ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 12, 2009

नेपालसम्म पेट्रोलियम पाइप बिच्छाउन इरान तयार

काठमाडौं(नागरिक)- 
इरानले नेपालसम्म सोझै पेट्रोलियम पाइप लाइन बिच्छाउन सकिने तर यस निम्ति विस्तृत छलफल आवश्यक हुने बताएको छ। चीन र भारतसम्म पेट्रोलियम लाइन बिस्तारका लागि काम गरिरहेको इरानले नेपालसम्म त्यसलाई तन्काउन सकिने बताएको हो। 'नेपालसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न सकिन्छ' इरानी राजदूत सयद म्हादी नाविजादेहलाई उद्यृत गर्दै परराष्ट्र मन्त्रालयका अधिकारीले भने, 'तर यस निम्त विस्तृत छलफल आवश्यक पर्छ, हामी यसमा सकारात्मक छौं।' इरान हाल साउदी अरेबियापछि विश्वमै धेरै पेट्रोलियम उत्पादन गर्ने राष्ट्र हो। राजदूत नाविजादेहले नेपालमा इरानी सहयोग र संभावित लगानीलगायत विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री शरदसिंह भण्डारी, परराष्ट्र सचिव मदन भट्टराई लगायत उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।
 
उपप्रधानमन्त्री कोइरालाले दुई छिमेकी चीन र भारतसम्म पेट्रोलियम पाइप बिच्छाउँदै गरेको इरानबाट नेपालले के फाइदा लिनसक्छ भन्ने जिज्ञाशा राखेकी थिइन्। जवाफमा राजदूतले नेपालसम्म पेट्रोलियम पाइप यहाँसम्म तन्काउन सकिने बताएका हुन्। इरानले नेपालका संभावित ठाउँमा तेल प्रशोधन, नविकरणीय उर्जालगायत क्षेत्रमासमेत विशषज्ञ पठाएर सहयोग गर्न इच्छुक देखिएको छ।
 
'नेपालमा खनिज तेलको अनुसन्धान र वैकल्पिक उर्जा उत्पादनमा विशषज्ञ पठाउने इरान सकारात्मक देखिएको छ' परराष्ट्र मन्त्रालयमा मध्यपूर्व तथा अफ्रिका शाखा हेर्ने अर्जुन पन्तले नागरिकसँग भने। परराष्ट्र सचिव भट्टराईका अनुसार राजदूत नाविजादेले सौर्य तथा वायु उर्जा, क्यान्सरलगायत घातक रोग निको गर्न उपयोगी 'स्टिम-सेल रिसर्च', वायो तथा नासो प्रविधिमा सहयोग आदान प्रधान गर्न सकिने बताएका छन्। 'इरानले यी प्रविधिमा राम्रो गरेकाले सहयोग गर्न सकिने बताउनुभयो' उनले भने।

इरानी लगानी, सहयोग तथा द्विपक्षीय चासोका सम्बन्धमा छलफल गर्न सैयद दिल्लीबाट मंगलबार आएका थिए। उनी बुधबार दिल्ली फर्किएका छन्। दिल्लीस्थित इरानी दूतावासले नेपाल पनि हेर्दै आएको छ। नेपाल-इरानबीच कूटनीतिक सम्बन्ध मजबुत बनाउन र इरानमा नेपाली दूतावास पुनः खोल्न राजदूत नसपवादेहले आग्रह गरेको भट्टराईले जानकारी दिए।
 
सन् १९६४ मा नेपाल-इरान दौत्य सम्बन्ध स्थापित भएको हो। ७० को मध्यदेखि नेपालले इरानमा दूतावास खोले पनि १९७९ को क्रान्तिपछि दूतावास हटाइएको थियो। 'इरान नेपालले पुनः दूतावास राखोस् भन्ने चाहन्छ' उनले भने। कोइरालासँग राजदूतले दुई देशबीच पुरानै स्थितिमा कूटनीतिक सम्बन्ध र द्विपक्षीय भ्रमण बढाउन आग्रह गरेका थिए। पर्यटनमन्त्री भण्डारीसँग राजदूतले हालसम्म दुई हजारभन्दा बढी इरानी पर्वतारोहण गर्न नेपाल आएका उल्लेख गर्दै यहाँ पर्यटन कार्यालय खोल्न चाहना व्यक्त गरेका थिए। यी भेटमा दुई देशबीच सीधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको पन्तले बताए।
 
मन्त्री भण्डारीले भने इरानजस्ता गर्मी देशका फुटवल खेलाडीहरू 'हाई अल्टिच्युड' मा अभ्यास गर्न नेपालजस्तो चिसो देशमा आउन सक्ने बताए। 'हामी इरानी खेलाडीलाई 'हाइ अल्टिच्युड' मा अभ्यासका लागि यहाँ आउन आग्रह गर्छौ' भण्डारीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो। गर्मी ठाउँमा इरानी खेलाडीले कौशल देखाउन सके पनि चिसो ठाउँमा उनीहरू पछि पर्ने गरेका छन्।
 
मन्त्री कोइरालाले इरानमा नेपाली कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई 'अन अराईभल भिषा' दिइने व्यवस्था नहुँदा समस्या परेको उल्लेख गर्दै त्यस्तो व्यवस्थाका लागि पहल गर्न आग्रह गरेकी थिइन्। जवाफमा राजदूत नाविजादेहले दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर गरी यसलाई मूर्त रूप दिन सकिने बताएका थिए। 'अन अराइभल भिसा' को व्यवस्था नुहँदा नेपाली कूटनीतिज्ञ र सरकारी कर्मचारीले कामको सिलसिलामा इरान यात्रा गर्दा या ट्रान्जिटका लागिसमेत दिल्लीस्थित इरानी दूतावासबाट भिसा लिनुपर्ने अवस्था छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by