ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 10, 2009

बुद्ध एयरले पोखरा- लखनउ उडान गर्ने

कांतिपुर/काठमाडौ- 
बुद्ध एयरले पर्यटकीय नगरी पोखराबाट भारतको लखनउसम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल- भारतबीच भएको नयाँ हवाई सम्झौताबाट थप उदार भएको आकाशमा फाइदा लिन अग्रसर हुने यो पहिलो कम्पनी हो । हालै दुई देशबीच भएको सम्झौताले सीमापार उडान गर्ने बाटो खुला गरेको थियो । 'मार्च पहिलो सातादेखि उडान गर्ने योजनामा छौं,' बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । यसका लागि पर्यटन मन्त्रालयमा निवेदन दिएको उनले बताए ।
बुद्धले राजधानीबाट प्रमुख सहरमा उडान गरिरहेको ४२ सिट क्षमताका एटिआर जहाजबाटै उडान गर्न लागेको हो । 'टर्बोप्रप जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न भने सरकारको अनुमति चाहिन्छ,' बस्नेतले भने, 'हामी त्यसको पर्खाइमा छौं ।' अनुमति पाए अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्ध नेपालको पाँचौ निजी कम्पनी हुनेछ । भारत उडान गर्ने भने तेस्रो हुनेछ ।

विगतमा नेकोन एयरले विराटनगरबाट वाराणसीसम्म उडान गरेको थियो । त्यसैगरी राजधानीबाट यती एयरलाइन्स, कस्मिक एयर, एयर नेपाल इन्टरनेसनले पनि अन्तर्राष्ट्रिय उडान थालेका थिए । तर कुनै पनि लामो समय बजारमा टिक्न सकेनन् ।

'हामी एक्लै जाँदै छैनौं,' बस्नेतले भने, 'पोखराका पर्यटन व्यवसायीसँगको समन्वयमा प्रवर्द्धन गर्नेछौं ।' व्यवसायीले प्याकेज दिने र बुद्धले हवाई सिट उपलब्ध गराउने गरी संयुक्त रूपमा जाने योजना उनले सुनाए । सानो जहाजबाट उडान सुरु गर्ने र बजार विस्तार भएपछि ठूलो जहाज ल्याउने योजना पनि उनले सुनाए । पोखरा-लखनउ उडान गरे पनि त्यसलाई काठमाडौंसम्म जोड्ने पनि बस्नेतले बताए । 'काठमाडौं- पोखरा-लखनउको दुईतर्फी भाडा करिब १६ हजार कायम गर्ने योजना छ,' उनले भने । 

भारतीय पर्यटकको प्रमुख आकर्षणमा मानसरोवर पनि पर्छ । 'त्यसैगरी शैवहरूले जीवनमा एकपल्ट मुक्तिनाथको दर्शन गर्ने अभिलाषा राख्छन्,' यी धार्मिक पर्यटकलाई मुख्य लक्ष बनाउने छौं,' उनले भने । त्यसबाहेक सबैभन्दा कम दूरीमा हिमाल देखिने सहर पोखरा हो । संसार प्रसिद्ध पदयात्रा मार्ग, ताल पनि यसका आकर्षण हुन् । 'पोखराबाट उडान गर्दा सञ्चालन खर्च

कम पर्छ, जसले गर्दा भाडादर कम गर्न पनि सजिलो हुन्छ,' उनले भने ।

यो उडानको सफलतासँगै उडान विस्तारको दीर्घकालीन योजना पनि बुद्ध एयरको छ । 'त्यसपछि नेपालको सीमावर्ती सहरबाट भारतका मध्यमस्तरका सहर जोड्ने उडान थप्नेछौं,' उनले भने । १३ वर्षअघि नयाँ विचक्राफ्ट जहाजबाट नेपाली आकाशमा सेवा सुरु गरेको बुद्ध एयरले अहिले तीनवटा एटिआरसमेत ७ जहाजबाट उडान गर्दै आएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by