ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 29, 2009

जहाँ दसैं मनाइँदैन


सुरेन्द्र पौडेल, असोज १३- खोकनाबाहेक सबैतिर दसैंको टिका लगाइन्छ, उनीहरू चाहिँ आराम गर्छन्। दसैं नमनाउनुको अर्थ खोकनाबासीले यसको विरोध गरेका होइनन्।  तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन्। टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन्। खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन्। नाममात्रको दसैं। उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ।



नौरथा चल्दैछ, तर यहाँ कसैका घरमा जमरा उम्रेका छैनन्। केटाकेटीलाई नयाँ लुगा किन्ने र लाउने हतारो छैन। न त खसी-बोका कहाँबाट ल्याउने भन्ने नै सुर्ता छ। लिङ्गे पिङ र रोटे पिङका लाछी र खाबा पनि कतै देखिन्न।

खोकना गाविस। ललितपुरको जावलाखेलबाट सात/आठ किलोमिटर दक्षिण पर्ने पुरानो नेवार बस्ती। तोरीको तेलका लागि नाम कमाएको खोकनाको अर्को पहिचान पनि छ - यहाँ दसैं मनाइँदैन।
हिन्दु र बौद्ध धर्मावलम्बीको बाहुल्य रहे पनि खोकनाबासी सञ्चार माध्यमबाट मात्र दसैं आएको चाल पाउँछन्। आखिर किन दसैं मनाउँदैनन् उनीहरू?
'तपाईं खोकना आउनोस्, सबै कुरा आफै थाहा पाउनुहुनेछ,' स्थानीय गोपाल डंगोल, ६५, ले हामीलाई निम्तो गरे।
दिउँसो दुई बजे खोकना बसपार्क पुगेर सोधखोज गरेपछि उनको घर त फेला पर्‍यो, तर उनी भेटिएनन्। सिद्धिकाली रुद्रायणी मन्दिरमा थकालीहरूसँग गफिँदै रहेछन्। 'मन्दिरमै आउनोस् न,' उनले मोबाइलमा भने, 'यतै गफ गरौंला।'
खोकनामा झण्डै एक हजार घर छन्। ठ्याक्कै संख्या उनलाई पनि थाहा छैन। एकदेखि आठ वडासम्मको ठाउँलाई ठूलो खोकना भनिँदो रहेछ। नौ नम्बर वडा केही पर छ। यसलाई सानो खोकना भनिन्छ।
'जनसंख्याचाहिँ सात हजार, ९० प्रतिशत डंगोल र महर्जन छन्,' उनी ठोकुवा गर्छन्, 'डंगोल र महर्जन भनेका एउटै हुन्, कोही डंगोल लेख्छन्, कोही महर्जन।'
अनि खोकनाबासीले दसैंचाहिँ किन नमनाउने त?
'हो, हामी दसैं मनाउँदैनौं,' गोपाल भन्न थाल्छन्, 'यसको अर्थ हामीले दसैंको विरोध गरेको होइन। नमनाउनुमा हाम्रा आफ्नै बाध्यता छन्।'
'दसैंका बेला हाम्रो सबभन्दा ठूलो सिद्धिकाली जात्रा पर्छ,' गोपाल कारण खुलाउँछन्, 'पुरानो बस्तीबाट अहिलेको खोकना (नयाँ बस्ती) मा बसाइँ सर्दा यो अवस्था आएको हो।'
बसाइँ कहिले सरियो र दसैं कहिलेबाट मनाउन छाडियो, यसको मिति खोकनाबासीसँग छैन। सयौं वर्ष भयो, उनीहरूलाई यतिमात्र थाहा छ। पुरानो बस्तीमा भने दसैं मनाइन्थ्यो रे। नयाँ बस्तीमा सर्नेबित्तिकै त्यो चलन हट्यो। यसका पछाडि 'तान्त्रिक शक्ति' को हात रहेको उनीहरूको विश्वास छ।
'तान्त्रिक शक्तिबारे थकाली (देवता) हरूसँग बढी जानकारी हुन्छ,' गोपाल भन्छन्, 'पत्रिकामा छाप्ने कुरा गल्ती हुनु त भएन नि। रुद्रायणी मन्दिर जाउँ त्यहाँ थकाली भेटिन्छन्।'
खोकनाको मध्य भागमा पर्छ, रुद्रायणी मन्दिर। हामी उनलाई पछ्याउँदै पिच गरिएका साँघुरा गल्लीमा अघि बढ्न थाल्छौं। यहाँ अधिकांश घर निकै पुराना छन्। साँच्चिकै पुरानो बस्ती। गल्लीमा कुखुरा र हाँस यत्रतत्र दौडिरहेका छन्। वृद्ध महिलाहरू चर्खामा धागो कातिरहेका छन्। गल्लीमा सुकुलमाथि बिस्कुन सुकाउनेको पनि कमी छैन।

