । यो एउटा सच्चा देशभक्तको कर्तव्य हो । मैले आफ्नो क्षेत्रबाट आफ्नो भूमि बचाउन सक्नेजति योगदान गर्नुपर्छ । म यही गर्ने कोसिसमा छु । सीमाक्षेत्रमा बस्ने लाखौँ नेपाली आफ्नो देशमा पनि अर्काको डरधम्की, त्रास र भयमा बाँच्नुपरेको छ । त्यो कुराले निकै मन पोलेकाले फिल्ममार्फत आवाज उठाउने कोसिस गरेको छु । नेपालीभाषी भएकै कारण कतिपय भुटानी शरणार्थी बन्नुपरेको छ । मेरो फिल्मले नेपाली जनताले भोगिरहेको पीडा उठान गरेको छ । नेताहरूको कमजोरीका कारण गरिएका सन्धिहरूले हामीले हाम्रो जंगल, खोलानदी गुमाएका छौँ । हाम्रै भूमि अतिक्रमित भई खुम्चिँदै गएको छ । यस्तै चाल रहिरहने हो भने भोलि देश नै नरहन पनि सक्छ । सीमा अतिक्रमणबारे कूटनीतिक पहल होस्, अन्तर्राष्ट्रिय रूपमै नेपालीको समस्या उजागर होस्, आगामी दिनमा फेरि हाम्रो भूमिमा अरूले राज्य गर्ने दुष्साहस नगरोस् भन्ने सन्देशका साथ यो फिल्म निर्माण गरिएको छ ।

कहाँ-कहाँ सुटिङ गर्नुभयो ? के-कस्ता अवरोध खडा भए ?

हामीले सबैभन्दा सीमा विवादित क्षेत्र नवलपरासीको सुस्ता, त्रिवेणी, चितवन, हेटौँडा, झापाको भुटानी शरणार्थी क्याम्प, इलाम र काठमाडौंमा पनि सुटिङ गर्‍यौँ । सुटिङका क्रममा निकै अवरोध खडा भए । लोकेसन हेर्न गएको बेलामा मैले त्रिवेणीको पुलबाट फोटो खिचेको थिएँ । इन्डियन पुलिस आएर थर्कायो । उसले 'फोटो किन खिचेको ? डिलेट गर, नत्र क्यामेरा खोस्छु' भन्यो । मैले मेरो देशको फोटो खिच्न किन नपाउने ? भनेँ । उसले हिन्दीमा 'देश तेरो होला, तर शासन हाम्रो चल्छ' भन्यो । निकै विवाद भयो । विवाद चर्किएपछि खिचेका केही फोटो डिलेट नगरी सुखै पाइएन । पछि सुटिङ गर्दा पनि उताका एजेन्ट, पुलिसहरूले कसको अनुमतिमा सुटिङ गरिस् ? यहाँ सुटिङ गर्न पाउँदैनस् भनेर विवाद गरे । हाम्रो फिल्मले नेपाल र भारतबीच द्वन्द्व चर्काउँछ, भारतलाई खराब देखाउँदै छ भनेर केही इन्डियन मिडियाले भ्रामक प्रचार गरेपछि स्थिति उग्र भयो । उनीहरूले त्यहाँ सुटिङ गर्न नदिने षड्यन्त्र गरे । मैले गृह मन्त्रालयको चिठी देखाउँदा पनि मानेनन् । सुटिङमा अवरोध गरेपछि राजेश हमाल, निखिल उप्रेतीलगायत कलाकार र प्राविधिकलाई भगाएर केही सिन अन्यत्र सुटिङ गर्नुपर्‍यो । सुस्ताका सिडिओ, एसपीसँग हाम्रो फिल्मबारे डिटेलमा बताएपछि उहाँहरूले सुटिङ गर्न सहयोग गर्नुभयो । नेपाल प्रहरीले पूरै सुटिङ युनिटलाई चौबीसै घन्टा सुरक्षा दियो । स्थानीय नेपाली जनताले पनि निकै सहयोग गरे । सुरक्षानिकाय, स्थानीय जनताको सहयोग र साथले नै विविध अवरोध र षड्यन्त्रका बाबजुद पनि कुनै कम्प्रोमाइजविना सुटिङ सिध्याइयो ।

सुनिन्छ, अहिले पनि दशगजा युनिटलाई दबाब, धम्की आइरहेका छन् रे, के हो ?

अहिलेसम्म त मलाई कसैले दबाब दिने, धम्क्याउने हिम्मत गरेका छैनन् । तर, हाम्रा केही मुख्य कलाकारलाई इन्डियन एजेन्टहरूले भेट्न बोलाउने, दशगजाबारे सोध्ने, फिल्ममा इन्डियन र इन्डियाबारे केही नराम्रो सन्देश गएमा राम्रो हुनेछैन भन्नेजस्ता धम्की र त्रास दिने क्रम भने बढेको पाइएको छ । दशगजामा भारतविरोधी कुनै कुरा छैनन् । कुनै देशको विरोध गर्न फिल्म बनाएको होइन । मात्र, हाम्रो भूमि अतिक्रमण हुनु भएन । हामी आफ्नो जमिनमा स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्‍यो भन्ने कुरा उठाइएको छ । नागरिक-नागरिकबीच वैमनस्य, नेपाल र भारतबीचको सम्बन्धमा असर पर्ने कुनै दृश्य, संवाद छैनन् । दशगजाले स्वतन्त्र नेपाल र नेपालीको कल्पना गरेको छ ।

दशगजा कहाँ, कहिले प्रदर्शन गर्ने योजना छ ?

भर्खरै सुटिङ सकिएर पोस्ट-प्रोडक्सन सुरु भएको छ । छिट्टै नै एक कार्यक्रम गरी सुटिङका क्रममा भएका षड्यन्त्र, अवरोध, र पीडाबारे जानकारी दिँदै नेपाली जनताले भोगिरहेको वास्तविक पीडा उठाइएको फिल्म भएकाले सहज रूपमा निर्माण, प्रदर्शन गर्ने वातावरण मिलाउन सहयोग गरिदिनका लागि राजनीतिक दल, नेता, कूटनीतिक निकाय, प्रशासन तथा आमनेपाली जनतासमक्ष अनुरोध गर्ने सोचाइ छ । दशगजा मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमै प्रदर्शन गर्नेछौँ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by