ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

स्याउ, आलु र दालमा राजस्व छली


काठमाडौं, १६ असोज/ राजधानीको बजारमा प्रतिकेजी ४० रुपैयाँभन्दा बढी खुद्रा मूल्य रहेको आलु व्यापारीले चारगुना कम मूल्यको बिल बनाएर भित्र्याउने गरेको पाइएको छ । कालिमाटीमा आलुको थोक बिक्री मूल्य ३० देखि ३८ रुपैयाँ प्रतिकेजी छ । राजस्व अनुसन्धान विभागको थानकोट अस्थायी पोस्टले संकलन गरेको तथ्यांकअनुसार, आलु प्रतिकेजी १२ रुपैयाँ ३१ पैसा, स्याउ प्रतिकेजी १४ रुपैयाँ र दाल प्रतिकेजी ५९ रुपैयाँका दरले मूल्यांकन गरी राजधानी भित्र्याउने गरिएको छ । व्यापारीले कर छल्न कम मूल्यको बिल बनाउने गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक टंकमणि शर्माले बताए ।
कृषि सामग्रीमा भन्सार महसुल नलागे पनि पाँच प्रतिशत कृषि सुधार शुल्क लाग्ने गर्छ । आयातित वस्तुमा सो शुल्क कम तिर्न व्यापारीले कम मूल्यांकन गराउने गरेका हुन् । यसैगरी स्वदेशी उत्पादनमा समेत मूल्य अभिवृद्धि कर र आयकर छली गर्न व्यापारीले कम मूल्यको बिल बनाउने गरेका छन् ।

विभागका अनुसार, ३ असोजदेखि ९ असोजसम्म राजधानीमा थानकोटबाट करिब चार लाख किलो आलु भित्रिएको छ । १० देखि १४ गतेसम्म दसैंको कारण राजधानीमा खाद्यान्न नगन्य भित्रिएको विभागले जनाएको छ ।

यसैगरी खुद्रा मूल्य एक सय रुपैयाँ प्रतिकेजीभन्दा महँगो रहेको दाल व्यापारीले औसत ५९ रुपैयाँको बिल बनाई राजधानी भित्र्याएको विभागले जनाएको छ । विभागले ६ असोजबाट राजधानी भित्रिने दालको अभिलेख राख्न सुरु गरेको छ ।

प्रतिकेजी ९० देखि एक सय २० रुपैयाँ खुद्रामूल्य रहेको स्याउ तातोपानीबाट १३ देखि १५ रुपैयाँ प्रतिकेजीको मूल्यमा राजधानी भित्रिरहेको विभागले जनाएको छ । कालिमाटीमा स्याउको थोकमूल्य ८० देखि ९० रुपैयाँ रहेको छ । विभागले धुलिखेलमा पनि अस्थायी चेकपोस्ट राखेर जाँच गरेको छ ।

कम मूल्य देखाई ल्याइएका सामान थप राजस्व तिरेपछि वा धरौटी रकम बुझाएपछि मात्र छोड्ने गरिएको विभागका महानिर्देशक शर्माले बताए । साथै, विभागले प्राप्त गरेको विवरण सम्बन्धित राजस्व कार्यालयमा समेत पठाउने गरेको छ । 'हामीलाई देखाउने बिलअनुसार, आयकर र भ्याट तिरेको छ या छैन बुझेर दायित्वअनुसारको कर असुल गर्न कम्पनी दर्ता भएको जिल्लाको कर कार्यालयलाई पत्र लेख्ने गरेका छौँ,' उनले भने ।

भदौ महिनामा ३२ रुपैयाँ प्रतिकेजी मूल्यको बिलमा आएको चिनी थानकोटमा रोकी विभागले यथार्थ मूल्य बराबरको कर तिराएको थियो । अहिले भ्याटसहित चिनीको मूल्य ५३/५४ रुपैयाँको बिलमा पैठारी भइरहेको विभागले जनाएको छ ।

विभागले गत १ भदौबाट राजधानीमा भित्रिने अत्यावश्यक खाद्यवस्तुको मूल्य र परिमाणको अभिलेख राख्न थालेको हो । सुरुमा चिनी, घिउ-तेल, मैदा र चामलको अभिलेख राख्न थालेको विभागले दसैँको पूर्वसन्ध्यादेखि दाल र आलुको पनि अभिलेख राख्न थालेको छ । साथै, दसैँपछि स्याउको समेत अभिलेख राख्न सुरु गरेको छ । 'सबैभन्दा बढी उपभोग हुने फल भएको हुनाले स्याउलाई प्राथमिकतामा राखिएको हो,' महानिर्देशक शर्माले भने ।

विभागले संकलन गरेको विवरणअुनसार राजधानीमा मासिक करिब १३ लाख किलोग्राम चिनी, १९ लाख लिटर घिउ-तेल, २५ लाख किलोग्राम मैदा र एक करोड ९२ लाख किलोग्राम चामल आपूर्ति हुने गरेको छ । 'हामीले अभिलेख राख्न थालेपछि राजस्व चुहावट रोकिनुका साथै राजधानीमा आवश्यकताअनुसार, आपूर्ति भए/नभएको पनि जानकारी पाउन सकिनेछ,' राजस्व अनुसन्धान विभागका महानिर्देशक शर्माले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by