ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

नेपाली नाकाबाट तिब्बत प्रवेशमा रोक



ध्रुव दंगाल सिन्धुपाल्चोक, १४ असोज/

आधुनिक चीन स्थापनाको ६०औं वर्षगाँठ मनाउन चीन सरकारले नेपाली सीमा नाकाबाट हुने आवागमनमा रोक लगाएको छ । स्थलमार्गले जोड्ने उत्तरको एकमात्र तातोपानी नाकाबाट बुधबारदेखि दुई दिनका लागि तिब्बत प्रवेश गर्न बन्देज गरिएको छ । तर भिसा, राहदानी र स्थायी प्रवेश पास हुनेहरूका हकमा भने कुनै रोकतोक छैन ।

चीनमा बिहीबार -आज) आधुनिक चीन स्थापना भएको ६० वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइँदै छ । हरेक वर्षको १ अक्टोबर -१५ असोज) मा त्यहाँ वर्षगाँठ मनाउने गरिन्छ । नेपाली सीमा नाकाबाट हुने चीनविरोधी गतिविधि रोकी सुरक्षास्थिति मजबुत बनाउन तिब्बत प्रवेशमा रोक लगाइएको हो ।

वर्षगाँठलाई ध्यानमा राखी विगत एक महिनायता चीन सरकारले सीमा नाकाको सुरक्षा-व्यवस्था कडा तुल्याउँदै आएको छ । यस अवधिमा सर्वसाधारणको चीन प्रवेश ठप्प पारिएको छ । अध्यागमन कार्यालयले उपलब्ध गराउने स्थायी पास नहुने सीमा जिल्लावासीले समेत प्रवेश पाएका छैनन् । स्थायी पास सुविधा सीमा जिल्लावासीले मात्र पाउने भएकाले अन्य जिल्लाका सर्वसाधारण तथा आन्तरिक पर्यटकको आवागमन रोकिएको छ । भिसा, राहदानी र स्थायी प्रवेश पास भएकालाई पनि कडा सुरक्षा जाँचपछि मात्र तिब्बत छिर्न दिइएको छ ।

तिब्बत प्रवेशमा रोक लगाइएपछि नाकाको व्यापारिक कारोबार पनि ठप्प छ । लिपिङ बजार पुगेर झोलापोकामा व्यापार गर्ने साना व्यापारी बढी मारमा परेका छन् । आन्तरिक पर्यटकले किनमेल गर्न पाएका छैनन् । 'वर्षगाँठ मनाउनका लागि सुरक्षा व्यवस्था सुदृढ गरिएको हुनसक्छ,' सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलले नयाँ पत्रिकालाई बताए ।

स्थलमार्गले जोडिएकाले चीनले तातोपानी नाकामा उच्च सतर्कता अपनाउँदै आएको छ । वर्षगाँठको पूर्वसन्ध्यामा दुई देशीय अध्यागमनलाई व्यवस्थित बनाउन असोज पहिलो साता खासामा नेपाली र चिनियाँ उच्च अधिकारीबीच सुरक्षा बैठकसमेत भएको थियो । अध्यागमन विभागका महानिर्देशक माधव रेग्मी र ल्हासास्थित सुरक्षा निकायका मेजर जनरल ओलु बुजुङको टोलीबीच दुई दिनसम्म बैठक चलेको थियो ।

स्रोतका अनुसार चिनियाँ दूतावासका अधिकारीसमेत सम्मिलित बैठकमा चिनियाँ पक्षले 'सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन' विशेष आग्रह गरेका थिए । प्रत्युत्तरमा नेपाली अधिकारीले आफ्नो भूमिबाट चीनविरोधी क्रियाकलाप हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

सोही बैठकमा चीन सरकारले नेपालको अध्यागमनमा प्रयोग हुने एक करोड रुपैयाँभन्दा बढीको सुरक्षा सामग्रीसमेत प्रदान गरेको थियो । तातोपानी लगायत सीमा जोडिएका नाकाका लागि उपलब्ध सुरक्षा सामग्रीमा भिसा जाँच्ने मेसिन, कम्प्युटर, एक्सरे मेसिन, हेलमेटलगायत छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by