ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 10, 2009

भारतले नेपालका मेडिकल कलेजलाई दिएको मान्यता हटायो


नेपालका ४ मेडिकल कलेजबाट एमबिबिएस गर्नेले भारतमा सोझै प्राक्टिस गर्न पाउने व्यवस्था खारेज भएपछि नेपाल आउने विद्यार्थी घटे
नयाँ पत्रिका/अर्जुन पौडेल
भारतले नेपालका चार मेडिकल कलेजलाई भारतीय कलेेजसरह दिएको मान्यता हटाएको छ । भारतीय मेडिकल काउन्सिलको मापदण्डअनुरूप नभएको भन्दै भारतले नेपालका मेडिकल कलेजलाई दिएको मान्यता हटाएको हो । भारतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, युनिभर्सल मेडिकल कलेज भैरहवा, मणिपाल शिक्षण अस्पताल पोखरा र चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसलाई मान्यता दिएको थियो । यसअघि ती कलेजमा एमबिबिएस उत्तीर्ण विद्यार्थीले भारतमा कुनै परीक्षा नै नदिई काम गर्न पाउँथे । अब भने नेपाली कलेजमा अध्ययन गरेका विद्यार्थीले भारतमा काम गर्न त्यहाँको मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्छ । तर, भारतका कुनै पनि मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण विद्यार्थीले त्यहाँको मेडिकल काउन्सिलको परीक्षा दिइरहनुपर्दैन ।
भारतले नेपालका चार कलेजलाई 'रेसिप्रोसिटी'का आधारमा मान्यता दिँदै आएको थियो । भारतीय सुपि्रम कोर्टले विदेशमा अध्ययन गरेका सबै विद्यार्थीले त्यहाँको मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्ने फैसला सुनाएकाले नेपाली कलेजलाई दिएको मान्यता हटेको हो । सो मान्यता हटेपछि नेपाली मेडिकल कलेजमा अध्ययन गर्न आउने भारतीय विद्यार्थीको संख्या घटेको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका सिइओ कर्नेल सिएस भारद्वाजले भारतबाट आउने विद्यार्थीको संख्या घटेको नयाँ पत्रिकालाई बताए । 'पहिला ८० प्रतिशत सिट भारतीय विद्यार्थीले ओगट्थे, तर अहिले ४० प्रतिशतभन्दा पनि कम होला,' भारद्वाजले भने ।

नेपाल, चीन, रसिया, फिलिपिन्स जहाँ अध्ययन गरे पनि भारतीय मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएपछि भारतीय विद्यार्थी नेपालभन्दा अन्यत्र जान थालेका हुन् । अन्य देशमा नेपालमा भन्दा पनि शुल्क सस्तो भएकाले अध्ययनका लागि नेपाल आउने विद्यार्थीको रुचि घटेको भारद्वाजको भनाइ छ । सार्कस्तरीय विश्वविद्यालयको अवधारणाअनुरूप विश्वविद्यालयको भवन निर्माण प्रक्रियासमेत अघि बढिसकेको अवस्थामा एक-अर्काको डिग्रीलाई मान्यता दिइनुपर्ने उनले बताए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि महँगो सिटमा अध्ययनका लागि भारतबाट आउने विद्यार्थीको संख्या घटेकोे छ । प्रतिष्ठानका रेक्टर रूपा सिंहले पनि फी तिरेर आउने विद्यार्थीको संख्या घटेको बताइन् । 'हामीकहाँ अनुदान कोटामा आउने विद्यार्थी संख्या घटेको छैन, तर महँगो सिटमा आउनेहरू घटेका छन्,' उनले भनिन् । चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन डा. वशिष्ठ रिजालले संस्थानमा अध्ययन गर्न आउने विद्यार्थीको संख्यामा केही कमी भएको जानकारी दिए । 'केही कम त भएको छ, तर कति भयो हेरेर मात्र भन्न सकिन्छ,' उनले भने ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. सोमनाथ अज्र्यालले भारतीय मेडिकल कलेजको मापदण्डअनुरूप भएन भन्दै नेपाली मेडिकल कलेजलाई मान्यता नदिनु जायज नभएको बताए । 'नेपालका मेडिकल कलेज नेपाल मेडिकल काउन्सिलको मापदण्डअनुरूप पो हुन्छन्, उनीहरूको जस्तो भएन भनेर मान्यता नदिनु ठीक होइन,' उनले भने ।

भारतले मान्यता नदिँदा नेपालमा अध्ययनका लागि भारतबाट आउने विद्यार्थीको संख्या घट्ने र घाटा बढ्ने पनि उनले बताए । 'नेपालबाट हजारौँ विद्यार्थी अध्ययनका लागि बर्सेनि भारत जान्छन् । त्यहाँबाट थोरै संख्यामा भए पनि विद्यार्थी आउँदा घाटा कम हुन्थ्यो, तर मान्यता हटाएपछि एकतर्फी घाटा हुन्छ,' अज्र्यालले भने । सरकारीस्तरबाट छलफल गरी समस्या सुल्झाउनुपर्ने पनि डा. अज्र्यालको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by