करिब आठ मिनेट हिँडेपछि हामी मन्दिरछेउको पुरानो घर पुग्छौं। लिस्नो चढेर एकतला माथि कोठाभित्र छिर्दै उनी भन्छन्, 'ल यहीँ बसौं।'
कोठामा एउटा सानो झ्याल छ। त्यहीँबाट छिरेको मधुरो प्रकासमा देखिन्छन्, दुई व्यक्ति - शान्ताराम डंगोल (कुमारी देवता) र कृष्णगोपाल डंगोल (कुमार देवता)। कृष्णगोपाल कुमार देवतामा हालैमात्र नियुक्त भएका हुन्। जात्राका लागि यहाँ ४६ जना देवता छन्। त्यसमध्ये १४ जना त नाच्नेमात्र।
'खोकनाको सांस्कृतिक परम्परा हराउन थालिसक्यो,' समाजको सांस्कृतिक विचलनप्रति दुःखी हुँदै शान्ताराम तान्त्रिक शक्तिको कथा सुनाउन थाल्छन्।
'धेरै वर्षअघि महिसासुर नामक दैत्यले देवतालाई निकै दुःख दियो। एक दिन होइन, दुई दिन होइन। सधैं दैत्यहरूले विध्वंस गर्न थालेपछि देवताहरूको बैठक बस्यो। उनीहरूले निर्णय गरे, सबभन्दा पहिला महिसासुर कहाँ छ - पत्ता लगाउने।
'भैरवले अन्तरध्यान भएर महिसासुरको खोजी गरे, तर सकेनन्। त्यसपछि कुमारले प्रयास गरे। उनले पनि सकेनन्। सिङ्नी-व्याङ्नी पनि असफल भए। नागराजको पनि केही लागेन। गणेश, रुद्रायणी, कुमारी, ब्रह्मायणी, नारायण, काली, वाराही, महालक्ष्मी, हनुमान कसैले पनि महिसासुरलाई खोज्न सकेनन्।
'त्यसपछि फेरि देवताहरूको बैठक बस्यो। अब के गर्ने? सबैको चिन्ताको विषय यही थियो। उनीहरूले फेरि व्यापक छलफल गरे। उनीहरूले धान भुटेर त्यसको लाभाले मायादेवीको क्षमापूजा गर्ने निर्णय गरे। पूजा गर्न भैरवले महादेवको रूप धारण गरे। काली विष्णु बनिन्, वाराहीले ब्रह्माको रूप लिइन्।
'यसरी पूजा गर्दा पनि समस्या समाधान नभएपछि बलि दिने निर्णय भयो। बलि त दिने, तर भोग लिने कसले भन्ने कुरा आयो। रूप फेरेका भैरव, काली र वाराही फेरि आफ्नै स्वरुपमा आए। त्यसमा कुमारी देवतासमेत थपेर चारजना पुर्‍याइयो। पूजा सुरु भयो। राँगा, बोका र हाँसको बलि दिइयो। चारजना देवताले भोग लिए। समस्या समाधान भयो।'
'यो भयो नयाँ बस्तीमा बसाइँ सर्नुअघिको कुरा,' शान्तारामले पुरानो खोकनाको कथा सक्नेबित्तिकै गोपाल सुरु भए, 'त्यसपछि के भएर यहाँ सर्नुपर्‍यो, त्यो सुन्नुस्।'
'केही वर्षपछि समस्या फेरि बल्भि्कयो। भोग दिएका जनावर र पक्षी राक्षसहरूले लुटेर खान थाले।

