ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

गिरिजा, प्रचण्ड र झलनाथ एकै मञ्चमा


काठमाडौं, १६ असोज (दैनिकी)

विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बेला प्रमुख राजनीतिक खेलाडीहरु नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष झलनाथ खनाल शुक्रबार बिहान एकै मञ्चमा देखा परे । विश्व अहिंसा दिवसको अवसरमा तक्षशिला एकेडेमीले आयोजना गरेको कार्यक्रममा तीनै नेताहरुले नेपालमा शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्र्याउनका लागि सहमतिमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति कोइरालाले माहात्मा गान्धीको अहिंसावादी आन्दोलनको उच्च प्रशंसा गर्दै नेपालको शान्ति प्रक्रियाले विश्वलाई अहिंसाको पाठ सिकाएको बताए। उनले हत्या हिंसाको राजनीति समातेको एकीकृत माओवादीले बन्दुक थन्काएर शान्तिपूर्ण राजनीतिमा आउनु अहिंसाको एउटा उदाहरण भएको धारणा राखे । कांग्रेस सभापति कोइरालाले अहिंसात्मक नेपालका लागि माओवादी अध्यक्ष दाहाललाई धन्यवाद दिए। प्रचण्डतर्फ देखाउँदै उनले भने, 'त्यत्रो हिंसा गरेर र पनि बन्दूक थन्क्याएर उहाँ शान्तिको बाटोमा आउनु भो। गान्धीको बाटोमा समात्दै हामी सबै मिलेर अघि बढौं।'

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको सफलताका लागि दलहरुबीच सहमति र राष्ट्रसंघ तथा छिमेकी राष्ट्रहरुको निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।  उनले केहीदलहरुले अन्तरिम संविधान तथा शान्ति सम्झौता विपरीतको व्यवहार देखाएको र जनमतलाई लत्याएकाले तानाशाही तथा अप्रजातान्त्रिक व्यवस्था स्थापना हुने खतरा औल्याए।  उनले मुलुकमा हिंसा नरोकिएसम्म नयाँ संविधान बन्न नसक्ने विचार राखे ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रमुख दलहरु मिलेर अघि बढ्नु विकल्प नभएको भन्दै शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिन माओवादी गम्भीर हुनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र संघले सन् २००७ मा अहिँसाका अनुयायी भारतका महात्मा गान्धीको जन्मदिनलाई अन्तराष्टिय अहिंसा दिवशको रुपमा मनाउने निर्णय गरेको थियो। अहिँसा दिवसको अवसरमा आज राजधानीमा अहिंसा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुदैछ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गर्ने सम्मेलनको भारतका कांग्रेस आइका महासचिव जनार्दन द्धिवेदीले उदघाटन गर्दैछन

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by