ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 13, 2009

नेपाली निर्माण कम्पनी विदेशमा


शिला पाण्डे/काठमाडौ- 

'नेपाली ओभरसियर र इन्जिनियरले कन्स्ट्रक्सन कम्पनीबाट मात्र नभई स्वतन्त्र रूपमा विदेशमा काम गरिरहेका छन्,' महासंघका उपमहासचिव रामशरण देउजाले भने, 'यसले अन्तर्राष्ट्रियस्तरमै नेपाली निर्माण व्यवसायीको विश्वसनीयतालाई बढाएको छ ।'
पूर्वाधार निर्माणमा विदेशी विज्ञ ल्याएर काम गर्ने प्रवृत्ति बढिरहेका बेला नेपाली निर्माण व्यवसायीले भने मुलुक बाहिर आफूलाई चिनाएका छन् । पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण व्यवसायीमध्ये हाल चार कम्पनीले विदेशमा ठूला आयोजना निर्माणका काम गरिरहेका छन् । यिनमा कालिका कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनी, स्वच्छन्द सेवा र चितवन कोई रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
'नेपाली ओभरसियर र इन्जिनियरले कन्स्ट्रक्सन कम्पनीबाट मात्र नभई स्वतन्त्र रूपमा विदेशमा काम गरिरहेका छन्,' महासंघका उपमहासचिव रामशरण देउजाले भने, 'यसले अन्तर्राष्ट्रियस्तरमै नेपाली निर्माण व्यवसायीको विश्वसनीयतालाई बढाएको छ ।' 

स्वतन्त्र रूपमा विदेशी कम्पनीमा रोजगार गरेका ओभरसियर र इन्जिनियरको संख्या ६० भन्दा बढी रहेको महासंघले जनाएको छ । बाहिरी मुलुकमा काम गरिरहेका कम्पनीमध्ये कालिकाले अमेरिकाको बाल्टिमोरमा सडक विस्तारको काम गरिरहेको छ । यस्तै साउदी अरेबियामा होटल निर्माणका लागि शर्मा कन्स्ट्रक्सनले जिम्मा पाएको देउजाले बताए । 'यी देशका स्थानीय ठेकेदारसँग प्रतिस्पर्धा गरी नेपालीले पूर्वाधार निर्माणको जिम्मेवारी पाएका हुन्,' उनले भने, 'जबकि त्यहीँका ठेकेदारसँग बढी पुँजी र उपकरण हुन्छ ।' 

ठूला आयोजना निर्माण गर्न बौद्धिक र प्राविधिक ज्ञानको स्तर उत्तिकै भए पनि कम पुँजी र उपकरण नेपाली निर्माण व्यवसायमा संलग्न ठेकेदारहरूको कमजोरी बन्ने गरेको छ । जसले गर्दा ठूला लगानीकर्ताको सहयोगमा नेपालमा सुरु गरिने ठूला आयोजनाका लागि उनीहरूले मुख्य ठेकेदारका रूपमा काम गर्न पाउँदैनन् । 

'यस्ता समस्या भए पनि भारतमा केबलकार निर्माणको काममा चितवन कोईले मुख्य ठेकेदारका रूपमा काम गरिरहेको छ,' उनले भने, 'यो आयोजनाका लागि केही ठूला मेसिन/उपकरण त्यहीँका प्रयोग भएका छन् ।' यस्तै स्वच्छन्दले भारतको दिल्लीमा मेट्रो स्टेसन र जापानको ताइसे कम्पनीसँग मिलेर दुबईमा पूर्वाधार निर्माणको काम गरिरहेको छ । नेपाली निर्माण व्यवसायीले बाहिर थालनी गरेको यो ठूला आयोजनामध्येमा पर्छ । 'अर्को वर्षको अन्त्यसम्म हामी पनि कम छैनौं भनेर गर्व गर्न सक्ने हुन्छौं,' महासंघ अध्यक्ष यक्षध्वज कार्कीले भने, 'विदेशी निर्माण व्यवसायीसँग प्रतिस्पर्धा गरी ठूला आयोजना पूरा गरेका छौं भनेर देखाउन सक्षम हुनेछौं ।' नेपाली निर्माण व्यवसायीले मुलुकबाहिर प्रतिस्पर्धा गरी काम गर्न थालेको मात्र चार वर्ष हुँदै छ । नेपालभित्र उनीहरूले सम्पन्न गरेका ठूला आयोजनामा मेलम्ची आयोजनाको सडक, सिक्टा सिँचाइ आयोजना र काठमाडौंको व्यापारिक भवन युनाइटेड वल्र्ड ट्रेड सेन्टर उदाहरण हुन् । 

यसबाहेक धेरै आयोजनाका लागि नेपालीले काम गरे पनि नाम विदेशी कम्पनीको हुने गरेकेा व्यवसायीहरू बताउँछन् । 'सरकारद्वारा सञ्चालित आयोजनामा नेपाली इन्जिनियर नै हुन्छन्,' देउजाले भने, 'आयोजनाका लागि बोलपत्र हाल्दा तोकिएको पुँजी नपुग हुँदा भारतीय र चिनियाँ कम्पनीसँग सहकार्य गर्नुपर्ने बाध्यता छ ।' यसकारण नेपालीले काम गरे पनि त्यसबापतको कमिसन ती कम्पनीहरूले पाउने गरेको उनले बताए । प्रतीतपत्रको सुविधा पनि छैन ।

नियमअनुसार ठूला आयोजनाका लागि बोलपत्र भर्दा आयोजनाको लागतभन्दा पाँच गुणा बढी कारोबार देखाउनुपर्छ भने त्यस बराबरको अनुभवपत्र पेस गर्नुपर्छ । 'हामीलाई कमजोर बनाउने पक्ष यही हो,' उनले भने, 'अन्य देशमा निर्माण कम्पनीले ल्याउने सामानमा भन्सार छुट हुन्छ । तर हामीले तिर्नुपर्छ ।' सरकारले हाल यस्ता उपकरणका लागि ५ प्रतिशत भन्सार शुल्क उठाइरहेको छ । 

'उपकरण किनौं भने पनि विभिन्न कारणले काम रोकिइरहने अवस्था छ,' देउजाले थपे, 'यस्तो ऋण लिएर मेसिन/उपकरण किन्दा ब्याजसमेत तिर्न सकिँदैन ।' यस्ता समस्या नरहे नेपाली निर्माण व्यवसायीले अन्य मुलुकका कम्पनीसँग सहकार्य गर्नु नपर्ने उनले बताए । 'हामी आफैं समक्ष छौं,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by