'राक्षसहरूको दुःखबाट बच्न बस्ती नै सारियो, अहिलेको खोकनामा। पुरानो बस्ती खोकनाबाट १५ मिनेट दुरीमा छ। बस्ती सार्दा तान्त्रिक हिसाबले देवीलाई पनि नयाँ बस्तीमा सारियो, जुन अहिले सिद्धिकाली रुद्रायणी मन्दिरको नाउँले चिनिन्छ।
'तान्त्रिक (वैद्य) ले आफ्नो तन्त्रविद्याबाट हेर्दा नयाँ मन्दिरमा बस्न देवी राजी भइन्, तर प्रसाद लिन मानिनन्। त्यसैले भोग नयाँ मन्दिरमा दिए पनि प्रसाद चढाउन पुरानै मन्दिर लगिन्छ। त्यति गरेपछि अहिलेसम्म राक्षसहरूले दुःख दिएका छैनन्।

'बस्ती सार्दा तान्त्रिकहरूले सिद्धिकाली जात्राको मिति पनि सारे। पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो। बस्ती सरेपछि देवीलाई यो स्वीकार्य भएन। नयाँ देवीलाई मन्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा पर्‍यो। त्यसपछि हामीले दसैं मनाउन भ्याएनौं।'
खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन्। नाममात्रको दसैं। उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ।

'गाईजात्रालाई हामी दसैंका रूपमा मनाउने हुँदा बडा दसैंलाई वास्ता गर्दैनौं,' शान्ताराम थप्छन्, 'खोकनाको विशेषता भनेकै यही हो।'
सिद्धिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरु भई नवमीसम्म चल्छ। यतिखेर उनीहरूलाई दसैंको होइन, सिद्धिकाली जात्राको चटारो छ।
परम्पराअनुसार तृतीयाको दिन तीनवटा राँगा बलि दिइन्छ। राँगाको रगत सिफल चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ। चौथीको दिन बाजागाजासाथ ४६ जना देवताको विधिपूर्वक पूजा हुन्छ। पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ। गाउँलेहरू आ-आफ्नो इच्छाले पशु-पक्षी बलि चढाउँछन्। सरकारी पूजा पनि यही दिन हुन्छ। गाविसले यो दिन एउटा राँगा बली दिन्छ। ४६ जना देवतालाई भोज पनि ख्वाउँछ। यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर लगिन्छ।
षष्ठीमा ४६ जनै देवताले मन्दिर घुम्छन्। मूर्ति ल्याएर गाउँको चोकचोक घुमाइन्छ। सप्तमीमा नाच लिला हुन्छ भने अष्टमीको दिन रुद्रायणी मन्दिरमा मूर्ति स्थापना गरिन्छ। नवमीमा नाचका सामान, पोसाक र गहना थन्क्याइन्छ। मुकुट मन्दिरमा राखिन्छ, अनि दशमीको दिन पूर्ण विश्राम लिइन्छ।
जात्राका बेला उनीहरू आफ्ना सबै नातेदारलाई डाकेर भोज गर्छन्। हुन त यसैलाई दसैं भन्दा पनि हुन्छ। तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन्। टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन्।
'हामी जात्राभरिको थकान दशमीको दिन मेट्छौं। त्यसदिन खोकनाबाहेक सबैतिर दसैंको टिका लगाइन्छ, हामीचाहिँ आराम गर्छौं,' कृष्णगोपाल भन्छन्, 'पहिले जात्रा परेर दसैं मनाउन छोडियो। अहिले त मनाउँजस्तो पनि लाग्दैन। हामी देवताको टिका लगाउँछौं, मन त्यसै खुसी हुन्छ।'

1 comment:

  1. amazing....bt it depends on every community...

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by